२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

राप्ती नदीमा थप १५ घडियाल गोही छाडियो

राप्ती नदीमा थप १५ घडियाल गोही छाडियो

चितवन, ३ वैशाखः चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका थप १५ वटा घडियाल गोहीलाई राप्ती नदीमा पुनःस्थापना गरेको छ। हालै छाडिएका गोहीमध्ये दुई वटा भाले र १३ वटा पोथी रहेका छन्। साउन महिनादेखि हालसम्म गरेर कुल ११८ वटा गोही राप्तीमा छाडिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभयो।

वन्यजन्तु सप्ताहको अवसर पारेर यो पटकका गोहीहरू सन् २०२० मा कोरलिएका हुन्। गोहीको अन्डा नदी किनारबाट सङ्कलन गरी प्रजनन केन्द्रमा हुर्काइने र परिपक्व भएपछि पुनः नदीमा छाडिने प्रक्रिया निरन्तर चलिरहेको छ। गएको आर्थिक वर्षमा मात्रै १०५ वटा गोही नदीमा छाडिएको थियो।

हालसम्म राप्ती, नारायणीसहित देशभरका विभिन्न नदीहरूमा जम्मा दुई हजार ७५ वटा गोही पुनःस्थापित गरिसकिएको थापामगरले जानकारी दिनुभयो। यद्यपि गोहीको जीवनरक्षा दर भने निकै कम रहेको उहाँले बताउनुभयो। हालैको सर्वेक्षणअनुसार, राप्तीमा १५२ र नारायणीमा ११३ वटा गोही पाइएका छन्। प्रजनन केन्द्रमा हाल ६८२ वटा गोही छन्।

घडियाल गोही विश्वमै संकटग्रस्त सरीसृप प्रजातिमा पर्छ। पहिले पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमार जस्ता देशहरूमा पनि पाइने घडियाल हाल नेपाल र भारतमै मात्र सीमित रहेको छ। सन् १९४० तिर विश्वमा घडियालको संख्या करिब १० हजार थियो भने सन् १९७० मा त्यो घटेर दुई प्रतिशत मात्रै बाँकी रहेको देखिएपछि यसको संरक्षणप्रति गम्भीर ध्यान दिइएको हो।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र खोलिएको थियो। त्यसबेला देशभर करिब एक सयभन्दा कम घडियाल रहेको अनुमान गरिएको थियो। अहिले पनि नदीहरूमा मानवीय हस्तक्षेप, बालुवा उत्खनन, प्रदूषण र माछा मार्ने जस्ता कारणले गोहीहरूको प्राकृतिक बासस्थान जोखिममा परेको थापामगरले बताउनुभयो। साथै, बाढीका कारण गोहीहरू सीमापारि बग्ने समस्या पनि रहँदै आएको छ। हरेक वर्ष गोही नदीमा छाडिने गरे पनि यसको संख्या अपेक्षाअनुसार वृद्धि भएको छैन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij