झापा, १९ चैत – झापाको शिवसताक्षी नगरपालिका–१० स्थित वडा कार्यालय, प्रहरी चौकी, कभर्ड हल र फुटबल मैदान रहेको सरकारी जग्गा भूमाफियाले आफ्नो नाममा पास गराएपछि स्थानीय जनप्रतिनिधि र राजनीतिक दल उक्त सम्पत्तिको संरक्षणका लागि जुटेका छन्।
झन्डै पाँच दशकदेखि कनकाई सिँचाइ आयोजना मातहत रहेको ११ बिगाहा सात कट्ठा क्षेत्रफलको सरकारी जग्गामध्ये कित्ता नं. १८२ अन्तर्गतको चार बिगाहा भूमिमा विभिन्न सार्वजनिक संरचनाहरू रहेका छन्। वडाध्यक्ष हर्क सिगुका अनुसार, विसं २०४६ जेठ २९ गते भूपाल किरातीको नेतृत्वमा गठन भएको सुकुम्बासी समस्या समाधान आयोगमार्फत दमक वडा नं. ५ का केशरबहादुर खड्काले मिलेमतो गरी सो जग्गा आफ्नो नाममा पास गराएका थिए।
सरकारी स्वामित्वको भए पनि खड्काले उक्त जग्गा कहिल्यै भोगचलन गरेका थिएनन्। पछि, उनले विसं २०४७ असोज १ गते लोकमाया खतिवडा, वेदकुमारी बस्नेत र नइद्रप्रसाद भण्डारीलाई उक्त जग्गा बिक्री गरेका थिए। तर, ती व्यक्तिहरूले अहिलेसम्म पनि उक्त भूमि उपयोग नगरेको वडाध्यक्ष सिगुले बताएका छन्। स्थिति गम्भीर बनेपछि नगरपालिकाले हाल सो जग्गाको कारोबार रोक्का गरिसकेको छ।
वडाध्यक्ष सिगुका अनुसार, हाल भूमाफियाहरू जग्गा फुकुवा गरिदिन आग्रह गर्दै मालपोत कार्यालयमा पुगेको खबर प्राप्त भएको छ। उनले भने, “सरकारी जग्गा फिर्ता ल्याउन हामी जनप्रतिनिधि र सबै राजनीतिक दल एकमत छौँ। भूमाफियाको चलखेललाई सफल हुन दिँदैनौँ।”
पूर्वनगरप्रमुख चन्द्रकुमार शर्माले विसं २०४६ को राजनीतिक अस्थिरताको समयमा केही कर्मचारीहरूसँग मिलेर भूमाफियाले धनीपूर्जा बनाएको खुलासा गरेका छन्। उनले आफ्नो कार्यकालमा सो जग्गा पुनः सरकारी स्वामित्वमा फर्काउन पहल गरिएको बताए।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि पर्शुराम ढुङ्गानाले सरकारी जग्गा कब्जामुक्त गर्न सबै स्थानीय दलहरू एकताबद्ध रहेको बताए। उनले प्रदेश र सङ्घीय सरकारको ध्यान समेत यस विषयमा आकर्षित गरिनुपर्ने आवश्यकता औँल्याए।
यसैबीच, जग्गा फुकुवा गराउने प्रयासमा केही बिचौलिया सक्रिय रहेको वडा सदस्य दीपक पोखरेलले जानकारी दिए। उनले भने, “जसले जग्गाको स्वामित्व दाबी गरिरहेका छन्, ती व्यक्ति यहाँका बासिन्दा नै होइनन्। न त उनीहरूलाई जग्गाको सीमाना थाहा छ, न भोगाधिकार। बिचौलियाहरू यो प्रक्रियाबाट मुनाफा लिने ध्येयमा छन्।”
स्थानिय जनप्रतिनिधि र राजनीतिक दलको दृढ अडानका कारण सरकारी सम्पत्तिलाई भूमाफियाको हातमा जान नदिन पहल तीव्र पारिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij