काठमाडौँ, ५ चैत – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन अघि विस्तृत समीक्षा अपरिहार्य रहेको बताउनुभएको छ।
२७औँ सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा आज यहाँ आयोजित जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०८१ कार्यक्रममा उहाँले संविधान संशोधनको पूर्वाधारका रूपमा गहन बहस आवश्यक रहेको धारणा राख्नुभयो।
“संविधान संशोधनमा जानुअघि समीक्षा अपरिहार्य छ। सबै राजनीतिक दलहरू मिलेर समीक्षा गरौँ, त्यसपछि मात्रै संशोधनको दिशा तय गरौँ,” उहाँले भन्नुभयो।
अध्यक्ष दाहालले जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिहरू कुनै हालतमा गुम्न नदिन आफू दृढ रहेको उल्लेख गर्दै राजतन्त्र पुनःस्थापनाको प्रयासलाई असफल बनाइने बताउनुभयो। “इतिहासले समाप्त गरिसकेको राजतन्त्र फर्काउन खोज्नु अर्को मूर्खता हुनेछ,” उहाँले थप्नुभयो।
वाम एकता र वैज्ञानिक समाजवादको दिशा
अध्यक्ष दाहालले वैज्ञानिक समाजवादलाई मार्गदर्शक सिद्धान्त मान्ने माओवादी धारहरू चाँडै एकताबद्ध हुने विश्वास व्यक्त गर्नुभयो। साथै, वामपन्थी एकताका लागि आफूले इमान्दार पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य माइला लामाले मुलुकलाई पश्चगमनतर्फ फर्काउने कुनै पनि प्रयास असफल हुने बताउँदै माओवादीहरूलाई पुनः सङ्घर्षका लागि एकताबद्ध हुन आग्रह गर्नुभयो।
सो अवसरमा अध्यक्ष दाहालले माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री सत्य पहाडीद्वारा लिखित १० पुस्तक विमोचन गर्नुभयो। साथै, सांस्कृतिक सहिद परिवारका सदस्यहरूलाई सम्मान गर्दै संस्कृतिकर्मीहरूको योगदान ऐतिहासिक रहेको उल्लेख गर्नुभयो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij