काठमाडौं, ६ चैतः नेपाल पुलिस क्लबका स्पिनर ललित राजवंशीले एकपटक फेरि उत्कृष्ट प्रदर्शन गर्दै लगातार तेस्रो खेलमा पाँच विकेट लिएका छन् । यससँगै, प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसले अपराजित यात्रालाई निरन्तरता दिँदै छैटौं जित दर्ता गरेको हाे ।
बुधबार सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न खेलमा पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले सहजै पराजित गर्यो । गण्डकीले दिएको ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमै ३ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेलेर ५४ रन बनाए भने अर्जुन साउदले अविजित १८ रनको योगदान दिए । गण्डकीका बिपिन खत्री र सुबास भण्डारीले समान १-१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीको पारी २३.२ ओभरमै ९२ रनमा सिमित भएको थियो । अर्जुन कुमालले सर्वाधिक ४८ रन बनाउँदै टिमलाई केही प्रतिस्पर्धात्मक अवस्थामा पुर्याउने प्रयास गरे । रोहित चन्द र सुबास भण्डारीले समान १० रन जोडे ।
पुलिसका ललित राजवंशीले ५.२ ओभर बलिङ गर्दै मात्र ७ रन खर्चिएर ५ विकेट हात पारे । यो प्रतियोगितामा उनको चौथो ५ विकेट प्रदर्शन हो । उनले ६ खेलमा जम्मा २६ विकेट लिइसकेका छन् । यस्तै, गुल्शन झाले ८ ओभरमा ४२ रन खर्चेर ४ विकेट लिए ।
यस जितसँगै, पुलिस ६ खेलमा १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । गण्डकी भने ६ खेलमा २ अंक मात्रै जोड्दै १०औं स्थानमा रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij