चितवन, ६ चैत – राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले पाँच नयाँ मकैका जातहरू सिफारिस गर्ने तयारी गरेको छ। लगभग १२ वर्षदेखि विभिन्न स्थानमा परीक्षण हुँदै आएका यी जातहरू अब अनुमोदन प्रक्रियामा अघि बढाइने भएको छ।
कार्यक्रमका संयोजक तीर्थराज रिजालका अनुसार सिफारिस गर्न लागिएका जातहरूमा उन्नत जातका बिजीबीवाइपिओपी र टिएलबीआरएसओ–७एफ१६ रहेका छन्। आगामी असार महिनासम्म यी जातहरूलाई बीउबिजन गुणस्तर तथा नियन्त्रण केन्द्रमा सिफारिस गरिनेछ। अनुमोदनपछि व्यावसायिक उत्पादनका लागि अनुमति प्रदान गरिनेछ।
नेपालमा अहिलेसम्म उन्नत जातका ३१ प्रकारका मकै सिफारिस भइसकेका छन्। उच्च पहाडका लागि गणेश–१ र २, मध्यपहाडका लागि मनकामना–१, ३, ५, ७, ९, तथा तराईका लागि रामपुर जात सिफारिस गरिएका छन्। यसपटक सिफारिस गरिन लागिएका जातहरू तराई र मध्यपहाडका लागि उपयुक्त हुने बताइएको छ।
किसानहरूको मागलाई ध्यानमा राख्दै छिटो पाक्ने जातका मकै पनि सिफारिस गरिएका छन्। जसमा अरुण–१, २, ३, ४, ५, ६ रहेका छन्, जो रोपाइँ गरेको ८० देखि ९० दिनभित्र तयार हुन्छन्। अन्य परम्परागत मकै भने १२० देखि १५० दिनसम्म लाग्ने संयोजक रिजालले जानकारी दिए।
हाइब्रिड मकैका सन्दर्भमा कार्यालयले हालसम्म १० जात सिफारिस गरिसकेको छ। अहिले थप तीन जात (सिएएच–१५११, सिएएच–११८७, सिएएच–१९) सिफारिस प्रक्रियामा छन्। यी जातहरू उच्च तापक्रम सहन सक्ने भएकाले भित्री मधेस र तराईका किसानका लागि उपयुक्त हुने बताइएको छ।
संयोजक रिजालका अनुसार विसं २०७७ यता कुनै नयाँ मकै जात सिफारिस भएको थिएन। अब पाँच नयाँ जात सिफारिस गर्न लागिएको छ, भने अर्को वर्ष थप तीन जातको सिफारिस गर्ने योजना छ। नेपालमा पहिलो हाइब्रिड मकै गौरव जातको रूपमा सन् २००१ मा सिफारिस गरिएको थियो। त्यसयता रामपुर हाइब्रिड–२, ४, ६, ८, १० लगायतका जातहरू सिफारिस भइसकेका छन्।
यस कार्यक्रमअन्तर्गत किसानहरूले रुचि नदेखाएका आठ जातलाई सूचीबाट हटाइएको छ भने थप पाँच जात हटाउने प्रक्रिया अघि बढाइएको छ। रोग कीराको समस्याका कारण उत्पादनमा प्रभाव परेको जातहरू सूचीबाट हटाउने निर्णय लिइएको छ। अनुसन्धान कार्यक्रमले वंश विकास मात्र नभई, मकैमा लाग्ने कीरा नियन्त्रण, माटो सुधार लगायतका विषयमा समेत अध्ययन तथा सुधार कार्य जारी राखेको छ।
नेपालमा बीउ उत्पादन तथा सिफारिसको यो प्रक्रिया विसं २०३३ मा रामपुर कम्पोजिट मकैको सिफारिसबाट सुरु भएको थियो। त्यसयता उन्नत जातहरू विकास गर्दै किसानहरूको उत्पादन क्षमता अभिवृद्धि गर्न विभिन्न अनुसन्धान तथा परीक्षणहरू सञ्चालन गरिँदै आएका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij