मध्यविन्दु (नवलपरासी), २८ चैत — पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड हाल अवरुद्ध भएको छ । निरन्तरको वर्षाले गर्दा विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडक चिप्लो र हिलो बनेपछि सवारीसाधनको आवागमनमा गम्भीर समस्या उत्पन्न भएको हो ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार, खराब मौसमका कारण सडक प्रयोग गर्न सकिने अवस्था नरहेकाले राजमार्ग बन्द गरिएको हो । सडक अवरुद्ध भएपछि सयौँ यात्रु र सवारीसाधन बाटोमै अलपत्र परेका छन् ।
दाउन्ने क्षेत्रमा मर्मत तथा विस्तार कार्यका लागि पहिले नै विशेष समय निर्धारण गरिएको थियो । चैत २८ देखि ३१ गतेसम्म प्रत्येक दिन दिउँसो ११ बजेदेखि ३ बजेसम्म आवागमन बन्द गर्ने निर्णय गरिएको थियो । साथै, वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक विस्तारको काम भइरहने जनाइएको छ ।
प्रशासनले यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा आवश्यक परेमा यात्रा सार्न आग्रह गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij