
काठमाडौँ – पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको ओज र गरिमा घटेको बताएका छन्।
मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख सापकोटाले संघीय संसदको ओज र गरिमा घटेको बताएका हुन्।
उनले संसदमा चयन हुने शब्द र वाक्यहरु संसदको ओझ र गरिमा अनुसार हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए। उनले संसदमा बोलेको कुराहरुको अदालतमा मुद्दासमेत नलाग्ने विशेषाधिकार भए पनि संसदको त्यो प्रकारको गाम्भीयर्ता कायम हुन नसकेको उल्लेख गरे।
उनले सुशासनको शक्तिशाली सन्देश संसदबाटै प्रवाह हुनुपर्नेमा जोड दिए। उनले संसदको गरिमा कायम नहुनुमा आफूले संसदको नेतृत्व र सांसदहरुलाई भने दोष नदिने स्पष्ट पारे।
उनले विचारको रिक्तता र शून्यताका कारण संसदको लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न नसकिएको बताए। विचारको शून्यताको कारण संसदको मात्र नभइ पार्टीहरु र सिंगो राष्ट्रकै लोकतन्त्रिक अभ्यास कमजोर भएको उनको भनाइ छ।
उनले भने, ‘अहिले विचारको शून्यता छ। विचारको रिक्तता छ। त्यसै भएर जताजतै अराजकता छ। संसदको दिन प्रतिदिन, क्षण प्रतिक्षण स्तर घटिरहेको छ। हरेका कोर्षमा स्तर घटिरहेको छ त्यो संसदको। संसद त हाम्रो धमनी हो नि। हाम्रो आत्मा हो नि। सुशासनको शक्तिशाली सन्देश त्यहीँबाट प्रवाह हुनुपर्ने हो नि। संसद आफैँमा सार्वभौम सत्ता सम्पन्न हो। संघीय संसद कति माथि छ? त्यहाँ त्यही ओज र गरिमा कायम छ? छैन।’
पूर्वसभामुख सापकोटाले संविधानका तीन आधार स्तम्भहरु संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई भत्काउने साजिस भइरहेको बताए। उनले त्यसप्रकारको साजिसका विरुद्धमा अभियान छेड्नुपर्ने उल्लेख गरे।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij