२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

विद्यालय तहको शिक्षा र हाम्रो अपेक्षा

विद्यालय तहको शिक्षा र हाम्रो अपेक्षा

कमल प्रसाद ज्ञवाली, प्रिन्सिपल, प्रारम्भ वर्ल्ड स्कुल-कलेज (तारकेश्वर)

प्रारम्भ वर्ल्ड स्कुल विद्यालय तह अन्तरगत प्रारम्भिक तह देखि कक्षा १२ सम्म अध्यापनमा संलग्न विद्यालय हो । जुन तारकेश्वरको शान्तिटोलमा अवस्थित छ । बदलिँदो परिस्थिति बमोजिम उच्चस्तरीय शिक्षा प्रदान गर्ने कामबाट आफूहरु निरन्तर निर्देशित हुँदै आएको विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवाली बताउनुहुन्छ । विद्यालयले पाठ्यक्रमको अलावा अतिरिक्त क्रियाकलापहरुमा पनि विशेष महत्व दिँदै आएको छ । विभिन्न बाह्य गतिविधिहरु एवं व्यावहारिक र प्रयोगात्मक क्रियाकलापमा आधारित रहेर शैक्षिक गतिविधिहरु सञ्चालन गर्दै आएको यस विद्यालयले छिट्टै विद्यार्थीको क्षमता पहिचान गरेर सोहीबमोजिम उनीहरुलाई निर्देशित गर्ने योजना समेत बनाएको छ । अहिले बजारमा मिड ब्रेन एक्टिभेसन, सिग्नेचर एनालाइसिस, डिएमआईटि लगायतका कार्यक्रम (विधि)हरु प्रचलनमा छन्, जसले व्यक्तिको अन्तरनिहित क्षमता पहिचानका सहयोग पुर्याउँछन् । यी विधिहरुले मूलतः हाम्रो मष्तिष्कको प्याटर्न (अवचेतन मष्तिष्कको कार्यक्रम) कस्तो बनेको छ भन्ने आधारहरु विभिन्न तथ्यहरु प्रस्फुटन गराउँदछन् । सोहीकारण सम्भव भएसम्म आफ्नै स्रोतबाट र सम्भव नभए बाह्य प्रशिक्षकहरुको सहयोगमा यी कार्यक्रमहरु विद्यालयमा सञ्चालन गरेर विद्यार्थीलाई सही गञ्तव्य छनौटमा सहयोग पुर्याउने दायित्वलाई आफूहरुले विशेष महत्व दिने प्रिन्सिपल ज्ञवाली बताउनुहुन्छ ।

प्रविधिको उच्च गतिमा विकास हुँदै गएको विकास, मानिस समाज, संस्कार र प्रकृतिबाट अलग हुँदै गएको वर्तमान परिवेशमा आगामी दिनमा शिक्षण सिकाई थप उपलब्धिमूलक बनाउनको लागि शिक्षणसिकाईका विधिहरुलाई परिमार्जन गर्दै लैजानुपर्ने ज्ञवालीको धारणा छ । प्रिन्सिपल ज्ञवाली भन्नुहुन्छ, ‘अबको शिक्षाले एकातिर व्यक्तिलाई व्यावहारिक र प्रयोगमा आधारित ज्ञान प्रदान गर्नुछ । अर्कोतर्फ व्यक्तिका बहुआयामिक भित्री प्रतिभाहरुको उत्खनन गर्न सक्नुपर्छ । जसबाट व्यक्तिलाई पूर्ण बन्न सहयोग पुगोस् । बहुआयामिक प्रतिभा अन्तरगत व्यक्तिका शारीरिक, मानसिक, संवेगात्मक र आध्यात्मिक आयामहरुलाई बुझ्ने गरिन्छ ।’

 

यो सामाग्री व्यक्तिको अन्तरनिहित क्षमता पहिचान र बदलिँदो परिवेशमा अबको शिक्षा प्रणाली कस्तो हुनुपर्छ, अहिलेको प्रणालीका समस्याहरु के–के हुन् भन्नेमा केन्द्रित छ ।

विषयप्रवेशः

हरेक व्यक्ति जन्मजात रुपमा नै कुनै न कुनै प्रतिभा लिएर जन्मिएको हुन्छ । कुन व्यक्ति जन्मजात रुपमा के प्रतिभा लिएर जन्मिएको छ भन्ने कुरा अहिले सम्म हामी सबैको लागि रहस्यमय बन्न पुग्यो । कुन विधि अवलम्बन गरेर व्यक्तिको क्षमता पहिचान गर्न सकिन्छ भन्ने कुरा बारे हामी जानकार हुन सकेनौं । यसको लागि हामीसँग प्रमाणित विधि-तरिकाहरु थिएनन् । साथै अहिले सम्म हाम्रो शैक्षिक पाठ्यक्रम नै समष्टिगत रुपमा सबै व्यक्तिको बौद्धिक क्षमता एकै किसिमको हुन्छ भन्ने मान्यतामा आधारित रह्यो । अहिले प्रविधिको विकास सँगै मानिसको क्षमता समेत पहिचान गरेर सोही बमोजिम करियर छनौट गर्न सकिने विधिहरु विकास भएका छन् । हरेक व्यक्ति जन्मँदा नै निश्चित बौद्धिक प्याटर्न-नक्सा लिएर जन्मिएको हुन्छ । हाम्रो हस्तरेखा, औंठा छाप (फिङ्गर प्रिन्ट), आँखा नङको बनावट, जन्ममिति लगायतका प्याटर्नहरुले व्यक्तिको सम्भावित क्षमता र सम्भावना क्षेत्र बारे केही गहिराइमा पुगेर सोच्न मद्दत गर्छन् ।

रचनात्मक क्षमतामा जोड दिनुपर्छ

घोकेर, कण्ठ गरेर परिक्षामा राम्रो अङ्क ल्याउने अभ्यास अब पुरानो भइसकेको छ । जुन विधिले सूचना र जानकारीहरुको सङ्कलनलाई नै ज्ञान आर्जन हो भन्ने कुरालाई बढी महत्व दिन्छ । अहिलेको प्रविधिको तीव्र विकास भइरहेको समयमा कण्ठस्थ गरेका विषयवस्तु, सूचना र तथ्याङ्कहरु मात्रै हाम्रो व्यावहारिक जीवनमा हामीलाई समाधान दिनको निम्ति प्रयाप्त छैनन् । यसकारण व्यावहारिक महत्वका नयाँ खोज, अनुसन्धान, रचनात्मक क्षमता, सङ्कल्प शक्ति (विल पावर), कल्पना (भिजुअलाइजेसन)मा आधारित ज्ञान शैक्षिक संस्थाहरुले प्रदान गर्न सक्नुपर्छ ।

हाम्रो मष्तिष्कलाई हामीले सम्पादन गर्ने कार्य क्षमताको आधारमा यसलाई कति बढी सक्रिय बनाउन चाहन्छौं भन्ने आधारमा फिक्स्ड माइण्डसेट र ग्रोथ माइण्डसेटको रुपमा व्याख्या गरेको पाइन्छ । पहिलो फिक्स्ड माइण्डसेटले थप प्रगतिको लागि व्यक्तिलाई खासै प्रेरित गर्दैन । ग्रोथ माइण्डसेटले व्यक्तिलाई नयाँ–नयाँ चुनौतीहरुसँग जुध्न, परिस्थितिलाई विचार गरेर आवश्यक निर्णय लिन, केही थप जोखिम लिन समेत प्रेरित गर्छ । आफ्नो कार्यसम्पादनलाई नियमित भन्दा पृथक तवरले सोच्न र व्यवहार गर्न पनि अवश्य प्रेरित गर्छ ।

मष्तिष्कका भागहरु

हाम्रो मष्तिष्कलाई यसको बनावट र कार्य सम्पादनको हिसाबले २ भागमा बाँडेर हेर्ने गरिएको छ । दायाँ मष्तिष्क र बायाँ मष्तिष्क । सपना, कल्पना, रङ, सङ्गीत, संवेग, चित्र, भावना, रचनात्मक क्षमता, सङ्कल्प शक्ति लगायतका व्यक्तिगत जीवनका महत्वपूर्ण पक्षहरु दायाँ मष्तिष्कसँग सम्बन्धित विषयवस्तुहरु हुन् । यस मष्तिष्कलाई क्रियटिभ माइण्ड समेत भन्ने गरिन्छ । यसको सिधा सम्बन्ध अवचेतन मष्तिष्कसँग हुने गर्छ । जहाँ हामीले प्राप्त गरेका जानकारी-सूचनाहरु लामो समयको लागि भण्डारन हुने गर्दछन् । यसको क्षमता पूर्ण मष्तिष्क मध्ये ९० प्रतिशत मानिँदै आइएको छ । संसारलाई महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरु यही क्षमताको उच्चतम उपयोग गरेर महान बनेका हुन् ।

अर्को बायाँ मष्तिष्कले बुद्धि, विचार, तर्क, गणित, शब्द लगायतको आधारमा कार्यसम्पादन गर्छ । यसलाई लजिकल माइण्ड वा चेतन मन भनेर समेत चिन्ने गरिन्छ । छोटो समयको लागि मात्रै सूचना भण्डारन हुने यस मष्तिष्कको क्षमता केवल १० प्रतिशत मात्र रहने मानिँदै आइएको छ । हाम्रो औपचारिक शिक्षा बायाँ मष्तिष्कलाई बढी प्रयोगमा ल्याउने मान्यता-विधिमा आधारित छ ।

दुइ मष्तिष्क बीचको तालमेलः

दायाँ र बायाँ मष्तिष्कको सही तवरले तालमेल मिलाउन सकेको खण्डमा हामीले तुलनात्मक रुपमा निकै राम्रो लाभ हासिल गर्न सक्छौं । हरेक व्यक्ति जन्मजात रुपमा नै पृथक क्षमतायुक्त हुन्छ र समयमा नै ती प्रतिभाहरु पहिचान हुन सकेको खण्डमा व्यक्ति नयाँ उचाईको शिखरमा पुग्न सक्ने सम्भावना प्रबल हुन्छ ।

 

समयसापेक्ष रुपमा हाम्रो शैक्षिक पाठ्यक्रमलाई परिमार्जन गर्दै विद्यार्थीको रचनात्मक क्षमता अभिवृद्धिलाई मध्यनजर गरेर व्यवस्थित तवरले बौद्धिक मष्तिष्कको दायरा भन्दा धेरै टाढा सम्मको सोच्न र कल्पना गर्न सक्ने (भिजुअलाइजेसनमा आधारित) अलग्गै कोर्ष समेत हाम्रो औपचारिक शिक्षामा थप गर्नुपर्ने आवश्यकता देखिएको छ । जुन औपचारिक शिक्षाको लागि अत्यन्तै नयाँ अवधारणा समेत भएको र यस क्षेत्रमा काम गरिरहेका व्यक्ति-प्रशिक्षकहरुको सङ्ख्या समेत अत्यन्तै न्यून रहेको हुनाले पहिलो चरणमा प्रत्यक्ष रुपमा पाठ्यक्रम निर्माण, करियर काउन्सिलिङ, विद्यालय र विश्वविद्यालयका सञ्चालन, व्यवस्थापन र शिक्षणमा प्रत्यक्ष संलग्न रहेका व्यक्तिहरुलाई यस किसिमका कार्यक्रमहरुमा आबद्ध बनाउँदै लैजानुपर्ने आवश्यकता छ ।

किन द्विविधामा छन् अहिलेका युवाहरु ?

अहिलेको शिक्षाले व्यक्तिको रुचिको आधारमा करियर छनौट गर्ने कुरालाई ध्यान दिन सकेन । अर्थोपार्जनलाई बढी महत्व दिईंदा हामी अरुबाट नभई आफैंबाट अलग्गिन पुग्यौं । थुप्रै व्यक्तिहरु उच्च शिक्षाको अध्ययन पूरा गरेर पनि राम्रो जागिर पाउन नसकेको, अध्ययन भन्दा पृथक विषय-क्षेत्रमा भविष्य खोजिरहेको, निराशा र तनावमा बाँचिरहेको अवस्था छ । अधिकांश व्यक्तिहरु आफ्नो गञ्तव्यको पहिचान गर्ने सम्बन्धमा द्विविधामा छन् । यस्तो अवस्था सृजना हुनुमा हामीले प्राप्त गरेको शिक्षाले सही तवरले दिशानिर्देश गर्न नसक्नु पनि एक महत्वपूर्ण कारण भित्र पर्छ ।

अहिलेको औपचारिक शिक्षाले हामीलाई पूर्ण मानव बन्नमा बाधा पुर्याएको छ । किनकि हामी आफ्नो भित्री रुचिको आधारमा बाहिरी संसारमा बाँच्न सिक्नुपर्थ्याे । त्यसो हुन सकेन । हाम्रा रुचिहरु एकातिर छन्, हामीले छनौट गरेको कार्यक्षेत्र रुचिको क्षेत्र भन्दा अलग छ । हामी बाध्यतावश आफ्नो कार्य क्षेत्रमा संलग्न छौं । यसो हुँदा हाम्रो पूरा ध्यान र ऊर्जा कार्यक्षेत्रमा केन्द्रित हुन सक्दैन । जसले गर्दा हामीले प्राप्ति गर्ने उपलब्धि पनि आंशिक मात्रै प्राप्त हुन्छ । साथै आफू संलग्न क्षेत्रमा पूर्ण खुसी प्राप्ति गर्न नसक्दा हामी चिन्तित, पीडित र अस्वस्थ हुँदै जान्छौं ।

बाध्यताले प्राप्ति गर्ने शिक्षा कम उपलब्धिमूलकः

अहिले हामी अधिकांशको लागि शिक्षा अर्थात ज्ञान आर्जन जागिर प्राप्तिको लागि बाध्यात्मक स्थिति बन्ने गरेको छ । निश्चित समयावधिमा सञ्चालन हुने शिक्षाबाट रहर र रुचिपूर्वक संलग्न व्यक्तिले जति उपलब्धि हासिल गर्न सक्छ, बाध्यताले संलग्न भएको व्यक्तिले प्राप्त गर्ने उपलब्धि त्यो भन्दा अवश्य कम नै हुन्छ । व्यक्ति तहगत रुपमा अघी बढिरहँदा अध्ययनको थप गहिराई तर्फ प्रवेश गर्न स्वतः प्रेरणा मिल्दै जानुपथ्र्यो तर शिक्षा आफैंमा भारी बनेको छ, जसले गर्दा निश्चित तहको औपचारिकता पूरा गर्नको लागि मात्रै केन्द्रित छ । विषयवस्तुको गहिराई र परिधिलाई नबुझी अङ्क मात्र प्राप्त गरेर योग्य ठहरिने व्यवस्थाले शिक्षाबाट समाज र राष्ट्रले धेरै आशा राख्न सक्दैन ।

विद्यालय तहका बालबालिकाहरु काँचो माटो जस्तै हुन् । उनीहरुमा राम्रो सँग बौद्धिक विकास भइसकेको हुँदैन । तथापि मष्तिष्कको भित्री कार्यक्रम (कोर प्रोग्रामिङ) विद्यालय तहमा अध्ययन गर्ने समयमा (१५–१६ बर्ष उमेर भित्र) नै निर्माण हुन्छ । यस अवधिमा उनीहरुको मष्तिष्कमा कुनै वस्तु-परिस्थिति-घटनाबारे (जस्तै धन, सम्बन्ध, प्रेम, खुसी, डर, सफलता, स्वास्थ्य आदि) बारे जस्तो धारणा विकास गराइन्छ, आफ्नो मष्तिष्कमा उनीहरुले जस्तो चित्र निर्माण गर्छन्, उनीहरुको सिङ्गो जीवन पनि त्यसै अनुसार नै निर्देशित हुन्छ ।

 

शिक्षा अर्थात ज्ञान औपचारिक एवं अनौपचारिक रुपमा निरन्तर प्राप्त भइरहनुपर्ने तत्व हो । यसको लागि मष्तिष्क सदैव खुल्ला राख्न सक्नुपर्छ । शिक्षा, सार्वजनिक प्रशासन, स्वास्थ्य, इन्जिनियरिङ लगायत बौद्धिक क्षेत्रसँग सम्बन्धित व्यक्ति आफूलाई सदैव सम्बन्धित क्षेत्रको नयाँ अद्यावधिक ज्ञानसँग परिचित भइरहने स्थिति निर्माणको लागि प्रेरित गर्नु पनि विशेष महत्वको विषय बन्नुपर्छ ।

अहिलेको शिक्षाका सीमाहरुः

अहिलेको शिक्षा मूलतः रोजगारीकेन्द्रित छ । जुन आवश्यकता हो । यसलाई थप सुधार गर्दै उत्पादनकेन्द्रित बनाउनसके त्यो थप उपलब्धिमूलक हुन सक्थ्यो । विद्यालय तहको शिक्षाले नै व्यक्तिलाई आत्मनिर्भर बन्न र स्वःनिर्णयमा पुग्नको लागि आधार तयार गर्न सक्नुपर्थ्याे। यसको लागि वित्तीय शिक्षा, स्वास्थ्य बारे सचेतना, उद्यमशिलता, संस्कारमा आधारित नैतिक शिक्षा, कानुनी एवं व्यावहारिक जीवनसँग सम्बन्धित विषयवस्तु लगायतलाई शैक्षिक पाठ्यक्रमको दायरा भित्र नै समेट्न सक्ने गरी पाठ्यक्रम तय गरिनुपर्थ्याे । जुन अहिलेको शिक्षाका सीमाको रुपमा रहँदै आएका छन् ।

विद्यालय उमेरः मष्तिष्कीय ब्लुप्रिन्ट निर्माणको उमेर

विद्यालय तहका बालबालिकाहरु काँचो माटो जस्तै हुन् । उनीहरुमा राम्रो सँग बौद्धिक विकास भइसकेको हुँदैन । तथापि मष्तिष्कको भित्री कार्यक्रम (कोर प्रोग्रामिङ) विद्यालय तहमा अध्ययन गर्ने समयमा (१५–१६ बर्ष उमेर भित्र) नै निर्माण हुन्छ । यस अवधिमा उनीहरुको मष्तिष्कमा कुनै वस्तु-परिस्थिति-घटनाबारे (जस्तै धन, सम्बन्ध, प्रेम, खुसी, डर, सफलता, स्वास्थ्य आदि) बारे जस्तो धारणा विकास गराइन्छ, आफ्नो मष्तिष्कमा उनीहरुले जस्तो चित्र निर्माण गर्छन्, उनीहरुको सिङ्गो जीवन पनि त्यसै अनुसार नै निर्देशित हुन्छ । जसलाई अवचेतन मष्तिष्कमा निर्माण भएको भित्री कार्यक्रम (प्रोग्रामिङ) वा मष्तिष्कको ब्लुप्रिन्ट भन्ने गरिन्छ । व्यक्तिको बाँकी जीवन त्यही ब्लुप्रिन्ट अनुसार नै निर्देशित हुने भएकोले व्यक्तिको बाल्यावस्था-विद्यालय उमेर समूहलाई अत्यन्तै संवेदनशिल रुपमा लिइनुपर्छ । हाम्रो राष्ट्रिय शिक्षा नीतिले यस पक्षलाई राम्रोसँग सम्बोधन गर्न सकेको पाईंदैन ।

सफल जीवनको लागि क्षमता पहिचानको आवश्यकता

पछिल्ला दिनहरुमा बालबालिकाको क्षमता पहिचानको लागि मिड ब्रेन एक्टिभेसन, सुपर लर्निङ, DMIT (Dermatoglyphics Multiple Intlleigence Test), हस्ताक्षर तथा हस्तलेखन विष्लेषण, जन्माङ्क विष्लेषण लगायतका विभिन्न विधि–कार्यक्रमहरु बिस्तार भइसकेका छन् र यस्ता विषयहरु माथि निरन्तर खोजअनुन्धान भइरहेको छ । यी कार्यक्रमहरुले व्यक्तिको अन्तरनिहित क्षमता पहिचानमा सघाउ पुर्याई हामीलाई पूर्ण मानव बनाउने दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछन् । परिवार, संस्था, समाज र राष्ट्रको मुख्य नेतृत्व कुनै व्यक्तिले नै गर्ने र संस्था, समाज र राष्ट्रको भविष्य नेतृत्वकर्ताको निर्णय र कार्यसम्पादनमा मुख्य निर्भर रहने भएको हुनाले समाज परिवर्तनको अभिभारा वहन गर्ने व्यक्ति भित्रै देखि जागरुक हुनुपर्छ ।

साथै समयसापेक्ष रुपमा हाम्रो शैक्षिक पाठ्यक्रमलाई परिमार्जन गर्दै विद्यार्थीको रचनात्मक क्षमता अभिवृद्धिलाई मध्यनजर गरेर व्यवस्थित तवरले बौद्धिक मष्तिष्कको दायरा भन्दा धेरै टाढा सम्मको सोच्न र कल्पना गर्न सक्ने (भिजुअलाइजेसनमा आधारित) अलग्गै कोर्ष समेत हाम्रो औपचारिक शिक्षामा थप गर्नुपर्ने आवश्यकता देखिएको छ । जुन औपचारिक शिक्षाको लागि अत्यन्तै नयाँ अवधारणा समेत भएको र यस क्षेत्रमा काम गरिरहेका व्यक्ति-प्रशिक्षकहरुको सङ्ख्या समेत अत्यन्तै न्यून रहेको हुनाले पहिलो चरणमा प्रत्यक्ष रुपमा पाठ्यक्रम निर्माण, करियर काउन्सिलिङ, विद्यालय र विश्वविद्यालयका सञ्चालन, व्यवस्थापन र शिक्षणमा प्रत्यक्ष संलग्न रहेका व्यक्तिहरुलाई यस किसिमका कार्यक्रमहरुमा आबद्ध बनाउँदै लैजानुपर्ने आवश्यकता छ ।

अन्त्यमा,

औपचारिक शिक्षा मात्र त्यस्तो प्लेटफर्म हो, जसले बालबालिकाहरुको भविष्य निर्माणको अभिभारा बोकेर बालबालिकाहरुलाई १ दशक भन्दा बढी समय आफ्नो छत्रछायामा राखेर सिकाउने काम गर्छ । लामो समय शिक्षा प्राप्तिकै लागि समर्पित बनेका व्यक्तिहरुबाट समाज र राष्ट्रले ठूलो अपेक्षा गरेको हुन्छ । यसकारण समाजलाई थप उन्नत, समृद्ध र संस्कारयुक्त बनाउनको लागि शिक्षा प्रवाहलाई थप व्यावहारिक बनाउन सक्ने गरी समयसापेक्ष रुपमा नीति, रणनीति र कार्यक्रमहरु परिवर्तन गर्दै लैजानुपर्ने आवश्यकता अनिवार्य सर्त हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij