३ वैशाख, काठमाडौं — आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा बिहान ९:३० बजेबाट सुरु हुने तालिका रहेको छ।
नेपालले अहिलेसम्म प्रतियोगितामा दुईवटै खेल जितेको छ। पहिलो खेलमा डकवर्थ–लुइस विधि अनुसार यूएईलाई पराजित गरेको नेपालले दोस्रो खेलमा ओमानमाथि सजिलो जित दर्ता गरेको थियो।
त्यस्तै, अफगानिस्तानले पनि उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना दुवै खेलमा जित हात पारिसकेको छ। पहिलो खेलमा उसले ओमानलाई हराएको थियो भने दोस्रो खेलमा हङकङलाई ठूलो अन्तरले पराजित गर्दै अंक तालिकामा अगाडि बढेको छ। अफगानिस्तान र नेपाल दुबैको समान दुई–दुई जित भए तापनि नेट रनरेटका आधारमा अफगानिस्तान अगाडि रहेको छ।
आजै अफगानिस्तानले यूएईविरुद्ध माथिल्लो मुलपानी मैदानमा खेल्नेछ। यदि आज नेपाल र अफगानिस्तान दुबैले जित निकाल्न सफल भए भने शीर्ष स्थानका लागि प्रतिस्पर्धा यी दुईबीच मात्र सिमित हुनेछ।
यस अवस्थामा शनिबार हुने नेपाल र अफगानिस्तानबीचको खेल निर्णायक हुनेछ, जसले यू–१९ विश्वकपको लागि छनोट हुने टोली तय गर्नेछ।
नेपालको ब्याटिङमा ओपनर साहिल पटेल र निरज यादवले राम्रो सुरुवात दिने क्रम जारी राखेका छन्। बलिङतर्फ स्पिन बलरहरूले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिइरहेका छन्।
ओमानविरुद्धको खेलमा युवराज खत्रीले ५ विकेट लिएर चम्किएका थिए भने यूएईसँगको वर्षाले प्रभावित खेलमा सन्तोष यादवले किफायती बलिङ गर्दै ३ विकेट हात पारेका थिए, जसले नेपाललाई जितसम्म पुर्याएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij