काठमाडौँ, २६ फागुन – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालजस्ता जलवायु परिवर्तनमा न्यून योगदान भएका मुलुकहरूका लागि जलवायु न्यायको सवाललाई अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर उठाउन आवश्यक रहेको बताउनुभएको छ।
आज काठमाडाैंमा आयोजित एक भौगर्भिक सम्मेलनको उद्घाटन गर्दै उहाँले विकसित देशहरूको तीव्र औद्योगिकीकरण, जीवाश्म इन्धनको अत्यधिक उपयोग र कार्बन उत्सर्जनका कारण नेपालजस्ता विकासशील र अल्पविकसित राष्ट्रहरू प्रभावित भइरहेको उल्लेख गर्नुभयो। उहाँले जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सहकार्य आवश्यक रहेको औँल्याउनुभयो।
राष्ट्रपति पौडेलले पृथ्वीको तापमान अस्वाभाविक रूपमा बढ्दै गइरहेको सन्दर्भमा हिमालका हिउँ पग्लँदै गएको, हिमताल फुट्ने खतरा बढेको तथा अत्यधिक वर्षाका कारण बाढी, पहिरो र भूक्षयजस्ता प्राकृतिक प्रकोपले नेपालमा ठुलो जनधनको क्षति भइरहेको बताउनुभयो।
यसै सन्दर्भमा, उहाँले हिमालय क्षेत्रमा बारम्बार गइरहने भूकम्प नेपालका लागि थप चुनौती बनेको उल्लेख गर्दै, हालसम्म भूकम्पको पूर्वानुमान गर्न सक्ने प्रविधिको विकास नभएकाले त्यसबाट जोगिन पूर्वतयारी आवश्यक रहेको बताउनुभयो।
सम्मेलनमा नेपालका खानी तथा खनिज स्रोतहरूको अवस्थाबारे छलफल हुने विश्वास व्यक्त गर्दै उहाँले प्राकृतिक स्रोतहरूको उचित उपयोग, लगानीको सम्भावना र बजार व्यवस्थापनका विषयमा गम्भीर विचारविमर्श हुनुपर्नेमा जोड दिनुभयो।
राष्ट्रपति पौडेलले सन् २०१५ को गोरखा भूकम्पको एक दशक पुग्न लागेको सन्दर्भमा त्यसको पुनरवलोकन र पाठ सिक्न यो सम्मेलन महत्त्वपूर्ण हुने भन्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij