काठमाडौँ, २४ चैत — नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यसहित आगामी वैशाखमा चीनको गुइलिन शहरमा नेपाल–चीन संयुक्त सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना हुने भएको छ।
आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी दिँदै आयोजक संस्था गुइलिन मर्चेन्ट्स इन्टरनेशनल ट्राभल सर्भिस ले गुइलिन पर्यटन विश्वविद्यालय र गुइलिन इग्लिस कर्नर स्कुल सँगको सहकार्यमा कार्यक्रम सञ्चालन हुने जानकारी गराएको हो।
कम्पनीका अध्यक्ष सत्या लामा तामाङका अनुसार कार्यक्रम वैशाख २८ गते सम्पन्न हुनेछ, जहाँ नेपालबाट कलाकार, पर्यटन व्यवसायी, उद्यमी, व्यापारी तथा सरकारी प्रतिनिधिहरू सहभागी हुनेछन्।
“यस कार्यक्रमले नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्नेछ र पर्यटन क्षेत्रको विकासमा पनि नयाँ अवसर सिर्जना हुनेछ,” तामाङले बताए।
कार्यक्रममा नेपाल र चीनका मौलिक गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति समावेश गरिनेछ। साथै, नेपालको पर्यटन गन्तव्यहरूको प्रवर्द्धन पनि गरिने कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तानले जानकारी दिए।
उनका अनुसार, नेपालको संस्कृति र पर्यटन क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ।
यसै क्रममा ‘कोरियोग्राफर’ कमल राईले पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका विभिन्न जातजातिका संस्कृति, वेशभूषा र परम्परालाई झल्काउने नृत्य तथा सांस्कृतिक प्रस्तुति पनि समावेश गरिने बताए। उनले विशेषगरी राई, लिम्बू, गुरुङ, थारु लगायतका समुदायका सांस्कृतिक पहिचान प्रस्तुत गरिने उल्लेख गरे।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij