काठमाडौं, चैत २० – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले रेडियो नेपाल कुनै पनि सत्ताको पक्षपाती नभई देश र जनताको सेवामा समर्पित हुनुपर्ने बताएका छन्।
आज काठमाडौंमा आयोजित रेडियो नेपालको ७५औँ हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले ‘पब्लिक सर्भिस ब्रडकास्टिङ (पीएसबी) मोडेल’ अनुसार सञ्चालित रेडियो नेपालले निष्पक्ष भएर सत्यतथ्य सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए।
उनले रेडियो नेपालले कुनै पनि राजनीतिक दल वा नेताको प्रशंसा गर्न आवश्यक नरहेको उल्लेख गर्दै सत्य, तथ्य र आधिकारिक सूचना सम्प्रेषण गरेर आम नागरिकलाई सही जानकारी दिन निर्देशन दिए।
मन्त्री गुरुङले देशको विविधतालाई एकतामा रूपान्तरण गर्ने, समावेशी सञ्चार माध्यमको रूपमा सबै वर्ग, क्षेत्र र समुदायले अपनत्व गर्ने संस्थाका रूपमा रेडियो नेपाललाई स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए।
सार्वजनिक सेवा प्रसारण नेपाल (पीएसबी) का कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले रेडियो नेपालको पहुँच विस्तारलाई तीव्र बनाउन लागेको बताउँदै नागरिकले सत्यतथ्य सूचना प्राप्त गर्ने अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रविधिको विकासअनुसार रेडियो नेपालको कार्यशैलीमा सुधार ल्याइएको जानकारी दिँदै सङ्घीय र समावेशी अवधारणा आत्मसाथ गरेर सेवा प्रवाह भइरहेको स्पष्ट गरे।
समारोहका अवसरमा रेडियो नेपालमा २५ वर्ष सेवा गरेका कर्मचारीहरू, उत्कृष्ट कर्मचारी तथा गीतसङ्गीत क्षेत्रका ख्यातिप्राप्त स्रष्टाहरूलाई पुरस्कारसहित सम्मान गरिएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij