२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

हरेक वस्तुहरु प्रति कसरी कृतज्ञ भाव विकास गर्ने  ?

हरेक वस्तुहरु प्रति कसरी कृतज्ञ भाव विकास गर्ने  ?

 

हाम्रो पूरा दिन मूलतः विहानको समयमा हामीले गर्ने सोचाई, काम र अनुभवमा निर्भर गर्दछ । यदि हामीले विहानको समयलाई प्रभावकारी तवरले उपयोगमा ल्याउन सक्यौं भने सम्पूर्ण दिन नै सकारात्मक बन्न जान्छ ।

विहानको समयमा कृतज्ञता व्यक्त गर्नु निकै महत्वपूर्ण हुन आउँछ । कृतज्ञतालाई जब हामी आफ्नो बानीको रुपमा विकास गर्छौं, हाम्रो जीवनमा चमत्कार हुन शुरु गर्छ । यदि हामीले आफ्नो बिहानीलाई खुसीमय एवं सही तवरले व्यवस्थापन गरेका छौं भने पूरै दिन नै आनन्दमय बन्न जान्छ । यसबाट हामीले थप हौसला प्राप्त गर्न सक्छौं ।

हरेक बिहान यसरी कृतज्ञता प्रकट गरौं

– जब हामी ओछ्यानबाट ब्युँझन्छौं, तब आज आफूले थप एक नयाँ दिन प्राप्त गरेकोमा ब्रह्माण्डीय शक्ति प्रति कृतज्ञता प्रकट गरौं ।

– ओछ्यानबाट बिना अवरोध (स्वस्थ रुपमा) उठ्न सकेकोमा कृतज्ञता प्रकट गरौं ।

– आजको दिन आफ्नो लागि विशेष दिन हुनेमा विश्वस्त होऔं ।

– बिहान जागेर पनि चाँडो उठ्न नसक्ने बानी छ भने त्यस्तो बिहान चाँडै उठ्नको लागि विशेष कारण नभएकोले पनि त्यसो भएको हुन सक्छ । आफूले चाँडै उठेर के गर्ने हो र त्यो किन आवश्यक छ भन्ने सम्बन्धमा आफैंलाई प्रश्न गरौं र उचित जवाफ खोजौं ।

– हरेक दिन ओछ्यानबाट उठ्दा आफूलाई प्रफुल्लित बनाउँ । आफ्ना मातापिता, गुरुहरु, साथीहरु, सत्रु, अपरिचित व्यक्ति एवं दृष्य अदृष्य सबै शक्तिहरु प्रति कृतज्ञता प्रकट गरौं । किनकि कृतज्ञतामा ठूलो शक्ति हुन्छ ।

– आफू हरेक दिन थप जवान र जिम्मेवार बन्दै गएको अनुभुति गरौं ।

– हाम्रो जीवनमा आफ्नो, परिवारको, समाजको र राष्ट्र«को लागि विशेष दायित्व रहने कुरा स्मरण गरौं ।

– आफ्नो शरीरमा कुनै दवाव वा विमारी छ भने आफू भित्र नै त्यस समस्यालाई ठीक बनाउन सक्ने चमत्कारी शक्ति रहेको परिकल्पना गरौं ।

– आफ्नो ध्यान विरामी अङ्गमा केन्द्रित गर्नुको सट्टा स्वस्थ अङ्गहरुमा केन्द्रित गरौं । आफ्ना अधिकांश अङ्गहरु स्वस्थ र सन्तुलित रहेको देखेर आफैं दङ्ग परौं । किनकि आज सम्म हामीले जुन कुरालाई ठूलो समस्या मान्दै आयौं, त्यो त विशाल शरीरको तुलनामा अत्यन्तै सानो समस्या रहेछ भन्ने आफैंले अनुभुति गरौं ।

– साथै प्रकृतिको उपचारात्मक नियमअनुसार त्यो समस्या ठीक हुँदै गइरहेको कल्पना दैनिक रुपमा गरेर आफैंलाई धन्यवाद व्यक्त गरौं ।

– आफू भित्रको चमत्कारी उपचार शक्तिले हरेक समस्यालाई सजिलै उपचार गर्न सक्छ भन्नेमा विश्वस्त रही आजबाट पीडा, कष्ट, चिन्ताबाट टाढा रहन खुसी, प्रेम, अध्ययन, योग, ध्यान, प्रणायाम, आत्मनिरीक्षण लगायतलाई दैनिकीका अंश बनाउँ ।

– यदि हामीमा कुनै राम्रो भविष्यको आशा बाँकी छैन भने हाम्रो वरपर वा देशमा हामी भन्दा कमजोर अवस्थामा रहेका व्यक्तिहरु पनि सहज तवरले खुसीयालीपूर्वक बाँचिरहेको याद गरौं । आफू ती भन्दा कमजोर नरहेको बरु सशक्त अवस्थामा नै रहेको ठानेर आफैंलाई बधाईं व्यक्त गरौं ।

– आजबाट हामीले जीवनलाई कसरी थप उत्कृष्ट बनाउन सकिन्छ भन्ने सम्बन्धमा अन्य कारणहरु खोजी गर्नमा आफ्नो मष्तिष्कलाई केन्द्रित गराउँ । खुसि र सफल हुनका लागि थप कारणहरु खोजी गरौं ।

– आज सम्म हामी कमजोर अवस्थामा रहनुमा आफ्नो मष्तिष्कलाई आफूसँग उपलब्ध नरहेका चिजहरु, विगतका गलत अनुभवको स्मरण, समस्या प्रति ध्यान केन्द्रित गर्ने बानी मुख्य कारक रहँदै आएको अनुभुति गरौं ।

– समाजमा आफू भन्दा बलिया र राम्रा व्यक्तिहरु पनि रहेको र आफू भन्दा कमजोर व्यक्तिहरु पनि रहेको महसुस गरेर सबै प्रति सम्मान व्यक्त गर्न सिकौं ।

– सबै व्यक्तिहरुमा एकै किसिमको समान क्षमता नहुने र प्रकृतिले हरेक व्यक्तिलाई पृथक क्षमता दिएको अनुभुति गरौं । जसले अन्य व्यक्तिलाई कामको आधारमा भेद गर्ने अवस्थालाई मुक्त गराउन सक्छ । साथै सबैको अस्तित्व स्वीकार्न पनि हामीलाई सहज गराउनेछ ।

– आफू भित्रका सकारात्मक पक्षहरुलाई एक–एक गरेर गणना गरौं र डायरीमा टिपोट गरौं ।

– आजबाट हरेक व्यक्ति भित्रका केवल राम्रा पक्षको खोजी गर्ने संकल्प गरौं । आफ्ना हरेक मित्र वा सहयोगीलाई उसको सहयोगको लागि हरेक पटक हृदय देखि नै आभार प्रकट गरौं ।

– केही समय आँखा बन्द गरेर आफू भित्र अनन्त क्षमता रहेको महसुस गरौं ।

– सफलता हरेक व्यक्तिको आफ्नो मानसिकतामा निर्भर गर्छ भन्ने महसुस गरौं । अन्य व्यक्तिले भौतिक रुपमा राम्रो प्रगति गरेको देखेर आफूलाई कहिल्यै पनि कमजोर नठानौं । यसबाट सफलतालाई हेर्ने हाम्रो दृष्टिकोणमा परिवर्तन आउनेछ ।

– जीवन बहुआयामिक (धनसम्पत्ति, स्वास्थ्य, सम्बन्ध, शिक्षा, मानसिक शान्ति, सामाजिक पक्ष लगायत) हुने र सबै पक्षलाई सन्तुलित रुपमा अघी बढाउनु नै वास्तविक सफलता हुने कुरा महसुस गरौं ।

यो पनि याद गरौं

हरेक दिन हाम्रो लागि उपहार हुन् । हाम्रो जीवन नै एक अनुपम उपहार हो । यहाँ रहँदा हामीले आफ्नो काममा रमाउन सक्नुपर्छ । हामीले समाजका अन्य व्यक्तिहरुको लागि योगदान पुर्याउन सक्नुपर्छ । हामी अन्य व्यक्तिलाई आफ्नो कारणले पीडाबोध गराउनमा नभई प्रेरणाको माध्यम बन्न भूमिका निर्वाह गर्नुछ ।
यहाँ खुसी हुनको लागि हामीलाई हजारौं कारणहरु उपलब्ध छन् । जबकि दुखी हुनको लागि सय कारण हुन सक्छन् । हामीलाई हाम्रो जीवन जिउन आवश्यक पर्ने अधिकांश चिजहरु प्रकृतिबाट निःशुल्क उपलब्ध छन् । हामी पानी, हावा, माटो, घाम लगायतका यस्ता निःशुल्क उपलब्ध वस्तुहरु प्रति कृतज्ञ रही धन्यवाद व्यक्त गर्न सक्यौं भने हामीबाट अहमता बिस्तारै घट्दै जान्छ ।

एकपटक विचार गरौं त
हामी प्राकृतिक रुपमा त जन्मँदा नै धनाड्य र उदार रहेछौं, बरु हामी ठूलो हुँदै जाँदा आफू समाज, शिक्षा प्रणाली, सङ्गत लगायतबाट प्रभावित भएर आफूलाई सीमित बनाउँदै लगेका रहेछौं भन्ने अनुभुति गरौं ।

जब विशाल ब्रह्माण्ड नै हामी प्रति उदार बनेर हाम्रो लागि अधिकांश चिजहरु निःशुल्क उपलब्ध गराएको छ भने हामी मानिस–मानिस बीच रिस वा ईष्र्या विकास गर्नुको कुनै कारण छैन भन्ने महसुस गर्यौं भने हामी आफूलाई कहिल्यै कमजोर बन्न दिने छैनौं ।

यसबाट हामीमा न त प्रतिशोध विकास हुन्छ, न खुसीयालीमा घमण्ड न त आफू कमजोर रहेको ठानेर पीडाबोध नै अनुभुति हुनेछ ।

हरेक बिहान यी वस्तु प्रति कृतज्ञ बनौं

–आफू रातभर सुतेको आरामदायी ओछ्यान
–कोठामा उपलब्ध रहेका दराज, र्याक, किताब
–मोबाइल, कम्प्युटर
– खाना पकाउने भाँडा, ग्यास
– दाल, चामल, नुन, तेल, मसला
–ब्रस, टुथपेष्ट, भुईं सफा गर्ने कुचो, झाडु
– शरीरमा लगाइएका कपडा, मोजा, जुत्ता लगायत ।

हरेक समय हामी जे काम गर्छौं, त्यस समय कुनै वस्तुसँग नजिक अवश्य रहेका हुन्छौं, त्यस वस्तु प्रति कृतज्ञ रहेर कारण सहित धन्यवाद भाव व्यक्त गर्ने प्रयत्न विहान ५–१० मिनेट मात्रै गर्न शुरु गर्यौं भने पनि हाम्रो बाँकी दिन सोही अनुसार राम्रो बन्दै जानेछ ।

किनकि ब्रह्माण्डको नियम नै हुन्छ कि एउटा राम्रो चिजको विचार, भावना वा सङ्गतसँगै अर्को राम्रो चिज पनि हाम्रो लागि प्रकट हुँदै जान्छ भने नराम्रो विचार, भावना वा सङ्गतले पनि त्यस्तै अर्को नतिजा प्रकट गराइदिन्छ ।

हामीसँग छनौट गर्ने स्वतन्त्रता छ । राम्रो चिजहरु छनौट गरेर आफ्नो जीवनलाई थप सुखद बनाउँदै लैजाने वा नराम्रोमै रमाएर थप कमजोर बनाउने भन्ने निर्णय पनि हामी आफैंले लिनुपर्छ ।

आजको अभ्यास

१. आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका आफू भित्रका सबै सकारात्मक बुँदाहरु पढौं ।

२. त्यो लिष्टमा कृतज्ञता प्रकटको लागि थप १० ओटा सकारात्मक कुराहरु थपौं । ती सबैलाई कम्तीमा एक पटक पढौं र हामी कृतज्ञ रहनुका कारणहरु सहित धन्यवाद व्यक्त गरौं ।

३. आज देखि हामीले दैनिक रुपमा प्रयोग गर्दै आएका हरेक वस्तुहरु प्रति सचेत रुपमा कृतज्ञता प्रकट गर्न शुरुवात गरौं ।

जस्तो कि ब्रस, खाना, भाँडाकुडा, ओछ्यान, कापीकलम लगायतका हरेक चीजहरु, जुन हामीले प्रयोग गर्छौं ।

४. दिन भर पनि सम्भव रहे सम्म आफूले प्रयोग गर्ने हरेक वस्तु प्रति कृतज्ञ रहने प्रयत्न गरौं ।

राती ओछ्यानमा सुत्नु पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु (कम्तीमा १० ओटा)लाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।

हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिन यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij