२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

शारदा मा.विकाे ५०औँ स्वर्णमहोत्सव जारी

शारदा मा.विकाे ५०औँ स्वर्णमहोत्सव जारी

 

दोलखा, १९ चैतः दोलखा जिल्लाको बिगु गाउँपालिका–३ बुलुङमा रहेको शारदा माध्यमिक विद्यालयले ५०औँ स्थापनाकाे दिवस तथा स्वर्णमहोत्सव मनाएको छ । ‘पचासौँ वर्षको गौरवशाली यात्रा, शिक्षा र समृद्धिका लागि हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित विद्यालयले  सोमबार भव्य समारोह आयोजना गरी स्वर्णमहोत्सव उद्घाटन गरेको हाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ तामाङको सभापतित्व र बिगु गाउँपालिकाका प्रमुख सञ्जीव ओलीको प्रमुख आतिथ्यतामा आयोजित समारोहका बीच अध्यक्ष ओलीसहित विद्यालयका प्रधानाध्यापक कुमार श्रेष्ठ, बुलुङका वडाध्यक्ष ढालबहादुर तामाङ र राजनीतिक तथा समाजसेवी व्यक्तित्व ओमकृष्ण आचार्यलगायतले संयुक्त रूपमा स्वर्णमहोत्सव उद्घाटन गरेका हुन् ।

विद्यालयले बुलुङ वडाभित्रका कक्षा १ देखि ३ सम्मका बालबालिकाहरूको नृत्य प्रतियोगिता तथा विभिन्न सांस्कृति प्रस्तुतिहरू सहित हिजो उद्घाटन गरेको स्वर्णमहोत्सव समारोह तीन दिनसम्म जारी रहने स्वर्ण महोत्सव समारोह मुल आयोजक समितिका संयोजक बालकृष्ण मल्लले जानकारी दिए । उनका अनुसार महोत्सवको दोस्रो दिन आज बिगु गाउँपालिकास्तरीय माध्यमिक विद्यालय (कक्षा १०) विज्ञान विषयमा आधारित हाजिरीजवाफ प्रतियोगिता र विद्यालयभित्रका विद्यार्थीहरूबीच चित्रकला प्रतियोगिता आयोजना भइरहेको छ ।

यस्तै, तेस्रो दिन अर्थात् भोलि स्वर्णमहोत्सव समारोह समापनको कार्यक्रम रहेको छ । समापनअघि महिला अभिभावक म्युजिकल चेयर र पुरुष अभिभावक हाँडी फुटाइ प्रतियोगिता गरिने छ । ती सबै प्रतियोगिता सम्पन्न भएपछि गाउँपालिकाकी उपप्रमुख देविका थामीबाट समारोह समापन गर्ने तयारी रहेको संयोजक मल्लले जानकारी दिए । समापन समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वध्यक्ष, पूर्वप्रधानाध्यापक, संस्थापक, पूर्वशिक्षक, विद्यालय कर्मचारी र सहयोगी व्यक्तिहरूलाई सम्मान तथा प्रतियोगितामा विजयीहरूलाई पुरस्कार वितरण गरिने छ ।

व्यवसायी आचार्यद्वारा छात्रवृत्ति कोष स्थापना

स्वर्ण महोत्सवको अवसरमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य समेत रहेका व्यवसायी ओमकृष्ण आचार्यले एक लाख रुपैयाँको छावृत्ति कोष स्थापना गरेका छन् । विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै शैक्षिक स्तरमा समेत सुधार ल्याउन सकिने उद्देश्यका साथ उनले आफ्नो स्वर्गीय पिता चेत प्रसाद आचार्यको सम्मानमा सो छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।

बुलुङमै जन्मिएर हुर्किएका व्यवसायी आचार्य हाल काठमाडौंलाई कार्यक्षेत्र बनाएर व्यवसाय गर्दै आएका छन् । उनी बिगु गाउँपालिकाको शिक्षा समिति सदस्य समेत हुन् । उनले विद्यालयका प्रधानाध्यापक कुमार श्रेष्ठ र वडाध्यक्ष ढालबहादुर तामाङलाई कोषमा दाखिला गरिने रकम बराबरको चेक हस्तान्तरण गरे । यो रकम आगामी वर्षहरूमा विद्यालयका जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन र सहयोगको रूपमा प्रदान गरिने र त्यसको सम्पूर्ण व्यवस्थापन विद्यालयले गर्ने उनले बताए ।

कोष स्थापनापछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उनले शिक्षा क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिने र आगामी वर्षहरूमा विद्यालयका विद्यार्थीलाई उच्च शिक्षा प्राप्तिमा सहयोग पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे । ‘शिक्षा एक यस्तो औजार हो, जसले व्यक्तिको जीवन परिवर्तन गर्न सक्छ र त्यसैकारण मैले यो कोष स्थापना गरेको हुँ,’ उनले भने, ‘यसबाट विद्यालयका विद्यार्थीहरूले थप अवसर प्राप्त गर्न सक्ने विश्वास मैले लिएको छु ।’ नेकपा एमालेको राजनीतिमा रहेका आचार्य काठमाडौंमा रहेर पनि आफ्नो जन्मभूमि बुलुङ र बिगुको समग्र विकास र हितका निम्ति सक्रिय रहँदै आएका छन् ।

कार्यक्रममा बिगु गाउँपालिका–४ लादुकका अध्यक्ष रामचन्द्र खड्का, गाउँपालिका कार्यालयका शिक्षा शाखा प्रमुख गणेश श्रेष्ठ, गौरीशंकर मावि लामाबगरका प्रधानाध्यापक हिरामणि गौतम, शान्ति आदर्श मावि लादुकका प्रधानाध्यापक सुदीप खड्का, चित्रे मावि लादुकका प्रधानाध्यापक गणेश उप्रेती, देवीटार मावि चिलंखाका प्रधानाध्यापक कृष्ण केसी अतिथिका रूपमा सहभागी थिए ।

यस्तै, बुलुङका पूर्व वडाध्यक्ष श्रीराम खड्का, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दलोन, हलेश्वर मावि गौरीशंकरका प्रधानाध्यापक विक्रम खड्का, सोसीनोर्बु थार्पा गुम्बाका अध्यक्ष रामबहादुर तामाङ, नेपाली शिक्षक महासंघका अध्यक्ष महेश मल्ल, नेकपा एकीकृत समाजवादी बागमती प्रदेश सदस्य पुष्पक केसी, बुलुङकी वडा सदस्य बालकुमारी विक, नेपाल तामाङ घेदुङ संघ बिगुका अध्यक्ष टेकमान तामाङ, बिगु गाउँपालिका शिक्षा शाखाका स्रोतव्यक्ति उपेन्द्र बुढाथोकी, नेकपा एमाले बुलुङका अध्यक्ष कुमार विक, नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चका कोषाध्यक्ष केशव आचार्य, हिमालय बैंक गौरीशंकर शाखा प्रमुख खड्क बहादुर जिरेल र अभिभावक गंगाबहादुर खड्कालगायत अतिथि थिए ।

कार्यक्रममा विद्यालयका पूर्व र वर्तमान विद्यार्थीहरू, शिक्षकहरू तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य सहभागिता थियो । भव्य समारोहको सञ्चालन शिक्षक ईश्वर आचार्यले गरेका थिए । शारदा मावि २०३१ सालमा स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij