२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

‘हिमचितुवा’ उपनामले चिनिने अविरल घिमिरे ‘के वान वर्ल्ड म्याक्स’ च्याम्पियन

‘हिमचितुवा’ उपनामले चिनिने अविरल घिमिरे ‘के वान वर्ल्ड म्याक्स’ च्याम्पियन

काठमाडौँ, २७ माघ : ‘हिमचितुवा’ उपनामले चिनिनुहुने नेपाली किक बक्सर अविरल घिमिरेले किक बक्सिङ क्षेत्रमा एकपछि अर्काे  कीर्तिमान बनाउन सफल हुनुभएको छ । ‘के वान प्रोफेसनल किक बक्सिङ’द्वारा जापानको टोकियो सहरस्थित नेशनल योयोगी स्टेडियममा आज आयोजित ‘के वान वर्ल्ड म्याक्स २०२५’ प्रतियोगितामा जापानका बक्सर यसुहितो सिरासुलाई ढाल्दै विजयी हुनुभएको छ ।

गत कात्तिक ११ मा इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एशोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेशनल किक  बक्सिङ’ (इस्का)  प्रतियोगितामा बक्सर घिमिरेले प्रतिद्वन्द्वी फ्रान्सका एन्टोनिन मार्काेनीलाई ढाल्दै ‘वर्ल्ड च्याम्पियन’ हुनुभएको थियो ।

उक्त सफलतासँगै बक्सर घिमिरे के वान किक बक्सिङमा तीन खेल जित्दै, इस्का र हिट किक बक्सिङ प्रतियोगिताको विश्वविजेता  खेलाडी बन्न सफल हुनुभएको छ ।

म्याक्सको उपाधि चुमेपछि बक्सर घिमिरेले जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसला प्रदान गर्ने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई धन्यवाद दिनुभएको छ ।

बक्सर घिमिरेले ‘के वान वल्र्ड म्याक्स २०२५’ प्रतियोगितामा जित निकाल्ने क्रममा तेस्रो राउण्डमा प्रतिस्पर्धी सिरासुलाई पराजित गर्नुभएको हो ।

हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्डस्, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसक्नुभएका चर्चित खेलाडी घिमिरेले पुनः अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल हुनुभएको हो ।

उहाँ जापानको नागोया सहरमा पिता देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आउनुभएको छ । उहाँ पिता देव पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक करातेका खेलाडी हुनुहुन्छ । उहाँले प्रतियोगितामा भाग लिनुपूर्व थाइल्याण्डको टाइगर मुवाथाइ क्लबमा एक महिनाको विशेष प्रशिक्षण लिनुभएको थियो ।

बक्सर घिमिरेका पिता देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा करातेतर्फ सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुनुहुन्छ ।  चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बू निवासी उहाँको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ ।

  • रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij