काठमाडौं, २० चैतः नेपाली सरकारले म्यानमारमा आएको विनाशकारी भूकम्पका पीडितहरूको उपचारका लागि २२ सदस्यीय मेडिकल टोली पठाएको छ। बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उक्त टोली म्यानमारतर्फ प्रस्थान गरेको हो।
टोलीमा विशेषज्ञ चिकित्सकहरू— सर्जन, अर्थोपेडिक, मेडिसिन डाक्टर, नर्स तथा प्यारामेडिक्स रहेका छन्। उनीहरूले औषधि र आवश्यक चिकित्सा उपकरणसहित भूकम्पबाट घाइते भएका व्यक्तिहरूको उपचारमा संलग्न हुनेछन्।
नेपाली सेनाका अनुसार यो टोली करिब सात दिनसम्म म्यानमारमै रहेर पीडितहरूको उपचार तथा स्वास्थ्य सेवामा सक्रिय रहनेछ।
समाचार संस्था एएफपीका अनुसार, हालसम्म म्यानमारमा गएको भूकम्पका कारण २,०५६ जनाको ज्यान गइसकेको छ भने ३,९०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
चार दिन बितिसक्दा पनि उद्धार टोलीहरू प्रभावित क्षेत्रहरूमा राहत सामग्री पु-याउन संघर्षरत छन्। संचार प्रणाली अवरुद्ध भएकाले धेरै प्रभावित स्थानहरूसँग अझै सम्पर्क हुन सकेको छैन।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij