
काठमाडाैं । इलामका व्यवसायी प्रेम आचार्यले संसद भवन अगाडि आफैंलाई आगो लगाई मृत्युवरण गरेको एवं देशका विभिन्न ठाऊँमा अन्य थुप्रै व्यवसायीहरु पनि आत्महत्या गर्न बाध्य भएको स्थितिले समग्र निजी क्षेत्र मर्माहत र गंभिर भएको भन्दै नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले विज्ञप्ति सार्वजनिक गरेको छ ।
संघका अध्यक्ष दिनेश श्रेष्ठले प्रकाशन गरेको उक्त विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाका दवाव र अन्यायका धेरै कुराहरु उल्लेख गरिएको भन्दै आगामी दिनमा यस्ता अप्रिय घटना हुन नदिन व्यवसायीको मनोवल वृद्धि गर्ने तर्फ राज्य संवेदनशिल हुनुपर्नेमा जोड दिइएको छ ।
राज्यले आर्थिक क्षेत्रसंग सम्बन्धित नीति, नियम, ऐन, कानुन, निर्देशन, परिपत्रहरू कार्यान्वयन गर्न सकिने गरी, सकारात्मक र उद्योग, वाणिज्यमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याइएको छ ।
हालका बैकिंङ्ग व्यवस्थाहरु र व्याजदर स्थायित्व लगायतका समस्याले निजी क्षेत्र समस्यामा पर्दै आएकोमा विज्ञप्ति बढी केन्द्रित छ ।
विज्ञप्तिमा व्याजदरको अप्रत्यासित वृद्धि, व्याज साँवा तिर्न केही समयको याचना गर्दा अपमान सहनुपर्ने स्थिति, तरलता अभाव लगायतका अवस्था बारे उल्लेख गर्दै गरिएको छ भने व्यवसायीको व्यवसाय र लगानी सुरक्षित गर्नुपर्ने आवश्यकता समेत औंल्याइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij