२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

सङ्घर्षशिल पर्यटन उद्यमीको सङ्घर्ष कथा

सङ्घर्षशिल पर्यटन उद्यमीको सङ्घर्ष कथा

गोपाल श्रेष्ठ- पर्यटन व्यवसायी

बाल्यावस्था निकै नै गाह्रोसँग गुजारेका गोपाल श्रेष्ठ अहिले सफल पर्यटन व्यवसायीको रुपमा परिचित छन् । बुबाआमा कृषि व्यवसायमा नै हुनुहुन्थ्यो । यद्यपि आफू त्यस क्षेत्रबाट माथि उठेर आफ्नो अवस्थालाई माथि उठाउन सक्नुपर्छ भन्ने मान्यता बमोजिम आफ्नै व्यवसायमा उनी संलग्न भएका हुन्।

धादिङबाट काठमाडौं उच्च शिक्षाको लागि प्रवेश गरेका उनले केही समय न्यूरोडमा काम गरे । त्यसपछि उनी ठमेलको मामाको पसलमा रहेर काम गरे । त्यसै क्रममा उनलाई ठमेलमा रहेर व्यवसायमा संलग्न रहने क्रममा पर्यटकहरुसँग उनको आकर्षण बढ्यो । हुनतः बाल्यकालदेखि नै उनी पर्यटकहरुलाई देख्दा रोमाञ्चित हुने गर्थे । आफू जन्मेहुर्केको धादिङको आफ्नो गंगाजमुना गाउँपालिका पहिले देखि नै पर्यटकहरुको राम्रो आवागमन हुने क्षेत्रको रुपमा परिचित थियो । यद्यपि उनलाई काठमाडौंको ठमेलको बसाईंले पर्यटकहरुसँग अझ नजिकको सम्बन्ध स्थापना हुने मौका प्राप्त भयो । आफू सानो हुँदा नै विदेशी पर्यटकहरु सरर अङ्ग्रेजीमा कुरा गरेको देख्दा रमाइलो मान्ने उनी काठमाडौंमा रहँदा कसरी पर्यटकहरुसँग नजिकिएर काम गर्न सकिन्छ भन्ने बारे पनि ज्ञान पाए । उनले काठमाडौंमा रहँदा पर्यटकहरुसँग सँगै हिँडेका नेपाली पर्यटकलाई सहयोग गर्ने उद्धेश्यले गाइडको रुपमा काम गरिरहेका रहेछन् भन्ने जानकारी पाए । सोही बमोजिम उनी पनि पर्यटकहरुकै समीपमा रहेर काम गर्ने निधो गरेर पर्यटन क्षेत्र अन्तरगत गाइड असिस्टेन्टको भूमिकाबाट पर्यटन व्यवसायमा जोडिए । त्यस पश्चात् उनी गाइड हुँदै आफु संलग्न रहेको ट्राभल एजेन्सीमा म्यानेजरको भूमिका समेत निर्वाह गरे । त्यस बेला सम्म उनी आफूलाई पनि आफैं पर्यटकहरु सम्बन्धी काम गर्ने ट्राभल एजेन्सी सञ्चालन गर्नुपर्छ भन्ने भावना जागिसकेको थियो ।

पर्यटकहरुले पनि यसमा थप उक्साए । यद्यपि उनी कसरी आफैं व्यवसाय सञ्चालन गर्न सक्छु भन्नेमा केही उपाय निस्किएको थिएन । आफ्नो घरको अवस्था पनि उनलाई राम्ररी थाहा थियो । घरबाट पैसा लिएर व्यवसायमा संलग्न हुने अवस्था थिएन । त्यसै क्रममा ठमेलमा घर भएका एक जना व्यक्तिसँग उनको सम्पर्क भयो । आफु ट्राभल एजेन्सी सञ्चालनमा इच्छुक भएको कारण आफूलाई ऊहाँको घरमा रहेको खालि ठाउँ उपलब्ध गराउन आग्रह गरे । पहिले त फोनमा कुरा भएको थियो । कुरा सकारात्मक नै थियो । केही समय पछि प्रत्यक्ष भेट भयो । भेट हुँदा ती घरबेटीले उनी त्यही व्यक्ति भएको कुरा पत्याउनै सकेनन् । भर्खर २२-२३ बर्षको व्यक्तिले कसरी आफैं ट्राभल एजेन्सी सञ्चालन गर्न सक्ला ? भन्नेमा आशङ्का हुनु स्वभाविक नै हुन सक्छ । यद्यपि ती घरबेटीले अन्नतः आफुसँग भएको स्पेस उपलब्ध गराए । त्यस पश्चात् शुरु भएको गोपालको व्यावसायिक यात्रा अहिले १० बर्ष पार गरिसकेको छ ।

टानमा प्रवेश 

पर्यटन क्षेत्रमा संलग्न रहने क्रममा उनले पनि टानको सदस्यता लिए । यद्यपि शुरुका दिनमा त उनलाई टानको महत्व बारे त्यति जानकारी थिएन । यद्यपि विस्तारै उनले टानले ट्रेकिङ व्यवसायीहरुको हकहितको लागि काम गर्ने थाहा पाए । बुझ्दै जाँदा टानले पर्यटन प्रवद्र्धनको क्षेत्रमा पनि प्रयाप्त काम गर्न सक्ने सम्भावना रहेको समेत बुझे । तर सोही बमोजिम टानबाट काम हुन नसकेको देखेपछि उनी आफैं पनि टानलाई अझ नजिकबाट बुझ्दै उक्त संस्थाको सक्रिय भूमिकामा आएर पर्यटन व्यवसायीहरुको हकहितको लागि केही गर्नुपर्छ भन्ने भाव पैदा भयो ।

नेपालमा अहिले पनि पर्यटन व्यवसाय सिजनल छ । जसले गर्दा सिजनमा काम गरेर अफसिजनमा भने निष्क्रिय रहनुपर्ने अवस्था छ । नेपालमा यसलाई किन सदावहार बनाउन सकिँदैन भन्ने सम्बन्धमा पनि उनलाई जिज्ञासा भयो । यस कार्यमा टानले कुनै भूमिका खेल्न सक्छ कि ? भन्ने बारे पनि सोचे । सोही बमोजिम टानको संरचना कस्तो छ र यसले कसरी भूमिका निर्वाह गरिरहेको छ भन्ने बारे जागरुक भइरहँदा पनि सक्रिय तवरले काम हुन नसकेको देखेको कारण पहिलो पटक सन् २०१७ मा कार्यसमिति सदस्यको रुपमा निर्वाचनमा भाग लिए । व्यवसायीहरुको समर्थनमा उनी निर्वाचित भए । त्यसपश्चात् उनले टान भित्र सहभागि भएपश्चात् टानलाई सक्रिय र सशक्त बनाउनको लागि थप पहल गरे । संस्थालाई व्यवस्थित बनाउने कार्यमा उनी लगायतका पर्यटन व्यवसायीहरुको महत्वपूर्ण भूमिका रह्यो । यस कार्यकालमा अन्य युवा पर्यटन व्यवसायीहरुो समेत संस्थालाई व्यवस्थित गर्दै लैजानुपर्ने बारे चासो भएको कारण परिणाम तुलनात्मक रुपमा सकारात्मक हुँदै गएको पाइयो । आफू टानको अलावा पर्यटन व्यवसायमा संलग्न रहेर काम गर्ने क्रममा अहिले उनले नेपालमा नै रहेर काम गर्ने चाहना हुने हो भने नेपालमा नै पनि केही गरेर आफ्नो अवस्थालाई सवल बनाउन र केही व्यक्तिहरुलाई रोजगारी सृजना गर्न सकिँदोरहेछ भन्ने कुरा पनि सिके ।

नेपालमा अहिले सन् २०२० लाई पर्यटन बर्षको रुपमा मनाउन गइरहेको अहिलेको अवस्था हो । यद्यपि यसको तयारी खासै हुन भने सकेन । नेपालमा कृषि पश्चात् प्रत्यक्ष रोजगारी सृजना गर्ने र आर्थिह अवस्था माथि उठाउने महत्वपुर्ण क्षेत्र पर्यटन पनि हो । यस बर्ष पर्यटन बर्षलाई सफल बनाउन राज्यले जुन पहल गरेको छ, त्यसलाई हामीले निकै सकारात्मक रुपमा लिएका छौं । पर्यटन व्यवसायीहरुले विगत देखि नै पर्यटन प्रवद्र्धनको लागि पहल नगरेको भनेर भन्दै आएकोमा अहिले व्यवसायीहरु निकै नै उत्साहित छन् ।

नेपालमा नै रहँदा जे सिके 
अहिले अधिकांश नेपाली युवाहरु रोजगारीको लागि विदेशिइरहेको अहिलेको परिप्रेक्ष्यमा धेरैलाई थाहा नहुन सक्छ कि नेपालमा नै रहेर पनि आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ । यसको लागि आफूले आफूलाई कसरी उभ्याउने भन्ने बारे धेरै मानिसहरु जानकार छैनन् ।

यसरी चुँडियो वैदेशिक रोजगारको सपना
गोपाल पनि आम नेपालीकै प्रतिनिधि पात्र हुन् । उनको पनि पारिवारिक अवस्था कमजोर थियो । नेपालमा आर्थिक अवस्था बलियो बनाउन सकिनेबारे उनलाई पनि जानकारी थिएन । त्यसमाथि परिवारको जेठो छोरा भएको र आफ्ना ४ जना भाइबहिनीलाई हुर्काउनुपर्ने, जसले गर्दा पारिवारिक जिम्मेवारी पनि वहन गर्नुपर्ने थियो । घरको आर्थिक अवस्थालाई सवल बनाउनुपर्ने थियो । यसको लागि घरपरिवारले गोपाललाई रोजगारीको लागि मलेसिया जानको लागि मलेसिया पठाउने योजना बमोजिम राहदानी पनि बनाए । तर इराकमा भएको ८ जना नेपाली व्यक्तिहरुको मृत्युको कारण नेपालका म्यानपावरहरुप्रति नकारात्मक सन्देश प्रवाह हुनगयो । नेपालका थुप्रै म्यानपावरहरु ध्वस्त गराइयो । सोही समयमा उनले पनि वैदेशिक रोजगारीको लागि अप्लाई गरेको राहदानी ध्वस्त भयो । त्यसपश्चात् भने उनको वैदेशिक रोजगारीको सपना पनि चकनाचुर भयो । सोहीबमोजिम उनी नेपालमा नै रोजगारी गर्नुपर्छ भन्ने मान्यतामा मोडिएका हुन् । नेपालमा नै व्यवसायमा संलग्न हुनुपर्छ भन्ने मान्यता बमोजिम अघी बढेका उनी अहिले एक स्थापित पर्यटन व्यवसायी बन्न सफल भएका छन् । आफू संलग्न रहेको क्षेत्रमा निरन्तरता दिएको खण्डमा अवश्य पनि सफल हुन सकिँदो रहेछ भन्ने कुरा उनको अनुभवले बताएको छ ।

ग्रामीण तत्कालिन परिस्थितिमा उनको घरको अवस्थालाई पनि तुलनात्मक रुपमा राम्रो मानिन्थ्यो । यद्यपि उनी आर्थिक अवस्थामा कमजोर थिए । उनले सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा आफ्नी आमाबाट सिकेका हुन् । बुबाआमाको जीवन निकै नै सङ्घर्षपूर्ण थियो । एकजनाबाट २ सय सापटी लिएर खर्च चलाउने उहाँहरुले उक्त रकम तिर्न अर्को व्यक्तिबाट सापटी लिनुपर्ने अवस्था थियो । यद्यपि ऊहाँहरु कहिल्यै हतोत्साहित हुनुभएन, धैर्यता गुमाउनुभएन । त्यो कुराको अनुभव मैले पनि गर्न पाएँ । अहिले म मेरो व्यवसायमा सफल हुनुमा उहाँहरुबाट सिकेको यो पक्षले निकै नै सघाउ पुर्यायो ।

पैसाको महत्व 
अहिले पनि ग्रामीण क्षेत्रहरुमा परिवारमा दिनहुँजसो झै–झगडा भइरहेको देख्न सकिन्छ । यसो हुनुको एउटा कारण आर्थिक अभाव पनि रहेछ । यो कुराको अनुभव मैले पनि गरेको छु । त्यसकारण हरेक व्यक्ति आर्थिक रुपमा सक्षम हुनु निकै महत्वपूर्ण हुँदोरहेछ भन्ने बुझेकै कारण म विभिन्न बाधाव्यवधानका वावजुद अघी बढ्न निरन्तर प्रेरित भइरहेँ ।

व्यवसायीहरुको साथ 
मलाई पर्यटन क्षेत्रमा संलग्न रहने क्रममा मेरा अग्रजहरु राजेन्द्र सापकोटा, नवराज दाहालहरुको पनि ठूलो सहयोग प्राप्त भएको छ । जसले गर्दा अहिले म यस अवस्थामा आउन सकेको छु । पर्यटन क्षेत्र अन्तरगत रहँदा धेरैपटक विभिन्न कठिन समस्याहरु सामना गरेको छु । अहिले पर्यटन क्षेत्रमा स्थापित अधिकांश व्यक्तिहरु कमजोर पृष्ठभूमिबाट नै अघी बढेका हुन् ।

पर्यटनमा सम्भावना 
नेपालमा पर्यटन क्षेत्रलाई विश्व जगतमा चिनाउनको लागि मेरो भूमिका निकै नै मत्वपुर्ण हुन सकोस् भन्ने मेरो आकाङ्क्षा छ । विदेशिने युवाहरुलाई पनि नेपालमा नै रहेका सम्भावनाहरुबारे जागरुक बनाउने मेरो योजना छ । पर्यटन क्षेत्रलाई अझ विस्तार एवं व्यवस्थित गर्दै लैजाने योजनामा मेरो भूमिकाले केही योगदान दिन सकोस् ।

अन्त्यमा,
नेपालमा अहिले सन् २०२० लाई पर्यटन बर्षको रुपमा मनाउन गइरहेको अहिलेको अवस्था हो । यद्यपि यसको तयारी खासै हुन भने सकेन । नेपालमा कृषि पश्चात् प्रत्यक्ष रोजगारी सृजना गर्ने र आर्थिह अवस्था माथि उठाउने महत्वपुर्ण क्षेत्र पर्यटन पनि हो । यस बर्ष पर्यटन बर्षलाई सफल बनाउन राज्यले जुन पहल गरेको छ, त्यसलाई हामीले निकै सकारात्मक रुपमा लिएका छौं । पर्यटन व्यवसायीहरुले विगत देखि नै पर्यटन प्रवद्र्धनको लागि पहल नगरेको भनेर भन्दै आएकोमा अहिले व्यवसायीहरु निकै नै उत्साहित छन् । २०२० मा आयोजना हुने भ्रमण बर्षले त्यस भन्दा पछि पनि नेपालमा पर्यटकहरुलाई आकर्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यस अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नु जरुरी रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij