काठमाडाैं, २८ चैतः आयोजना कार्यान्वयन निर्देशनालय (PID ) बाट मेलम्ची उप–आयोजना २ अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा करिव ६८ हजार ६८३ घरमा खानेपानीका नयाँ मिटर निःशुल्क रूपमा जडान गरिएको छ । खानेपानी वितरण सञ्जाल (DMA) का नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी आपूर्ति हुँदै आएका घरहरूमध्ये चैत १८ गतेसम्ममा करिव ६८ हजार ६८३ घरमा खानेपानीका नयाँ मिटर निःशुल्क रूपमा जडान गरिएको हाे ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई यसअघि हस्तान्तरण गरिएका १४ वटा खानेपानी वितरण सञ्जाल र हाल हस्तान्तरणको तयारीमा रहेका थप ११ वटा खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइन मार्फत खानेपानी आपूर्ति हुँदै आएका घरहरूमध्ये ८५ प्रतिशतभन्दा बढी घरमा खानेपानीका नयाँ मिटर जडान गरिसकिएको छ ।
यी खानेपानी सञ्जाल अन्तर्गत मिटर जडान हुन बाँकी घरहरू सहित हाल हस्तान्तरणको चरणमा रहेका ११ वटा र हस्तान्तरण हुन बाँकी रहने ८ वटा खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइनबाट खानेपानी वितरण हुँदै आएका घरहरूमा समेत निःशुल्क रूपमा खानेपानीका नयाँ मिटिर जडान गर्ने कार्य जारी रहेको छ ।
यस्तै, नमूनाका रूपमा काठमाडौंका चःमती क्षेत्रमा ३७० र अनामनगर क्षेत्रमा ४६७ गरी जम्मा ८३७ घरमा खानेपानीका स्मार्ट मिटर निःशुल्क रूपमा जडान गरिएको छ । यसरी जडान गरिएका स्मार्ट मिटरहरूको रिडिङ काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पानीपोखरी शाखामा रहेको केन्द्रीय नियन्त्रण कक्षबाट अत्याधुनिक क्ऋब्म्ब् प्रणाली मार्फत गर्न थालिएको छ ।
यसैगरी, अन्तिम परीक्षण लगायतका कार्य सम्पन्न गरिएका थप ११ वटा खानेपानी वितरण सञ्जालका करिव ३७७ किलोमिटर पाइपलाइनको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको छ ।
यसपश्चात् बाँकी रहने ८ वटा खानेपानी वितरण सञ्जालका करिव २५३ किलोमिटर पाइपलाइनको स्वामित्व पनि छिट्टै नै बोर्डलाई हस्तान्तरण गर्ने गरी अन्तिम परीक्षण लगायतका कार्यलाई तीब्रता दिइएको छ ।
यसअघि, दुईपटकमा गरी विभिन्न १४ वटा खानेपानी वितरण सञ्जालका जम्मा ३५० किलोमिटर नयाँ पाइपलाइनको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिसकिएको छ ।
काठमाडौं उपत्यकामा करिव ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका करिव ९८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कूल १ हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल तयार भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij