२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

वित्तीय क्षेत्रमाथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहमा समस्या आउन सक्नेः गभर्नर अधिकारी

वित्तीय क्षेत्रमाथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहमा समस्या आउन सक्नेः गभर्नर अधिकारी

 

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्रमाथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले बैैंक वित्तीय संस्थाविरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिए । उनले बैैंक वित्तीय संस्थाविरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रुपमा गिराउने काम गरिरहेको दाबी गरे ।

गभर्नर अधिकारीले बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्ने, बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहलाई तत्काल सरकारले कानुनी कारबाही गर्न आवश्यक रहेको बताए । उनले बैंकिङ उद्योगलाई धराशायी बनाउने गरी राजनीति समेत जोडिएको आंशका व्यक्त गरे । उनले राजनीतिक रुपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको बताए । उनले बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जाने अवस्था रहेको बताए ।

उनले भने,‘अराजक गतिविधिका विषयमा प्रधानमन्त्री, अर्थमन्त्री र सचिवहरुसहित बसेर छलफल गरिरहेका छौँ । यो अराजकतालाई रोक्न सकेनौँ भने सोचे अनुसारको कर्जाको माग हुने र कर्जा प्रवाह हुने अवस्था छै्रन । यसले एक किसिमबाट ठूलो बैंकिङ प्रणालीमा मनोबल गिराउने काम गरिरहेको छ । बैंकका कर्मचारीहरुलाई कालो मोसो दल्ने, बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहहरू देखिएका छन् । बैंकिङ उद्योगलाई धराशायी बनाउन पाइयो भने अरू खालका राजनीति टाँसिएको देख्छु । उद्देश्य परिपूर्ति गर्ने उद्देश्यले बैंकिङ क्षेत्र र नियमन निकायलाई समेत कमजोर बनाउने गरी धाराप्रवाह रुपमा आक्रमण भइरहेको अनुभुति भइरहेको छ । बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जान्छ । अर्थतन्त्र कमजोर हुँदै जान्छ ।’

गभर्नर अधिकारीले बैंकका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकर्सहरुलाई पक्राउ गरेको सन्दर्भमा अन्य बैकर्सहरु आतंकित हुनुपर्ने अवस्था नभएको बताए । उनले केन्द्रीय अनुसन्धान ब्यरोसँग राष्ट्र बैंकले बैंकका कर्मचारी पक्राउ सम्बन्धमा सोधपुच्छ गर्दा सहकारीको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको जानकारी दिए । उनले राष्ट्र बैंकले बैंकमा भएरको अनियमितताका विषयमा अनुसन्धान गरी कारबाही गर्ने गरेको बताए । उनले अहिले प्रहरीले गरिरहेको अनुसन्धानलाई सबैले सहयोग गर्नुको विकल्प नभएको बताए । उनले बंैकर्सहरु दोषी ठहर नभएर बाहिर आउने दोषी भए कानुन अनुसार सजाय भोग्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

 

गभर्नर अधिकारीले नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी रहेको दाबी गरे । उनले बैङ्कहरूसँग क्यापिटल इक्विटी सूचकलाई सुरक्षितको रुप हेर्न सकिने बताए । गभर्नर अधिकारीले बैङ्कहरूको कोर पुँजी ८ प्रतिशतभन्दा माथि रहेकाले पनि नेपाली बैङ्कहरू सुरक्षित रहेको बताए । उनले केही बैङ्कहरूलाई भने कोर पुँजीको दबाब रहेको भन्दै लोन पोर्टफोलियो बढाउनको लागि क्यापिटल बढाउनुपर्ने स्थिति रहेको बताए । उनले पछिल्लो समय बैङ्कहरूसँग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता रहेको उल्लेख गरे । उनले बैङ्कहरूको खराव कर्जा (एनपीए) ३.४० प्रतिशत पुगेको उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij