नवलपरासी (बर्दघाट सुस्तापूर्व) – ११ महिनादेखि मलेसियामा रोकिएको कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइँदै छ। २५ वर्षीय तिलमायाको गत वैशाख २९ गते मलेसियामा हत्या भएको थियो। लामो समयदेखि परिवारले शव नेपाल ल्याउन पहल गरे पनि प्रक्रिया पूरा गर्न ढिलाइ भएको थियो।
तिलमायाको ७० वर्षीया आमा धनमाया सार्कीले छोरीको शव नेपाल ल्याउन विभिन्न सरकारी निकाय धाइरहेकी थिइन्। यस विषयमा गत फागुन १ गते राष्ट्रिय समाचार समिति (रासस) मार्फत ‘छोरीको शव ल्याउन भौँतारिइरहेकी ७० वर्षीय आमा’ शीर्षकमा समाचार प्रकाशित भएपछि सम्बन्धित निकायले विशेष ध्यान दिएका थिए।
श्रीमान्सँग सम्बन्धविच्छेद गरी छोरीलाई आमाको जिम्मा लगाएर रोजगारीका लागि मलेसिया पुगेकी तिलमायालाई एक पाकिस्तानी नागरिकले हत्या गरेको बताइएको छ। घटनापछि न त परिवारले शव पाएको थियो, न त राहत रकमका लागि आवश्यक कागजात पूरा गर्न सकेका थिए।
सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालका अनुसार, लामो प्रयासपछि अन्ततः शव नेपाल ल्याउने प्रक्रिया पूरा भएको छ। उनका अनुसार, तिलमायाको शव बोकेको विमान आज (सोमबार) दिउँसो १२:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। शव बुझ्नका लागि तिलमायाकी दिदी नीलमाया सार्की आइतबार नै काठमाडौं पुगेकी छन्।
शव नेपाल ल्याउने सम्पूर्ण खर्च मलेसियन कम्पनीले बेहोर्नेछ भने वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने निःशुल्क शवबहानमार्फत शव काठमाडौँबाट नवलपरासीस्थित माइतीघर ल्याइनेछ। सोमबार साँझसम्म शव कावासोती–४ हसौरामा आइपुग्ने जानकारी लम्सालले दिएकी छन्।
मलेसियाबाट शव नेपाल पठाउन ढिलाइ हुनुको कारण हत्या अनुसन्धान प्रक्रिया अपूर्ण रहनु भएको मलेसियन दूतावासले जनाएको छ। उनीहरूको भनाइअनुसार, अनुसन्धान नसकिँदा शव पठाउँदा कानुनी प्रक्रिया जटिल बन्न सक्ने भएकाले ढिलाइ भएको हो।
यसैबीच, तिलमायाको परिवारले पाउने आर्थिक सहायता सुनिश्चित गर्न वैदेशिक रोजगार बोर्डमा आवश्यक निवेदन पेस गरिसकेको छ। बाँकी कागजात शवसँगै आउने भएकाले आवश्यक प्रक्रिया पूरा गरी राहत रकम उपलब्ध गराइने लम्सालले जानकारी दिइन्।
११ महिनासम्म छोरीको शव पर्खिएर दु:ख पाइरहेकी वृद्ध आमा धनमायाका लागि आजको दिन निकै महत्त्वपूर्ण बनेको छ। अब तिलमायाको अन्तिम संस्कार आफ्नै जन्मभूमिमा गर्न सकिनेछ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij