२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

आजदेखि देशभर एसइई परीक्षा सुरु

आजदेखि देशभर एसइई परीक्षा सुरु

भक्तपुर, ७ चैत – देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि एकैसाथ सुरु भएको छ। बिहान ८ बजेदेखि सञ्चालन भएको परीक्षा दुई हजार ७९ परीक्षा केन्द्रमा भइरहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार देशभरका सबै केन्द्रमा परीक्षा शान्तिपूर्णरूपमा अगाडि बढिरहेको छ। हालसम्म कुनै पनि केन्द्रमा समस्या देखिएको छैन।

यस वर्षको एसइईमा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका छन्, जुन गत वर्षको तुलनामा ४९ हजार २८६ ले बढी हो। गतवर्ष एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ विद्यार्थी सहभागी थिए।

यसपटक परीक्षाका लागि सुरक्षालाई विशेष ध्यान दिइएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो। प्रत्येक केन्द्रमा एक जना केन्द्राध्यक्ष तोकिएको छ भने १५० जना परीक्षार्थी रहेको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष पनि खटाइएको छ। २० जना विद्यार्थी बराबर एक जना निरीक्षक रहने व्यवस्था गरिएको छ।

विदेशमा रहेका नेपाली विद्यार्थीका लागि जापानको एक परीक्षा केन्द्रमा २९ विद्यार्थीले एसइई दिइरहेका छन्। त्यहाँ प्रश्नपत्र इमेलमार्फत परीक्षा सुरू हुनुभन्दा केही समयअघि पठाइएको छ। त्यसैगरी, काठमाडौँको केन्द्रीय कारागार, दैलेखका दुई कारागार र भक्तपुरको बाल सुधार गृहबाट समेत विद्यार्थीहरूले परीक्षा दिइरहेका छन्।

यस वर्ष एसइईमा कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि परीक्षार्थी सहभागी भएका छन्। परीक्षार्थी संख्याका आधारमा सबैभन्दा धेरै काठमाडौँमा ३९ हजार ६०० जना छन् भने सबैभन्दा कम मनाङमा ४३ विद्यार्थी परीक्षा दिइरहेका छन्।

एसइई परीक्षा चैत १९ गतेसम्म चल्नेछ। तालिकाअनुसार पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा भइरहेको छ।

चैत ८ गते अनिवार्य नेपाली तथा गैरनेपाली विद्यार्थीका लागि इलेक्टिभ अङ्ग्रेजीको परीक्षा हुनेछ। चैत १० गते अनिवार्य गणित, चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि, चैत १३ गते अनिवार्य सामाजिक, चैत १४ गते ऐच्छिक प्रथम र चैत १५ गते ऐच्छिक द्वितीय विषयको परीक्षा हुनेछ।

बोर्डले असार ७ गतेभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको छ। यस वर्ष न्यूनतम ३५ अंकभन्दा कम ल्याउने परीक्षार्थी अनुतीर्ण ठहरिनेछन्। लेटर ग्रेडिङ प्रणालीअनुसार नतिजा प्रकाशन गरिनेछ। बोर्डले उत्तीर्ण दर ७० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ, जबकि गत वर्ष ४८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij