कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सबैभन्दा बढी प्रभावित हुने मध्ये एक देश इटालीले लकडाउन खुकुलो पार्ने योजना सार्वजनिक गरेको छ । पछिल्ला केही दिनयता कोभिड–१९ का कारण मृत्यु हुने तथा संक्रमितको संख्या लगातार कम हुँदै गएपछि इटालीले लकडाउन खुकुलो पार्दै अन्ततः हटाउने योजना बनाएको हो ।
प्रधानमन्त्री जुसेपे कोन्तेले लकडाउन मे ४ अर्थात आउँदो हप्तादेखि केही खुकुलो पारिने बताएका छन् । मे ४ देखि सानो संख्यामा रहेर मानिसहरुलाई आफन्तसँग भेटघाट गर्न दिइने तर मास्क भने अनिवार्य रुपमा लगाउनु पर्ने प्रधानमन्त्री कोन्तेले बताएका छन् ।
पार्कहरु पनि खुला हुने भएका छन्, तर स्कूलहरु भने नियमित जस्तो गरी सेप्टेम्बरसम्म खुल्ने छैनन् । इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण २६ हजार ६४४ जनाको ज्यान गएको छ, यो युरोपका देशमा सबैभन्दा बढी हो र विश्वमा कोभिड–१९ बाट सबैभन्दा धेरैको ज्यान जाने देशको सूचिमा इटाली दोस्रो स्थानमा छ । अमेरिकामा सबैभन्दा धेरै ५४ हजार ८४१ जनाको ज्यान गएको छ ।
इटालीमा आइतबार २६० जनाको कोभिड–१९ बाट निधन भयो । गएको मार्च १४ यता एकै दिन सबैभन्दा थोरै व्यक्तिको निधन भएको हो यो । इटालीमा संक्रमितको संख्या एक लाख ९७ हजार ६७५ रहेको छ । संक्रमण कम हुँदै गएको र संक्रमण दर पनि अब लकडाउन खुकुलो पार्न मिल्ने तहमा आएको इटालीका अधिकारीले बताएका छन् ।
प्रधानमन्त्री कोन्तेले टेलिभिजन मार्फत सम्बोधन गरि लकडाउन अन्त्य गर्ने योजनाका चरणहरु सार्वजनिक गरेका हुन् । दोस्रो चरणमा मानिसहरुलाई आफ्नै क्षेत्रको भ्रमण गर्न दिइने छ । तर एक क्षेत्रबाट अर्को क्षेत्र वा प्रदेशमा भने जान दिइने छैन । अन्तिम संस्कारहरुका लागि स्वीकृति दिइने भएको र अधिकतम १५ जना मात्रै सहभागी हुन पाउने छन् । खेलाडीहरुले व्यक्तिगत रुपमा बाहिर निस्केर प्रशिक्षण गर्न पाउने छन् ।
यस्तै मे ४ देखि बार तथा रेस्टुरेन्टहरु टेकअवे सेवाका लागि खुला हुने छन् । अहिले भने अडर अनुसार डेलिभरी सेवा मात्रै छ । बार वा रेस्टुरेन्टमा गएर खान भने पाइने छैन । कपाल तथा नङका सैलुन, ब्यूटिपार्लर, बार तथा रेस्टुरेन्ट पूर्ण क्षमतामा जुन १ देखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij