काठमाडौँ, १३ चैत – सङ्घीय संसद्को दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आज बस्दै छन्। प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेका लागि तय गरिएको छ, जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित राष्ट्रियसभाबाट आएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि छलफलका लागि प्रस्ताव पेश गर्नुहुनेछ।
संसद् सचिवालयद्वारा जारी कार्यसूचीअनुसार, प्रधानमन्त्री ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्नुभयो। साथै, राष्ट्रियसभाबाट आएको ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभामा टेबुल गरिनेछ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यस्तै, अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओलीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ संसद्मा पेश गर्नुहुनेछ।
त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासन, तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम रहेको छ।
साथै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकाससम्बन्धी कानुनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन, २०८१’ माथि छलफलको प्रस्ताव संसद्मा पेश गर्ने कार्यसूची तय गरिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij