काठमाडौँ, २ वैशाख: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकहरूले उठाएका मागलाई सरकारले गम्भीरताका साथ लिएको स्पष्ट पार्नुभएको छ। नेपाल शिक्षक महासङ्घ, सङ्खुवासभाको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटघाटमा मन्त्री खड्काले शिक्षकमाथिका विषयमा सरोकारवाला निकायसँग छलफल गरी आवश्यक कदम चालिने जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “शिक्षा प्रणाली सुधार गर्न शिक्षकमाझबाट प्राप्त सुझाव र सल्लाह महत्वपूर्ण छन्। म शिक्षामन्त्री तथा मन्त्रिपरिषद्सँग यस विषयमा गम्भीर छलफल गर्नेछु।”
मन्त्री खड्काले अहिलेका लागि विभिन्न कानुन र ऐन निर्माणको प्रक्रिया चलिरहेको उल्लेख गर्दै समयअनुसारका सुधारका लागि सरकार अग्रसर रहेको बताउनुभयो।
यस क्रममा महासङ्घका अध्यक्ष शेरबहादुर पुरीले शिक्षकका २४ बुँदे मागहरू प्रस्तुत गर्दै तत्काल पहलको माग गर्नुभयो। त्यस्तै, सङ्घका सङ्घीय प्रतिनिधि दिव्यराज अधिकारीले शिक्षकहरूको आन्दोलनलाई केवल पेशागत अधिकारका लागि नभइ सम्पूर्ण शिक्षा क्षेत्रको रूपान्तरणका लागि भएको भन्दै यसलाई शैक्षिक आन्दोलनको रूपमा लिन आग्रह गर्नुभयो।
शिक्षकहरूले राखेका प्रमुख मागहरूमा विद्यालयमा कर्मचारी दरबन्दीको स्थायीत्व, बालविकास कक्षालाई विद्यालय शिक्षामा समावेश गर्नु, शिक्षक बढुवाको नियमितता, आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउने अधिकार, ग्रेड वृद्धिको व्यवस्था, र सेवा प्रवेशको अधिकतम उमेर ४० वर्ष निर्धारण गर्नु पर्ने जस्ता मुद्दाहरू रहेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij