घोराही (दाङ), १० चैत – नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई २४३ रनको लक्ष्य दिएको छ। प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी छ।
आजको खेलमा सुदूरपश्चिमका किरण ठगुन्नाले उत्कृष्ट प्रदर्शन गर्दै शतक पूरा गरे। उनले ९१ बलमा १२ चौका र ४ छक्कासहित ११५ रन जोडे। यससँगै उनले प्रतियोगितामा दोस्रो शतक प्रहार गरेका छन्। यसअघि, फागुन २५ गते गण्डकीविरुद्ध उनले अविजित १२१ रन बनाएर शतक प्रहार गरेका थिए।
सुदूरपश्चिमले ४३.४ ओभरमा सबै विकेट गुमाउँदै २४२ रन बनायो। टिमका लागि टेक बोहराले १६, अर्जुन विकले १५, शेर मल्ल र कप्तान नारायण जोशीले समान १४/१४ तथा सौर्य श्रेष्ठ र निश्चल क्षेत्रीले समान १०/१० रन जोडे।
बलिङतर्फ, कोसी प्रदेशका ज्ञानेन्द्र श्रेष्ठले चार विकेट लिए भने फिर्दोस अन्सारी र कप्तान अङ्कित सुवेदीले दुई/दुई विकेट झारे। दिपेश कँडेल र प्रकाश कार्कीले समान एक/एक विकेट लिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij