बुद्ध रत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टी, ललितपुर–२
ललितपुरको क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार बुद्ध रत्न महर्जन हाल सम्म गुणस्तरीय र सर्वसुलभ अस्पताल आफ्नो निर्वाचन क्षेत्रमा नरहेको कारण स्थानीय जनताले स्वास्थ्यको लागि ठूलो समस्या भोग्दै आइरहेको बताउँछन् ।
निजी लगानीका किष्ट, बि एण्ड बि लगायतका अस्पताल सञ्चालनमा रहेपनि ती अस्पतालमा सबै नागरिकको पहुँच सम्भव नरहेको उनी बताउँछन् । स्वास्थ्य जनताको आधारभूत आवश्यकता रहेको तथ्यलाई लक्षित गरी आफूले उक्त क्षेत्रमा स्तरीय अस्पताल स्थापनाको लागि महत्वपूर्ण पहल गरेर अस्पताल स्थापना गराएरै छोड्ने प्रतिबद्धता जनाएका छन् ।
काम नगर्ने ठेकेदारलाई कारबाही गर्छौंः
पछिल्लो समय मुख्य सडक स्तरीय नै भएपनि अन्य सडकहरु भने राम्रोसँग बन्न सकेका छैनन् । ठेकेदारले कामको जिम्मेवारी लिएर लामो समय दुख दिँदा पनि अहिले सम्म कसैले ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही नगरेको स्थितिलाई नजिकबाट बुझेका महर्जन कामको जिम्मेवारी लिने हरेक व्यक्ति र निकायलाई जिम्मेवार बनाउन आफू सफल रहने र सडक, ढल, खानेपानी लगायतका पूर्वाधारहरुलाई समयमा नै सम्पन्न गर्न आफू सफल रहने दावी गर्छन् ।
युवा लक्षित कार्यक्रम
महर्जनले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, स्वरोजगारलाई प्रोत्साहन गर्ने र संस्कृति संरक्षण एवं पर्यटकीय गतिविधिलाई बढावा दिने बताएका छन् ।
आफ्नो क्षेत्रमा औद्योगिक क्षेत्र नै खोल्नुपर्ने आवश्यकता समेत महर्जनले औंल्याएका छन् । विगतमा मिनी जापानको नामले चिनिने लुभु क्षेत्र हाल नाममा मात्रै सीमित रहेको उनी बताउँछन् । ललितपुर ३ मा लाकुरी भन्ज्याङ, पाटनको कृष्ण मन्दिर लगायत अवस्थित छन् । यहाँका महालक्ष्मी जात्रा र सानागाउँ जात्रा मुख्य जात्रा हुन् ।
नेवारको बाहुल्यता रहेको उक्त क्षेत्रमा करिब ८१ हजार मतदाता छन् । ललितपुर–२ अन्तरगत महालक्ष्मी नगरपालिकाका १ देखि १० सम्मका वडाहरु र ललितपुर महानगरका ६, ७, ८, ९, ११, १२, १६, १७ र १९ नम्बर वडाहरु पर्दछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij