२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गैँडाको चोरीसिकार रोकिएको ५१६ दिन नाघ्यो, संरक्षणमा थप सफलता

गैँडाको चोरीसिकार रोकिएको ५१६ दिन नाघ्यो, संरक्षणमा थप सफलता



चितवन, २ वैशाखः चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार रोकिएको ५१६ दिन पुगेको छ। पछिल्लो पटक २०८० साल कात्तिक ३० गते निकुञ्जको पूर्वी सेक्टर चपरचुली क्षेत्रमा दुई गैँडा तस्करद्वारा मारिएका थिए। सो घटनामा संलग्न नौ जनालाई केही दिनमै पक्राउ गरिएको थियो।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार त्यसयता सुरक्षा रणनीतिमा व्यापक सुधार गरिएकाले फेरि चोरीसिकार हुन सकेको छैन। उनले भने, “हामीले प्रविधिको प्रयोग र जनसहभागिता बढाएका छौं, जसले गर्दा सिकार रोक्न सफल भएका छौं।”

चालु आर्थिक वर्षमा हालसम्म २४ वटा गैँडा मरेका छन्, तर ती सबै प्राकृतिक कारणले मरेका हुन्। तीमध्ये केही बाघ वा गोहीको आक्रमणमा परेका, केही आपसमा जुधेका, बिरामी परेका, दलदलमा फसेका, वृद्ध भएका वा भाले गैँडाको आक्रमणमा परेका थिए।

स्थानीय बासिन्दाको सचेतना र सहयोगले पनि चोरीसिकार रोक्नमा महत्वपूर्ण भूमिका खेलेको अधिकारी थापामगरले बताए।

गत आर्थिक वर्षमा २१ वटा गैँडा मरेका थिए। तीमध्ये १८ वटा प्राकृतिक कारणले, दुईवटा चोरीसिकारबाट र एकको कारण अज्ञात थियो। त्यसअघि २०७९/८० मा २२ वटा गैँडा मरेका थिए, जसमध्ये २० वटा प्राकृतिक कारण, एउटा विद्युतीय करेन्ट र अर्को चोरीसिकारको कारण थियो।

एक पटक निकुञ्जमा १,०७१ दिनसम्म कुनै पनि चोरीसिकार नभएको समयमा उत्सवको रूपमा मनाइएको थियो। पछिल्ला वर्षहरूमा भने यस्तो उत्सव नगर्ने नीति अपनाइएको छ।

सन् २०२१ को तथ्याङ्क अनुसार नेपालमा एकसिङ्गे गैँडाको कुल सङ्ख्या ७५२ रहेको छ। तीमध्ये ६९४ चितवन राष्ट्रिय निकुञ्जमा, ३८ बर्दिया, १८ शुक्लाफाँटा र तीन पर्सा राष्ट्रिय निकुञ्जमा छन्।

यो वर्ष गैँडाको गणना गर्ने योजना भए पनि बजेट अभावका कारण अन्तिम समयमा स्थगन गरिएको छ। तर, संरक्षणका लागि अनुगमनलाई तीव्र बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij