दमौली (तनहुँ), ३ वैशाखः व्यास नगरपालिकाको न्यायिक समितिमा हालसम्म ९६ वटा मुद्दा दर्ता भएका छन्, जसमा चालु आर्थिक वर्षका साथै अघिल्लो वर्षबाट सरेका मुद्दा समावेश छन्।
न्यायिक समितिका संयोजक इन्दिरा दरैका अनुसार ती मुद्दाहरूमा फोहरमैला व्यवस्थापन, लेनदेन, घरबहाल, साँधसिमाना विवाद, कुलोपानी, जग्गा सम्बन्धी झगडा तथा महिला हिंसाका घटनाहरू रहेका छन्।
समितिले मुद्दाहरूको समाधानका लागि मेलमिलापलाई प्राथमिकता दिँदै आएको छ। संयोजक दरैले बताउनुभयो, “हामी कानुनी कारबाहीभन्दा आपसी सहमतिमा टुंग्याउने प्रक्रियालाई प्राथमिकता दिन्छौं। मेलमिलापबाट दुबै पक्ष सन्तुष्ट हुने अवस्था आउँछ। जुन मुद्दामा मेलमिलाप सम्भव हुँदैन, ती मात्र अदालतमा पठाउँछौं।”
हालसम्म २३ वटा मुद्दा मेलमिलापमार्फत समाधान गरिएको नगरपालिकाले जनाएको छ। न्यायिक समितिले नागरिकबीचको विवादलाई संवाद र सहमतिको माध्यमबाट समाधान गर्न निरन्तर प्रयास गरिरहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij