२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

सुखानी वन क्षेत्रमा पहिलोपटक ‘बेजनी कोइली’ चरा देखियो

सुखानी वन क्षेत्रमा पहिलोपटक ‘बेजनी कोइली’ चरा देखियो

काठमाडौँ, ३ वैशाखः नेपालमा नयाँ प्रजातिको चरा थपिएको छ। पूर्वी नेपालको इलाम जिल्लामा रहेको सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ (Violet Cuckoo) नामक चरा पहिलोपटक देखिएको छ। समुद्री सतहदेखि करिब ३०० मिटर उचाइमा अवस्थित उक्त क्षेत्रमा चैत २५ गते चराविद् राजेन्द्र गुरुङको टोलीले चराको अवलोकन गरेको हो।

टोलीले बिहानै उक्त चरालाई एक रुखबाट अर्को रुखमा उड्दै गरेको अवस्थामा करिब एक घण्टा लामो अवधीसम्म नियाल्न सफल भएको थियो। चराको पहिचानमा मलेसियाका नागरिक अलेक्जेन्डर जोन एङ्ग याङले आवाजमार्फत महत्वपूर्ण सहयोग गरेका थिए। साथै, अर्का मलेसियन नागरिक रोगर रोबर्ट राजह र नेपाली चराविद् अनिस तिम्सिनाले पनि चराको प्रत्यक्ष अवलोकन गरेका थिए।

टोलीले फोटो र भिडियोमार्फत प्रारम्भिक पहिचान गरेपछि चराको विस्तृत विवरण चैत २८ गते नेपाल चरा तथ्याङ्क समितिमा पठाइएको थियो। समितिले अन्तरराष्ट्रिय चराविद्हरूसँग परामर्श गरी यस प्रजातिलाई नेपालमा पहिलोपटक अभिलेख गरिएको पुष्टि गरेको हो। समितिका अध्यक्ष डा. तुलसी सुवेदीका अनुसार यस चरालाई नेपालीमा ‘बेजनी कोइली’ नाम दिइएको छ।

‘बेजनी कोइली’ भुटान, भारत, मलेसिया, थाइल्यान्ड, भियतनाम, चीन, फिलिपिन्स, ब्रुनाइ, सिङ्गापुर, इन्डोनेसिया, लाओस लगायतका देशमा पाइन्छ। कतिपय देशहरूमा यो प्रजनन पनि गर्ने गर्दछ। विश्वभर यस चराको दुईवटा उपप्रजाति अभिलेख भइसकेका छन्। यस चराको नेपालमा पहिलोपटक अभिलेख भएपछि देशमा पाइने चराहरूको कूल प्रजातिको संख्या ८९९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij