काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले शुक्रबार जारी गरेको शुभकामना सन्देशमा अन्तरराष्ट्रिय श्रमिक दिवस (१ मे) २०२० को यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै सम्पूर्ण श्रमजीवीको श्रम अधिकार सुनिश्चितताका लागि शुभकामना व्यक्त गरिएको छ ।
शुभकामना सन्देशमा उनले मुलुकमा पूर्णलोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पुर्याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान समेत गरेकी छन् ।
“श्रमिकहरूको हकअधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखमा विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’ मनाउने गरिन्छ”, सन्देशमा भनिएको छ, “यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा मैले लिएको छु ।”
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij