२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

समृद्ध, सशक्त र आत्मनिर्भर नगरको दिशामा रेसुङ्गा नगरपालिका

समृद्ध, सशक्त र आत्मनिर्भर नगरको दिशामा रेसुङ्गा नगरपालिका

सेवा भाव, पारदर्शिता र जिम्मेवारी सहित खटिएका छौं

  • बुधबार, कार्तिक १९ २०८२
  • खिलध्वज पन्थी, नगरप्रमुख, तम्घास नगरपालिका (गुल्मी)

नेपालमा संघीय संरचना लागू भएको लगभग एक दशक पुग्दैछ । यस अवधिमा स्थानीय तहहरू देशको प्रशासनिक केन्द्रका रूपमा मात्रै होइन, जनजीवनका समस्या र समाधानका मूल थलोका रूपमा स्थापित भएका छन् । तर अपेक्षाअनुसारको नतिजा नआएको गुनासो सेवाग्राहीमा सुनिने गरिँदै आइएको छ । यसै सन्दर्भमा नगरपालिकाको सेवाप्रवाह र पालिकाका प्राथमिकता लगायत विषयवस्तुमा केन्द्रित रहेर गुल्मीको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीसँग कुराकानी गरी यो सामाग्री तयार पारिएको छ । 
नगरप्रमुख पन्थीका अनुसार स्थानीय शासनको मूल उद्देश्य र आधार नै सेवा हो । रेसुङ्गा नगरपालिकाले यही भावनालाई केन्द्रमा राखी निरन्तर काम गर्दै आएको छ । ‘हामी नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने सेवा–प्रवाहलाई सहज, पारदर्शी र जनमुखी बनाउने प्रयत्नमा छौँ । हामीले सेवा दिन नसकेको होइन— वास्तवमा हामी निरन्तर काम गर्दैछौँ र परिणाम क्रमशः जनजीवनमा देखिँदै गएको छ’ पन्थीले भन्नुभयो ।

स्थानीय तहबाट प्रयाप्त काम भएका छन्
यस रेसुङ्गा नगरपालिकाभित्र सडक सञ्जाल बिस्तार, खानेपानी व्यवस्थापन, विद्यालय सुधार, स्वास्थ्य सेवाको प्रभावकारी पहुँच र सरसफाइमा निरन्तर सुधार भइरहेको छ । अहिले नगरका अधिकांश सेवाहरू नागरिकले वडा कार्यालयबाटै पाउने अवस्था बनेको छ ।

सामाजिक उत्तरदायित्व र सहजीकरणका कार्यक्रम

हामीले भौतिक विकाससँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि ठोस काम गरेका छौँ । अशक्त, विपन्न र बिरामी नागरिकका लागि लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका छौं । जसले गर्दा नागरिकहरुको जीवनस्तरमा सुधार भएको छ । नगरपालिकाले स्थानीय स्रोत र सहकार्यमा आधारित ‘मानव–केन्द्रित सेवा प्रणाली’लाई निरन्तरता दिएका छौं । त्यससँगै महिला, बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरू मार्फत समावेशी विकासलाई प्राथमिकतामा राखेका छौं ।

स्वदेशमा रोजगारी सृजना गर्नुपर्नेमा प्रतिबद्ध छौं
हामी बुझ्छौँ — रोजगारी र उत्पादन नै समृद्धिका आधार हुन् । रेसुङ्गामा युवालाई स्वदेशमै रोक्ने प्रयास अन्तर्गत स्थानीय उद्यम विकास, कृषि उत्पादन र साना व्यवसायलाई प्रोत्साहनमूलक कार्यक्रमहरू हामीले सञ्चालन गर्दै आएका छौं । यसका लागि हामीले निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण सिर्जना गर्ने नीति अङ्गिकार गरेका छौँ । हामी विश्वास गर्छौँ — स्थानीय स्तरमै अवसर सिर्जना गर्न सके देशभरका युवाले भविष्य यहीँ खोज्न थाल्नेछन् । यही मान्यता सहित हामीले स्वरोजगारमूलक व्यवसाय मार्फत उद्यमशिलता प्रवद्र्धनका लागि काम गरिरहेका छौं । यसअन्तरगत नगरपालिका आफैं र अन्य संस्था समेतको सहकार्यमा नेपालमा नै सीपमा आधारित रोजगारी सृजना गर्ने, महिला लक्षित उद्यमहरु विकास गर्ने, वित्तीय व्यवस्थापन र सचेतना जागरणका लागि वित्तीय साक्षरता कार्यक्रमलाई प्रवद्र्धन गर्ने लगायत गतिविधिहरु गरिरहेका छौं ।

प्रविधिको उपयोग र पारदर्शिता
सेवाग्राहीले सहज रूपमा सूचना र सेवा पाउन सकून् भन्ने उद्देश्यले हामीले प्रशासनिक कार्यलाई क्रमशः डिजिटलीकरण गर्दै लगेका छौँ । जसबाट सेवाप्रवाहमा सहजता हुनुका अलावा पारदर्शी र लागत घटाउनको लागि निकै प्रभावकारी हुने स्थिति सृजना हुँदै गएको छ । यसले नगर प्रशासनलाई गतिशील, जवाफदेही र प्रभावकारी बनाएको छ भन्ने हाम्रो बुझाई छ ।

निष्पक्ष नेतृत्व र निरन्तरता नै हाम्रो प्रतिबद्धता
हामी नगरको नेतृत्वमा निष्पक्षता, समान दृष्टि र पारदर्शिता कायम राख्नुपर्नेमा दृढ छौँ । जनताको विश्वास हाम्रो सबैभन्दा ठूलो पूँजी हो । हाम्रो विश्वास छ—जब सेवा हृदयबाट आउँछ, त्यसको प्रभाव नागरिकको अनुहारमा मुस्कानका रूपमा प्रकट हुन्छ । यही मान्यता सहित जनताको भावनालाई सम्बोधन गर्न प्रयत्न गरिरहेका छौं ।

यसो हुँदाहुँदै पनि नागरिकका अपेक्षाहरु धेरै छन् । हामीले धेरै गर्नुपर्नेछ । हामीसँग श्रोत र साधनको उपलब्धता न्यून छ । जसले गर्दा हामीले चाहेबमोजिमका कार्यक्रमहरुलाई तीव्र रुपमा सञ्चालन गर्न कठिन भएको छ ।

जेन–जेड आन्दोलनको सन्देश
अहिलेका नयाँ पुस्ताका युवा व्यावहारिक, तर्कशील र नतिजामुखी छन् । उनीहरु सहज किसिमले सेवा पाउनुपर्छ भन्ने मान्यता राख्छन् । जुन स्वभाविक हो । तथापि हाम्रो प्रणाली नै प्रक्रियामुखी छ । अहिले प्रविधिको विकासले फड्को मारिरहेको समयमा हामीले सेवालाई तीव्र रुपमा सञ्चालन गर्नका लागि प्रविधिको सहयोगमा सहज तवरले सेवा प्रवाह गर्न सकिने अवस्था बन्दै गएको छ । प्रक्रियागत झण्झटमा नै लामो समय रुमल्लिनुपर्ने बाध्यताबाट मुक्त हुन र प्रभावकारी तवरले सेवाप्रवाहलाई तीव्रता दिनका लागि हामी अझ प्रतिबद्ध रहनेछौं । हामी बुझ्छौं, जेन–जेड युवाहरुको आन्दोलनले दिएको सन्देश भनेको केवल वाचामा सीमित नभई काममार्फत प्रमाणित गर्नुप¥यो भन्ने हो, सोही बमोजिम हामी निरन्तर रुपमा नीति र निर्णय प्रक्रियालाई प्रभावकारी बनाउँदै जनजीवनलाई थप प्रभावकारी रुपमा लाभान्वित बनाउनका लागि निरन्तर प्रयत्नशिल रहनेछौं ।

अन्तिम सन्देश
हामी मान्छौँ — सेवा भनेको केवल दायित्व होइन, त्यो त समर्पण हो । यही मान्यता सहित रेसुङ्गा नगरपालिकाले प्रत्येक कर्मचारी, जनप्रतिनिधि र सहकर्मी सबैलाई जिम्मेवार बनाउँदै यही सोचका साथ काम गरिरहेका छौं । किनकि हामी नागरिकको सुख र मुस्कानलाई नै हाम्रो उपलब्धिको मापदण्ड ठान्छौँ । यही भावना र विश्वासका साथ हामी रेसुङ्गा नगरपालिकालाई अझ समृद्ध, सशक्त र आत्मनिर्भर नगरका रूपमा रूपान्तरण गर्न निरन्तर लागिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij