धनगढी, २७ चैतः अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका अन्तर्गत रहेको जयगढ बजारमा हालै रातिको समयमा भएको विनाशकारी आगलागीबाट प्रभावित पीडितहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रारम्भिक राहत स्वरूप ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकपश्चात् मुख्यमन्त्री कमलबहादुर शाहले उक्त निर्णय सार्वजनिक गर्नुभयो। उहाँका अनुसार पीडित परिवार र व्यवसायीहरूलाई तत्काल राहत दिन मापदण्ड तयार गरी सहायता वितरण गरिनेछ। “पूर्ण क्षतिको विवरण प्राप्त भएपछि थप राहत र सहयोगको उपाय अपनाइनेछ,” शाहले स्पष्ट पार्नुभयो।
मुख्यमन्त्री शाहले राहत र पुनर्निर्माण कार्यमा सहयोग पुर्याउन स्थानीय तह, संघीय सरकार, गैरसरकारी संस्था तथा दातृ निकायहरूलाई समेत आग्रह गर्नुभयो।
यसैबीच, प्रदेश सरकारद्वारा आगलागी प्रभावित क्षेत्रको यथार्थ जानकारी संकलन गर्न सामाजिक विकासमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई घटनास्थलमा खटाइएको छ।
अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले दिएको जानकारी अनुसार गए राति जयगढ बजारमा लागेको आगोले १० वटा कच्ची घर, १५ वटा टिनका टहरा, २ वटा पक्की घर र १ सभाहल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। तीमध्ये ११ वटा घरहरूमा विभिन्न व्यवसाय सञ्चालनमा थिए। स्थानीय व्यवसायी पुष्पराज शर्माको आइएमई केन्द्रमा रहेको ग्यास सिलिन्डर विस्फोट भई आगो सल्किएपछि त्यो आसपासका घर र पसलहरूमा फैलिएको थियो। राति साढे १ बजेतिर स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।
प्रजिअ सारुका अनुसार आगलागीबाट अनुमानित ७ करोड ५४ लाख रुपैयाँ बराबरको धनमाल पूर्ण रूपमा क्षति भएको छ।
यस घटनाले सम्पूर्ण समुदायमा ठूलो असर पारेको छ र पुनर्निर्माण कार्य तत्काल प्रारम्भ गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij