जनआन्दोलन ०६२-६३ मा विद्यालय तहको अध्ययनकै क्रममा आफूले सक्रिय भूमिका निर्वाह गरी चर्चामा आएकी रचु थापा भर्खर मात्रै फुड टेक्नोलोजीमा स्नातक तहको अध्ययन सिध्याएर सामाजिक कार्यहरुमा अग्रसर हुँदै घरायसी कार्यहरुमा अभिभावकहरुलाई सघाउनमा व्यस्त छिन् ।
रचु थापा
सानै उमेरमा सामाजिक काममा सक्रिय बनेकी उनी हालको राजनीतिक अवस्था र राजनीतिक दलहरु बीचको बेमेल प्रति चिन्तित छिन् ।
राजनीतिक दलहरुको आापसी मेलमिलाप र सहकार्यबाट मात्रै मुलुकमा शान्ति र समृद्धि संभव हुने आफ्नो धारणा सेतोघर डट कम अनलाइन सँगको कुराकानीका क्रमम व्य्क्त गरिन् ।
फुड टेक्नोलोजीकी विद्यार्थीका हैसियतले समेत उनी स्वस्थकर खानाबारे सबै मानिसहरु सचेत रहनुपर्ने कुरामा जोड दिन्छिन् । स्वस्थकर खानाले मात्र मानिसको शारीरिक एवं वौद्धिक विकास हुने बताउँदै खानपिन र जीवनशैलिमा विचार गर्नसके अधिकांश रोगव्याधिबाट बच्न सकिनेमा समेत उनी आफू निकटका व्यक्तिहरुलाई सचेत गराउँछिन् ।
मानिसले आफूले कस्तो खाइरहेको छु भन्नेमा सदैव सचेत हुनुपर्ने, त्यसमा पनि चाडपर्वहरु नजिकिँदै गएको अवस्थामा उपभोक्ता तुलनात्मक रुपमा अझ बढी सतर्क रहन उनी आग्रह गर्छिन् । मानवीय स्वास्थ्यमा खाद्यान्नको भूमिका निकै महत्वपूर्ण रहने भएको कारण स्वस्थकर पौष्टिक आहार ग्रहण गर्नुपर्ने उनको सल्लाह छ ।
संक्षिप्त कुराकानीको क्रममा रचुलाई भावी लक्ष्य बारे सोधिएको प्रश्नमा आफूले कम्तीमा स्नातकोत्तर तह सम्मको अध्ययन पूरा गर्ने र त्यसपश्चात् विषयविज्ञता हासिल गरी विशेषज्ञकाे रुपमा सेवारत रहने आफ्नो लक्ष्य भएको बताइन् ।
अन्त्यमा नजिकिएका नेपालीहरुका महान चाडपर्वहरुको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सबै नेपालीहरुलाई स्वस्थकर तवरले चाडपर्वहरु मनाउन आग्रह गर्दै सबैको सु–स्वास्थ्य र दीर्घायुको कामना समेत गरेकी छिन् ।