काठमाडौँ, ३ बैशाखः शिक्षकहरूकाे माग सम्बोधन गर्न वैशाख १२ गते संसद्को अधिवेशन आह्वान गरेकाे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भिडियो सन्देश मार्फत जानकारी दिनुभएकाे छ । मन्त्री भट्टराईले आन्दोलनरत शिक्षकहरूलाई माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । माग सम्बोधन गर्न अधिवेशन आह्वान गरेको जनाउँदै सरकारले आन्दोलनका कार्यक्रम स्थगित गर्न भनेको थियो । तर, शिक्षकहरूले आन्दोलन भने नरोक्ने जनाएका छन् ।
शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएपछि शिक्षामन्त्री भट्टराईले भिडियो सन्देशमार्फत शिक्षकहरूका मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।
‘१५ दिनदेखि शिक्षकहरू सडकमा हुनुहुन्छ । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकहरूका मागलाई सम्बोधन गर्नेगरी केही निर्णयहरू गरेको छ । शिक्षकहरूले निरन्तर रूपमा भन्दै आउनुभएको विद्यालय शिक्षा विधेयक–२०८० संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा निरन्तर छलफलमा रहिरहेको छ । यो विधेयकलाई छिटोभन्दा छिटो पारित गरियोस् भन्ने उहाँहरूको मागलाई सम्बोधन गर्दै मन्त्रिपरिषद् बैठकले वैशाख १२ बजे १ बजे त्यही विषयलाई समेत सम्बोधन हुनेगरी संसद्को बर्खे अधिवेशन आह्वान गरेको छ,’ उनले भनिन् ।
‘शिक्षकहरूसँग हामी निरन्तर संवादमा छौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट सहजीकरण समिति निर्माण गरेर उहाँहरूसँग संवाद गर्नका लागि वातावरण बनोस् भनेर त्यही कार्यमा छौँ ।’ उनले भनेकी छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij