
वीरगञ्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल रकम ब्यहोर्ने भएको छ । बिहीबार महानगरपालिका र विद्युत प्राधिकरणबीच सम्झौता भएसँगै यही पुसदेखिको नगरवासीको ३० युनिटसम्मको विद्युत महसुल निःशुल्क हुने भएको हो ।
अब मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ । महानगरको सभाहलमा आयोजित पत्रकार सम्मेलनकाबीच नगरप्रमुख राजेशमान सिंहले आफूहरुले निर्वाचनका बेला जनताकाबीच गरिएको प्रतिबद्धता बमोजिम नगरवासीको विद्युत महसुल निशुल्क गर्ने सम्झौता गरेको बताए ।
८ बुँदे सम्झौतामा महानगरपालिकाभित्रका ग्राहस्थ (घरेलु) मिटरमा ५ र १५ एम्पीअरको एमसिबी प्रयोग गरी अधिकतम् ३० युनिट खपत गर्ने ग्राहकको विद्युत महशुल र न्युनतम मासिक महशुल महानगरले व्यहोर्ने उल्लेख छ ।
यस्तै महानगरभित्र संचालित सिंगल फेज कृषि मिटरको सम्पूर्ण ग्राहकको मासिक विद्युत महशुल पनि महानगरले नै व्यहोर्ने छ । महानगरले प्राधिकरणको खातामा अग्रिम रकम भुक्तानी गर्ने र त्यही अनुरुप प्राधिकरणले हरेक महिना रिबेटसहितको ग्राहकको शुल्क फस्र्यौट गर्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij