
लेखक जि.के. चेन्स्टरटन भन्छन्, ‘तपाईंले खाना खानु भन्दा पहिल मात्रै Grace भन्नुहोला, त्यो राम्रो हो । तर मैले हिँड्दा, खेल्दा, नाच्दा, पौडिँदा, कन्सर्टमा सहभागि हुँदा, कलममा मसी भर्दा लगायतका हरेक अवस्थामा शुरुमा नै Grace भन्छु ।
हामी सबैले राम्रो नतिजा अपेक्षा गरेका हुन्छौं । राम्रो नतिजा प्राप्ति गर्नको लागि काम सम्पन्न भइसकेपछि नभई काम शुरु गर्नु भन्दा पहिले नै आफूलाई प्रसन्न र धन्यवाद भावमा पुर्याउन सक्नुपर्छ । लेखक जिल्बर्ट केइथ (जि.के.) चेस्टरटन काम शुरु गर्नु भन्दा पहिले नै कृतज्ञता भाव विकास गरेर जादूमय ढङ्गले आफूले चाहेको नतिजा हासिल गर्दथे ।
हामी राम्रो नतिजा प्राप्ति गर्ने समयमा ‘परिस्थितिले साथ दिएमा शायद राम्रो होला’, ‘भाग्यले मेरो पक्षमा काम बनाइदेला’, ‘भाग्यले साथ दियो भने काम बन्ला’ भनेर सोचिरहेका हुन्छौं । जबकि यसरी सोच्दा हामीले आफूलाई पूर्ण नभई अर्धविश्वासी बनाएका हुन्छौं । आफ्नो काम सम्पन्न हुनुमा केवल भाग्य र सम्भाव्यता पक्षलाई बलियो हामी आफैंले बनाएका हुन्छौं । जबकि हाम्रो जीवनका घटनाहरु अवसर वा भाग्यको कारणले भन्दा पनि गणितीय नियमको आधारमा चलेका हुन्छन् । ब्रह्माण्ड गणितीय नियमको आधारमा चलेको हुन्छ भन्ने कुरा हामीलाई थाहा नै हुँदैन । गणितीय नियम भनेको विशुद्ध विज्ञान सम्मत हुन्छ । जहाँ समीकरण पूरा हुनु जरुरी रहन्छ । समीकरणमा कहीँकतै बाधाअवरोध भए त्यसले काम गर्दैन । अर्थात् हामीले प्राप्त गर्ने नतिजा पनि हाम्रो कर्म र विश्वासको अनुसार नै हामीलाई प्राप्त हुन्छ ।
जहाजको पाइलटले कहिल्यै पनि जहाज गञ्तव्यमा पुग्छ वा पुग्दैन भनेर आशंका वा आशा राखेको हुँदैन । उ त पूर्ण विश्वस्त हुन्छ । किनकि त्यहाँ विज्ञान र गणितका महान् प्रमाणित सूत्रहरु प्रयोग भएका छन् । विज्ञान र गणितका नियमहरु कहिल्यै फेल हुँदैनन्, ती शाश्वत नियमहरु हुन् । विगतमा अन्य व्यक्तिहरुले जुन नियम अवलम्बन गरेर जहाजलाई गञ्तव्यमा उतारेका छन्, ठीक त्यही नियमलाई अवलम्बन गर्दा आफूले चलाएको जहाज पनि गञ्तव्यमा सही तवरले उत्रन्छ भन्नेमा पाइलट विश्वस्त हुन्छ ।
आकर्षणको नियमबाट लाभ लिउँ
यदि हामी प्रत्येक चिजमा शानदार नतिजा प्राप्त गर्न चाहन्छौं भने यसलाई सञ्चालन गर्ने ब्रह्माण्डीय नियम ‘आकर्षणको नियम’ लाई बुझ्न र प्रयोगमा ल्याउन सक्नुपर्छ । किनकि यो नियमले अदृश्य रुपमा सिङ्गो ब्रह्माण्डलाई चलायमान बनाइरहेको छ । यो नियम पनि गुरुत्वाकर्षण बल, चुम्बकीय बल, विद्युतीय बल जस्ता विज्ञान र गणितका नियम अनुसार नै काम गर्छ ।
हामीले आफूलाई साँच्चै सफलताको चुम्बक बनाएर हर कार्यमा सानदार उपलब्धि हासिल गर्नु छ भने आफ्नो सोच र भावनालाई जहिले पनि सकारात्मक स्थितिमा राख्न सक्नुपर्छ ।
हामीले सानदार उपलब्धि किन हासिल गर्दैनौं ? ?
हामीले लक्षित उपलब्धि सानदार रुपमा प्राप्त गर्न नसक्नुमा हाम्रो द्वैध विश्वास र चरित्र धेरै हद सम्म जिम्मेवार छ । जब हामी कुनै काम गर्न अघी बढिरहेका हुन्छौं, हामीले त्यो काम आफूबाट सम्भव हुँदैन कि भन्ने आशंकाबाट काम शुरुवात गर्छौं । किनकि हाम्रो विगत यस्ता धेरै काम सम्पन्न नभएका वा साना–तिना काम मात्र सम्पन्न भएको अनुभवबाट यहाँ सम्म आइपुगेको छ ।
हुन सक्छ, हामी कुनै व्यक्तिलाई देखेर खुसी हुन्छौं भित्रबाटै आनन्द अनुभुति गर्छौं । र फेरी अर्कोलाई देख्दा दुखी हुन्छौं, त्यस बेला आफूलाई नकारात्मक फ्रिक्वेन्सीमा पुर्याएर हामी आफूलाई नै कमजोर बनाउँछौं । हामी हरेक घटना, परिस्थितिबाट प्रभावित हुन्छौं भने हामीले सानदार उपलब्धि हासिल गर्न सक्दैनौं । किनकि समान धनात्मक र ऋणात्मक परिमाणको जोडफलको परिणाम शून्य हुन्छ भन्ने त हामीले गणितबाट सिकिसकेका छौं ।
यसकारण यदि हामी साँच्ची सफलताको चुम्बक बन्नु छ भने हरेक व्यक्ति, परिस्थिति, वस्तु र घटनालाई सहजै स्वीकार्दै त्यस अवस्थाको लागि हृदय देखि नै कृतज्ञ बन्न सक्नुपर्छ । चाहे घटना हाम्रो पक्षमा होस् वा नहोस् । हाम्रो काम दुखी बन्नबाट बच्नको लागि कुनै न कुनै कारण खोज्नमा केन्द्रित हुनुपर्छ । ‘भगवान हाम्रो लागि दुस्मन मात्रै भएको’ भाव जगाएर हामी समस्याबाट मुक्त हुन सक्दैनौं, बरु थप समस्या आकर्षित गरिरहेका हुन्छौं । बरु अवस्था बिस्तारै सुधार हुँदै जाने, रात पछि दिन अवश्य फर्कने, आरोहअवरोह नै जीवनको सुन्दरता रहेकोमा विश्वास गरेर त्यस्तो स्थितिमा पनि आफूले सक्दो प्रयत्न गर्ने र नसक्दो काममा दुखी नबनी आफूमा आशा कायम राख्ने हो भने हामी जस्तोसुकै स्थितिमा पनि सकारात्मक बन्न सक्छौं । यसरी हामी भित्र देखि नै कृतज्ञ बनिरह्यौं भने ब्रह्माण्डमा हाम्रो माध्यमबाट सकारात्मक ऊर्जा निरन्तर सञ्चार भइरहनेछ ।
यो याद राखौं कि हामीलाई कुनै व्यक्ति, वस्तु, परिस्थिति वा घटनाले राम्रो वा नराम्रो बनाएको हुँदैन । त्यस प्रतिको बुझाई वा दृष्टिकोणको कारण हामीले आफूलाई राम्रो वा नराम्रो अवस्थामा पुर्याएका हुन्छौं । वस्तु वा घटना त आफैंमा निरपेक्ष हुन्छ । यसकारण हामीले आफ्नो दृष्टिकोणलाई बदल्न सक्नुपर्छ । भनिन्छ, परिस्थिति बदल्न सकिँदैन, मनस्थिति बदल्नुपर्छ ।
सानदार उपलब्धिको लागि कसरी अभ्यास गर्ने ?
हामी हरेक समय केही न केही काम त अवश्य गरिरहन्छौं । कहिले हामी खाना खान्छौं, कहिले बाथरुममा नुहाउँछौं, साथीलाई भेट्छौं, पुस्तक पढ्छौं, फेसबुक चलाउँछौं । गाडी वा मोटरसाइकलबाट यात्रा गर्छौं । घरको वा अफिसको काम गरिरहेका हुन्छौं । शारीरिक अभ्यास गरेका हुन्छौं, श्वास त हर क्षण लिइरहेका हुन्छौं । यस्ता हरेक काम गर्दा आफूले सम्झेको समयमा आफूलाई त्यस काममा संलग्न हुन पाएकोमा हृदय देखि नै धन्यवाद व्यक्त गरौं ।
नराम्रो अवस्थामा यस्तो अभ्यास गरौं
जब कुनै कुराले हामीलाई चिन्तित बनाउँछ नि, त्यस बेला आफ्नो हातलाई हावामा हल्लाएर आफूले चाहेको परिणाम प्राप्तिको लागि ब्रह्माण्डमा सूक्ष्म वेभ वा भाईब्रेसनको माध्यमबाट आफूले आदेश दिएको अनुभव वा परिकल्पना गर्न सक्छौं । मनमा कुनै चिन्ता आउँदा मनमनै वा वास्तविक रुपमै काजगका टुक्राहरु जलाएर आफ्ना सबै दुःखपीडा समेत जलिरहेको कल्पना गरेर सुखद अवस्थामा पुग्न सक्छौं ।
यस्तो अवस्थामा के गर्ने ?
सदैव अवस्था हाम्रो पक्षमा नै हुन्छ भन्ने जरुरी छैन । हुन सक्छ, कहिलेकाहीँ यात्रामा जाने क्रममा हाम्रो बस वा जहाज छुट्न सक्छ । हतारको बेलामा ढिलाई हुन सक्छ । भेट्नुपर्ने मान्छेसँग निर्धारित समय भन्दा ढिला हुन सक्छ । यस्तो अवस्थामा ‘कस्तो खराब’ भन्ने नसोचौं । बरु त्यस किसिमको घटनाले ब्रह्माण्डले सूक्ष्म रुपमा आफूलाई कुनै ठूलो समस्या वा दुर्घटनाबाट जोगाउनको लागि त्यस्तो स्थिति सृजना गरेको सोचेर अझै पनि केही नबितेको बरु परिणाम अझ भव्य रुपमा प्राप्ति हुने ठानौं र आफूलाई आनन्दित अवस्थामा नै राखिरहौं । अकस्मात् कुनै घटना हुँदा, कुनै अनिर्धारित मिटिङमा जानुपर्दा, अकस्मात् जमघट भई बिल तिर्नुपर्दा चिन्तित बन्नु भन्दा पहिले नै आफूलाई कृतज्ञ अवस्थामा पुर्याउँ ।
स्मरण गरौं कि कतिपय अवस्थाको नतिजा हामीले तत्काल प्रत्यक्ष महसुस गर्न नसकौँला तथापि आकर्षणको नियम कहिल्यै झुटो नहुने भएकोले कुनै न कुनै रुपमा त्यसको हामीले परिणाम प्राप्त गरिरहेकै हुनेछौं । नराम्रो अवस्थामा पनि राम्रो मनस्थिति विकास गर्दा हामी कहिल्यै पछुताउनु पर्नेछैन । सदैव हामी खुसी र कृतज्ञ भावमा रहँदा नतिजा सानदार रुपमा हाम्रो पक्षमा पर्ने सुनिश्चित छ । किनकि यो ब्रह्माण्डीय शाश्वत नियम नै हो ।
यो पनि याद गरौं, कहिलेकाहीँ हामीलाई आफ्नो जीवन नियन्त्रणको साँचो आफूसँग नभएको महसुस हुन सक्छ, तथापि त्यस अवस्थामा कसरी आफूलाई संयमित रुपमा नियन्त्रणमा राख्छौं भन्ने कुराले नै हाम्रो बाँकी जीवन राम्रो वा नराम्रो, कुन दिशामा कसरी अघी बढ्छ भन्ने निक्र्यौल गर्दछ ।
जब हामी सानदार उपलब्धिको बारेमा सोच्छौं, हामी ब्रह्माण्डीय नियम वा ब्रह्माण्डीय शक्तिसँग एकाकार भएका हुन्छौं । जसबाट हाम्रा आशा र सम्भावनाहरु पूर्णता र वास्तविकतामा बदलिइरहेका हुन्छन् ।
जब हामी यस किसिमले ‘भव्य उपलब्धि’को अभ्यास गरिरहेका हुन्छौं, हामी जीवन एकपछि अर्को गर्दै राम्रो र उपलब्धिमूलक तवरले अघी बढिरहेको महसुस गर्दै जानेछौं । बिस्तारै हरेक घटनाहरु हामी चाहे बमोजिम नै बन्दै गएको देखेर हामी आश्चर्यमा पर्दै जान्छौं ।
एउटा प्रयोग
हामी आज आफूलाई महत्वपूर्ण वा आवश्यक रहेका ३ फरक अवस्थाहरु छनौट गरौं । जसलाई हामी भव्य तवरले उपलब्धिमा बदल्नुछ । जसमा परीक्षा, जागिर अन्तरवार्ता, स्वास्थ्य, कर्जा चुक्ता, व्यापारिक सहमति लगायत आफ्नो आवश्यकता अनुसारका अन्य थुप्रै स्थिति हुन सक्छन् । ती ३ अवस्थालाई डायरीमा टिपोट गरौं ।
यी प्रत्येक माथि यसरी भव्य उपलब्धिको लागि कृतज्ञता प्रकट गरौं ।
१. मेरो ………………..काम भव्य तवरले उपलब्धिमा बदलिएकोमा धन्यवाद । धन्यवाद ।। धन्यवाद ।।।
२. मेरो ………………..काम भव्य तवरले उपलब्धिमा बदलिएकोमा धन्यवाद । धन्यवाद ।। धन्यवाद ।।।
३. मेरो ………………..काम भव्य तवरले उपलब्धिमा बदलिएकोमा धन्यवाद । धन्यवाद ।। धन्यवाद ।।।
कसरी नकारात्मक घटनाबाट पनि विचलित नहुने ?
हामीलाई आज यदि कुनै नराम्रो स्थिति वा घटना वा फोनकल वा इमेल प्राप्त हुन्छ भने एकछिन अडिएर सोचौं, सबैभन्दा पहिले आफूलाई कृतज्ञ भावमा पुर्याउँ । आफूलाई भव्य उपलब्धिको लागि दाबेदार मानिरहुँ । त्यसपछि हामीलाई जुन स्थिति, घटना, इमेल, फोन कल प्राप्त भएको छ, त्यसलाई अत्यन्तै साधारण रहेको र आफूले त्यसलाई सहजै सुखद उपलब्धिमा बदल्न सक्ने ठानेर आफूलाई कर्तव्यपथमा अघी बढाउँ । यसरी हामी नकारात्मक घटनाबाट पनि चिन्तित हुनबाट आफूलाई मुक्त बनाउन सक्छौं ।
यसको अभ्यास
नराम्रो स्थिति आउँदा सबैभन्दा पहिले आँखा बन्द गरौं । आजको दिनमा भएका सबै राम्रा घटनाहरु सम्झौं । ….घटना पनि आफूले सजिलै सम्हाल्न सक्ने महसुस गरौं । त्यस घटनाले सृजना गर्न सक्ने सकारात्मक स्थिति बारे सूक्ष्म रुपमा विष्लेषण गरौं, त्यो सम्भव नभए ब्रह्माण्डले आफूलाई सृजना हुन सक्ने अझ ठूलो समस्याबाट मुक्त बनाएको सम्झौं । र त्यस अचानक सृजित घटनालाई सम्झेर यसरी कृतज्ञता व्यक्त गरौं ।
मेरो ………………..घटना/अनुभव भव्य तवरले उपलब्धिमा बदलिएकोमा धन्यवाद । धन्यावाद ।। धन्यवाद ।।।
अन्त्यमा
आज देखि हामी कुनै पनि घटना वा उपलब्धि भाग्यवश हुने नभई ब्रह्माण्डीय नियमअनुसार नै हुने महसुस गरेर आफूलाई सदैव भव्य उपलब्धिको लागि तयार पारौं ।
आजको अभ्यास
१। आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका सबै सकारात्मक बुँदाहरु एकपटक पढौं ।
२। दिनको शुरुवातमा ३ ओटा वस्तु वा अवस्थालाई लिउँ, जसलाई हामी कृतज्ञता मार्फत भव्य उपलब्धिमा बदल्न चाहन्छौं । जसको अभ्यास यसरी गरौं
मेरो ………………..काम भव्य तवरले उपलब्धिमा बदलिएकोमा धन्यवाद । धन्यवाद ।। धन्यवाद ।।।
३। आजको दिनभरका ३ नराम्रा वा अनपेक्षित घटना लिउँ । ती नराम्रो स्थिति वा अनपेक्षित आउँदा सबैभन्दा पहिले आँखा बन्द गरौं । आजको दिनमा भएका सबै राम्रा घटनाहरु सम्झौं । ….घटना पनि आफूले सजिलै सम्हाल्न सक्ने महसुस गरौं । त्यस घटनाले सृजना गर्न सक्ने सकारात्मक स्थिति बारे सूक्ष्म रुपमा विष्लेषण गरौं । त्यस अचानक सृजित घटनालाई सम्झेर यसरी कृतज्ञता व्यक्त गरौं ।
मेरो ………………..घटना/अनुभव भव्य तवरले उपलब्धिमा बदलिएकोमा धन्यवाद । धन्यावाद ।। धन्यवाद ।।।
४. ओछ्यानमा सुत्नु भन्दा पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु कम्तीमा १० ओटालाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।
हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिनहरु यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद धन्यवाद ।। धन्यवाद ।।।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij