२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सामुदायिक वनको दोहन रोक्न अनुसन्धान सुरु

सामुदायिक वनको दोहन रोक्न अनुसन्धान सुरु

सिरहा, २१ माघः सडक निमार्णका लागि आवश्यक कच्चा सामग्री नियम विपरीत चुरे क्षेत्रका सामुदायिक वनबाट उत्खनन गरिरहेको गुनासो बढ्न थालेपछि डिभिजन वन कार्यालयले यससम्बन्धी अनुसन्धान सुरु गरेको छ ।

गोलबजार नगरपालिका–१० स्थित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रबाट अवैध रुपमा माटो तथा ‘ग्राभेल’ उत्खनन गरी बिक्री गरेको विषयमा स्थानीयले केही दिनअघि विरोध गरेका थिए । स्थानीय भीमबहादुर थापासहित २६ जनाले प्राकृतिक स्रोत र साधनको अवैध दोहन भइरहेको भन्दै कारबाहीको माग गरी वडा कार्यालयमा निवेदन दिनुभएको थियो ।

सोही आधारमा वडाले पनि वन कार्यालयसहितका निकायलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो । डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रले आफूहरुले जानकारी पाउनासाथ अनुसन्धान सुरु गरेको बताउनुभयो । उहाँले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेकाले यस क्रममा दोषी देखिएका जो कसैलाई पनि कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नियम विपरीत उत्खनन प्रक्रियामा संलग्न जो सुकै पनि कारबाहीको दायरामा आउँछन्, चाहे त्यो वन उपभोक्ता समितिका पदाधिकारी हुन् वा निर्माण व्यवसायीका प्रतिनिधि हुन्, चाहे जनप्रतिनिधि नै किन नहुन् ? हामीले अनुसन्धान सुरु गरिसकेका छौँ, दोषी देखिने सबै कारबाहीको दायरामा आउँछ ।”

गोलबजार–७ चोहर्वा बजारदेखि वडा नं १० धरमपुरको घुर्मीघाटसम्म बाटो निर्माण गरिरहेका कम्पनीलाई वन फँडानी गरेर माटो तथा ग्राभेल बिक्री गर्दै आएको स्थानीय थापाको भनाइ छ । रातको समयमा वनभित्रै स्काभेटर लगेर सखुवा(साल)को रूख ढाल्दै ग्राभेल उत्खनन गरी टिपरमा ओसार्ने गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उत्खननका क्रममा ढलेको सालका रूख पनि टिपरमा ‘लोड’गरी स्थानीय काष्ठ उद्योगमा बिक्री हुने गरेको छ ।”

पछिल्लो समय सिरहामा राष्ट्रिय गौरवका योजनाका नाममा राष्ट्रिय वन, सामुदायिक वन, खोला तथा निजी आवादी जग्गाबाट अवैध रुपमा ग्राभेल उत्खनन गरी सडक निर्माण हुने क्रम बढ्दो मात्रामा रहेको स्थानीयको भनाइ छ ।

  • रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij