
हाम्रो विवाह भएको अहिले २७ बर्ष भयो । विवाह पश्चात् मैले मेरो श्रीमानलाई पारिवारिक झण्झटमा नअल्झाई घरको काम म आफैंले सम्हाल्दै आएकी थिएँ । श्रीमानलाई व्यवसायमा लाग्न स्वतन्त्र वातावरण मिलाइदिएर मैले अदृश्य रुपमा सहयोग गर्दै आएकी थिएँ । विगत ४ बर्ष देखि म आफू पनि प्रत्यक्ष रुपमा उद्योगको व्यवस्थापन पक्षमा संलग्न रहँदै आएकी छु । मेरो माइती परिवार व्यवसायमा संलग्न हुनुहुँदैनथ्यो । त्यसकारण विवाह भन्दा पहिले मैले व्यावसायिक वातावरण बुझ्न पाएकी थिइन । मेरो बुबा प्राध्यापक हुनुहुन्थ्यो । व्यवसायमा रहेर काम गर्न पाउँदा मलाई अलग्गै खुसीको महसुस हुन्छ । काम गर्दै जाने क्रममा सिक्न जागरुक बनेको खण्डमा ढिलोछिटो कामका तौरतरिकाहरु सिक्न सकिँदोरहेछ ।
म यही व्यवसायकै सिलसिलामा चीन, स्पेन, पोर्चुगल, युरोप र खाडी मुलुक लगायतका विश्वका विभिन्न क्षेत्रमा भ्रमणको अवसर पाएकी छु । मेरो श्रीमानको सहयोगको कारण अहिले म खुसी छु । हाम्रो व्यवसाय पनि सफल छ । हाम्रो यस पारिवारिक व्यवसायलाई सफल बनाउनमा मेरो तर्फबाट समेत अप्रत्यक्ष रुपमै भएपनि ठूलो भूमिका छ भन्ने मलाई लाग्छ । हरेक पुरुषको सफलतामा महिलाको अहम भूमिका रहने गर्छ ।
महिलाले अवसर पाउनुपर्छ
अहिले सम्म नेपाली महिलाहरु आफैंले कुनै काम गर्नको लागि राम्रो वातावरण पाउन नसकेको कारण व्यावसायिक क्षेत्रमा अघी बढ्न नसकेका हुन् । विगतको तुलनामा अहिले नेपाली महिलाहरुको आर्थिक एवं सामाजिक योगदान र दायरा निकै फराकिलो बनेको छ । पछिल्ला बर्षहरुमा विभिन्न सीपमूलक तालिमहरु महिलाको लागि निःशुल्क समेत उपलब्ध हुने गरेका छन् । अहिले महिला लक्षित विभिन्न समूह, सहकारी एवं लघुवित्त कार्यक्रमहरु पनि सञ्चालनमा रहेका छन् । महिलालाई पुरुष सरह समान शिक्षाको अवसर सृजना हुँदै गएको छ । यसकारण अहिले महिलाहरुले पनि आफ्नो क्षमतालाई थप विकास गर्न सकेका छन् । यो राम्रो पक्ष हो ।
राज्य पक्षले पनि महिलालाई उद्योग व्यवसायमा संलग्न बनाउने उद्धेश्यले विभिन्न आकर्षक कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । महिलाले कर्जा लिँदा न्यून व्याजदरमा उपलब्ध गराइनु, महिलाको नाममा दर्ता भएका व्यवसायलाई विभिन्न छुट उपलब्ध गराइनु लगायत कार्यक्रम महिलालाई माथि उठाउनको लागि नै ल्याइएका छन् । जसले गर्दा अहिले महिलालाई सीमित पारिवारिक दायराबाट माथि उठ्न सहज भएको छ । साथै अहिले महिलाहरुकै अग्रसरमा पनि विभिन्न समूहहरु स्थापना भई उत्पादनमूलक व्यवसायहरु सञ्चालन गरिरहेका छन् । महिला सचेत बन्दै जाने क्रममा अहिले विगतमा देखिने सामाजिक विकृतिहरुमा पनि कमी आइरहेको छ । यस्तो स्थितिलाई विचार गर्दै महिलालाई थप अघी बढ्नको लागि आपसी साथ र सहकार्य हुन सकेको खण्डमा सामाजिक रुपान्तरणमा ठूलो सहयोग पुग्न सक्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij