२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

शिक्षकहरूको शान्तिपूर्ण आन्दोलन जारी

शिक्षकहरूको शान्तिपूर्ण आन्दोलन जारी

काठमाडौं, चैत २४ : नेपाल शिक्षक महासङ्घले आफ्ना विभिन्न मागहरू प्रस्तुत गर्दै सुरु गरेको शान्तिपूर्ण आन्दोलन आज पनि निरन्तर रहेको छ। शिक्षकहरू आज बबरमहलदेखि बानेश्वरसम्मको सडक क्षेत्रमा भेला भई सिठ्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले सरकारको ध्यान आकर्षित गर्ने प्रयासमा छन्।

उनीहरूले गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र विद्यार्थी तथा शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन तुरुन्तै ल्याइनुपर्ने माग गरिरहेका छन्। महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, विद्यालय शिक्षा ऐन जारी नहुञ्जेलसम्म आन्दोलन नरोकिने स्पष्ट गरिएको छ।

महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै सबै शिक्षकहरूलाई उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा सहभागी नहुन अनुरोध गरेको छ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशेष कक्षमा पत्रकार सम्मेलन गर्दै शिक्षकमाथि सरकारको विश्वास रहेको र शिक्षकहरू पनि सरकारप्रति विश्वासका साथ प्रदर्शनमा उत्रिएको बताउनुभएको छ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “उहाँहरू सरकारविरोधी होइनन्, न हामी उहाँहरूका विपक्षमा छौं। हामी सबै एउटै लक्ष्यमा छौं। छलफल र संवादमार्फत समस्याको समाधान गर्न सकिन्छ। सरकार नकारात्मक सोच राख्दैन, किन राख्नु?” उहाँले समाधानको बाटो वार्तामार्फत खोज्नुपर्नेमा जोड दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij