२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

स्टोन क्राफ्ट एसोसिएसनको पहिलो बार्षिकोत्सव सम्पन्न

स्टोन क्राफ्ट एसोसिएसनको पहिलो बार्षिकोत्सव सम्पन्न

काठमाडौं । स्टोन क्राफ्ट एसोसिएसन अफ नेपालले स्थापनाको पहिलो बार्षिकोत्सव सम्पन्न गरेको छ ।

‘हाम्रो विशुद्ध अभियान, प्रस्तरकलाको उत्थान’ भन्ने मूल नारा सहित स्थापना भएको यस संस्थाले नेपाल हस्तकला महासंघको सभाहलमा बाग्मती प्रदेश सरकारका उद्योग वाणिज्य तथा भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारको प्रमुख आतिथ्यतामा शनिबार एक विशेष कार्यक्रम सहित बार्षिकोत्सव मनाएको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीको विशिष्ट आतिथ्यता एवं नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, महासंघका पूर्व अध्यक्ष धर्मराज शाक्य, महासंघका पदाधिकारीहरु, नेपाल सम्पदा संघका पदाधिकारीहरु, विभिन्न वस्तुगत संघ तथा सामाजिक संघसंस्थाका पदाधिकारीहरु एवं सञ्चार कर्मी लगायतको व्यापक उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा वक्ताहरुले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे ।

 

 

प्रमुख अतिथि रामकृष्ण चित्रकारले आफू हस्तकला अन्तरगतका क्षेत्रगत समस्याहरु बुझेर सोही बमोजिम दिगो समाधानको लागि कानुनी व्यवस्था निर्माणमा लागेको बताउनुभयो । हस्तकला व्यवसायको लागि अहिले कच्चा पदार्थको उपलब्धता सबैभन्दा ठूलो समस्या रहेको उहाँको धारणा थियो । ठूलो मात्रामा हस्तकलाजन्य वस्तुहरु उत्पादनको लागि हस्तकला ग्राम अवधारणा आवश्यक रहेको र सोही बमोजिम हस्तकला ग्राम सम्बन्धी विधेयक आफूहरुको विशेष प्राथमिकतामा रहेको समेत बताउनुभयो ।

विशिष्ट अतिथि कुलपति नारदमणि हार्तमछालीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान सृजनालाई सम्मान गर्ने र सृजनशिल काममा लाग्ने प्रस्तरकलाकर्मी लगायत सबैलाई स्रोतसाधनले सम्भव भएसम्म सहयोग गर्न तयार रहने बताउनुभयो ।

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले प्रस्तरकला अशोक सम्राटले निर्माण गरेको अशोक स्तम्भमा प्रयोग भएको बताउँदै यसको इतिहास निकै पुरानो रहेको र सम्भावनायुक्त क्षेत्र समेत भएको बताउँदै संस्थागत रुपमा उत्तरोत्तर प्रगतिको लागि कामना गर्नुभयो ।

महासंघका पूर्वअध्यक्ष धर्मराज शाक्यले संघ स्थापना लामो प्रयाशबाट सफल भएकोमा खुसीयाली व्यक्त गर्नुभयो । ढुंगैढुंगाले भरिएको नेपालमा प्रस्तरकला व्यवसायीको लागि आवश्यक ढुंगा उपलब्ध हुन नसक्नु दुखद विषय रहेको उहाँले बताउनुभयो । उहाँले प्रस्तरकलाको निकै गर्विलो इतिहास रहेको स्मरण गराउँदै पाषण युग देखि नै जङ्गली गुफाहरुमा ढुङ्गाबाट निर्माण भएका हातहतियारहरु प्रयोग हुने गरेको बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष सोनाम शाक्यले सेमिप्रेसियस स्टोनहरु रोकिँदा व्यवसायीहरु अप्ठ्यारोमा परेको, अन्तरप्रदेशस्तरीय ढुवानीमा झण्झट व्यहोर्नुपर्ने स्थिति रहेको स्मरण गराउनुभयो ।

कलाकार राजेश अवालेले आफूहरुले कला क्षेत्रको संरक्षण र प्रवर्द्धनमा योगदान दिने उद्धेश्यले करिब साढे २ सय रोपनी क्षेत्रफलमा गोदावरी क्षेत्रमा नेपाल आर्ट भिलेज निर्माणमा लागेको बताउनुभयो ।

साेही कार्यक्रमकाे समापन मञ्तव्य सहित बाेल्दै एसाेसिएसनका अध्यक्ष चन्द्र श्याम डंगाेलले प्रस्तरकला क्षेत्रमा थुप्रै समस्याहरु रहेकाे र ती समस्याहरुकाे दिगाे समाधानकाे लागि राज्यबाट नीतिगत रुपमा नै पहल हुनुपर्ने बताउनुभयाे । साथै आफूहरु प्रति माया, सद्भाव र विश्वास प्रकट गर्नुहुने सम्पूर्णमा कर्तज्ञता व्यक्त गर्दै निरन्तर सहकार्यकाे आवश्यकता समेत औंल्याउनुभयाे ।

उक्त कार्यक्रममा अन्य वक्ताहरुले समेत धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij