काठमाडौं, चैत ३ – नागार्जुन नगरपालिका–७, स्यूचाटारमा गएराति भएको आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय कृष्णहरि श्रेष्ठको एकतले कच्ची घर (जस्ताको टहरा)मा राति ९ः४० बजे आगो लागेको थियो, जसलाई करिब एक घण्टापछि नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिनुभयो।
साँघुरो गल्लीका कारण ठूलो दमकल पुग्न नसक्दा आगो नियन्त्रण गर्न कठिनाइ भएको थियो। चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीय बासिन्दाले आगो निभाएका थिए। अन्य चार दमकल समेत घटनास्थल पुग्न खोजे पनि बाटो साँघुरो भएका कारण प्रवेश गर्न सकेनन्।
कालिमाटी प्रहरी वृत्तका प्रमुख रूपक खड्काको नेतृत्वमा प्रहरी टोली खटाइएको थियो भने स्वयम्भू वृत्तका प्रहरी समेत उद्धार कार्यमा संलग्न थिए।
आगलागीबाट अन्न, फर्निचर, लत्ताकपडा, भाँडाकुडा तथा फलाम जलेर नष्ट भएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा विद्युत् चुहावटका कारण आगलागी भएको अनुमान गरिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij