
मुलुकको समृद्धिको लागि औद्योगिक व्यावसायिक क्षेत्रलाई सम्बोधन गरिएन भने हामीले चाहेको लक्ष्य हासिल गर्न सक्दैनौं । यसकारण राज्यले आफ्नो दायित्व सम्झेर सीप विकास, पुँजी लगानी, बजार प्रवर्धन र नीतिगत सुधारको माध्यमबाट निजी क्षेत्रलाई विश्वस्त बनाउन सक्नुपर्छ ।
‘भक्तपुरलाई खुला सङ्ग्रालयको रुपमा समेत लिने गरिन्छ । यो आफैंमा कलाजन्य शहर समेत हो । राज्यले हस्तकला क्षेत्रका व्यवसायीहरुलाई थप सहजीकरण र प्रोत्साहन गर्ने हो भने भक्तपुरले कला संरक्षण, रोजगारी सृजना र बजार प्रवद्र्धनको माध्यमबाट राज्यलाई निकै ठूलो योगदान दिन सक्छ’ उहाँको आफ्नो अनुभवमा आधारित ज्ञानको सारांश हो यो ।
नेपालमा २ दशक भन्दा लामो समय देखि हस्तकलामा संलग्न रहँदै आउनुभएका विरेन्द्र माक हाल भक्तपुर हस्तकला व्यवसायी संघका सचिव हुनुहुन्छ । व्यवसायी माकका अनुसार हस्तकला क्षेत्र नेपालको लागि राम्रो सम्भावना भएको क्षेत्र हो । यस हस्तकला क्षेत्रमा काम गर्न चाहने व्यक्तिले कुनै सीप हासिल गरेर सानो लगानीमा नै यस क्षेत्रमा प्रवेश गर्न सक्छन् । आफू हस्तकला क्षेत्रमा प्रवेश गर्दैमा सफल हुन सकिन्छ भन्ने होइन । आफ्नो क्षेत्रका सबै पक्षहरुको राम्रो ज्ञान हासिल गर्नु पनि त्यति महत्वपूर्ण हुन आउँछ । खासगरी ठाउँ छनौट, दक्ष कर्मचारीको व्यवस्थापन, कच्चा पदार्थ, आवश्यक पर्ने उपकरणको व्यवस्थापन, सही तवरले बजारीकरण र निरन्तर आर्थिक पक्षको उचित व्यवस्थापन लगायतका विषयहरुमा पोख्त हुनु पनि जरुरी रहन्छ ।
विशेष महत्वका छन् नेपाली हस्तकलाजन्य सामानहरु
नेपालमा उत्पादित अधिकांश सामानहरु हातबाट नै निर्मित छन् । यी सामानहरु बाह्य मुलुकहरुको लागि विशेष रोजाईमा पर्ने गरेका छन् । हुनतः नेपालमा हामीले हातबाटै उत्पादन गर्ने किसिमका कतिपय सामानहरु बाह्य मुलुकहरुले मेसिनबाट नै निर्माण गर्छन् र मेसिनरी सामानको लागत तुलनात्मक रुपमा कम समेत हुने गर्छ । तैपनि हस्तकलाजन्य सामानहरुको अन्तराष्ट्रिय बजारमा अलग महत्व छ ।
म मुख्यतः हस्तकला अन्तरगत सेरामिक्स क्षेत्रमा संलग्न रहेर काम गरिरहेको छु । हामीले नेपालको अलावा बाह्य मुलुकमा समेत यी सामानहरु उपलब्ध गराउँदै आएका छौं । नेपालमा होटल डेकोरेसन, गार्डेन डेकोरेसन लगायत कार्यको लागि गमला, जनावर, मुर्तिहरु हामीले उपलब्ध गराउँदै आएका छौं ।
सहज रुपमा कच्चा पदार्थ उपलब्ध हुनुपर्छ
हामीले अहिले स्थानीय सरकारहरुलाई सहज रुपमा कच्चा पदार्थ उपलब्ध हुने व्यवस्था गराइयोस् भनेर जोडदार माग गरेका छौं । सजिलै कच्चा पदार्थ उपलब्ध हुन सकेको खण्डमा मात्र हामीले सहज रुपमा काम गर्न सक्छौं र हाम्रा उत्पादनमा उत्कृष्टता पनि ल्याउन सक्छौं । अहिलेको अवस्थामा नेपालमा सेरामिक्स व्यवसायीहरुको सहज रुपमा माटो उपलब्ध हुन नसक्ने अवस्था छ । यसले गर्दा हामीलाई हाम्रा सामानहरु सहज रुपमा उत्पादन गर्न अप्ठ्यारो छ । हामी सेरामिक्स व्यवसायीहरु पनि राज्यको लागि एउटा अभिन्न अङ्ग हौं भन्ने कुरा यदि राज्य पक्षले स्वीकार्छ भने हाम्रा समस्याहरुलाई समाधान गर्ने दिशामा पनि आफ्ना कदम चाल्नु जरुरी रहन्छ । यसको लागि सेरामिक्स व्यवसायलाई प्रवद्र्धनको योजना सहित सहज रुपमा गुणस्तरीय माटो उपलब्ध हुन सक्ने गरी राज्यले निश्चित क्षेत्रको जग्गालाई अधिकरण गरेर हामीलाई त्यहाँबाट लामो समय सम्मको लागि माटोको व्यवस्था गरिदिनुपछ्र्र । यसबाट मात्र हाम्रो व्यवसाय सुरक्षित हुन सक्छ । 
निजी क्षेत्र र राज्यको सहकार्य आवश्यक
बाह्य मुलुकहरुमा राज्यले निजी व्यवसायीहरुसँग आत्मसात् गर्दै आफ्ना गतिविधिहरु अघी बढाउने गर्छ । त्यसै कारण ती देशहरु अहिले समृद्ध मुलुकको रुपमा स्थापित भइसकेका छन् । नेपालमा पनि राज्यले आफ्नो उद्योग तथा व्यवसाय नीतिलाई पुनर्विचार गर्दै आपसी सहकार्यमा दिगो लक्ष्य हासिल गर्ने योजना बमोजिम अघी बढ्ने हो भने हामीले चाहेको समृद्धि छोटो समयमा नै प्राप्त गर्न सक्छौं ।
मुलुकको समृद्धिको लागि औद्योगिक व्यावसायिक क्षेत्रलाई सम्बोधन गरिएन भने हामीले चाहेको लक्ष्य हासिल गर्न सक्दैनौं । यसकारण राज्यले आफ्नो दायित्व सम्झेर सीप विकास, पुँजी लगानी, बजार प्रवर्धन र नीतिगत सुधारको माध्यमबाट निजी क्षेत्रलाई विश्वस्त बनाउन सक्नुपर्छ ।
समस्यामा छौं हामी व्यवसायीः
अहिले हामी संलग्न रहेको हस्तकला क्षेत्र कोभिड–१९ को कारण निकै नै समस्यामा छ । हस्तकला क्षेत्रका थुप्रै व्यवसायीहरु सानो लगानीबाट यस क्षेत्रमा प्रवेश गरेका पनि हुनुहुन्छ । सीपमा आधारित काम भएको हुनाले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनको लागि धितो राख्ने वस्तु पनि उहाँहरुसँग हुँदैन । हामीले उत्पादन गर्ने सामान र बजार प्रतिष्ठा नै हामीले कमाएको मुख्य सम्पत्ति हो । जुन भौतिक सम्पत्ति भन्दा पनि बढी महत्वपूर्ण हुन्छ । यस कुरालाई विचार गर्दै राज्यले हामी व्यवसायीहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने व्यवस्था गर्नु जरुरी छ । यसो हुन सकेको खण्डमा मात्र हामीले पुनः गति लिन सक्ने अवस्था रहन्छ ।
हस्तकला व्यवसायमा मेरो प्रवेशः
हाम्रो परिवार पुख्र्यौंली पेशाको रुपमा यस हस्तकला क्षेत्रमा संलग्न भएको होइनं । खासगरी मेरा दाई केदार माक ललितकला क्याम्पसमा फाइन आर्ट अध्ययन गनुहुन्थ्यो । उहाँकै ज्ञान र प्रेरणाले हामी यस क्षेत्रमा प्रवेश गरेका हौं । अहिले हाम्रो परिवारका ४ जना दाजुभाई सबै यसै क्षेत्रमा संलग्न छौं ।
हस्तकला अन्तरगत पर्ने सेरामिक्स क्षेत्रमा हामी प्रवेश गर्नुको पछाडि सानो लगानीमा स्थानीय रुपमा उपलब्ध माटोलाई नै प्रयोग गरेर विभिन्न सामानहरु उत्पादन गर्न सकिने सम्भावनालाई औंल्याएको कारण सम्भव भएको हो । सानै उमेरमा खेतमा खेल्ने क्रममा पनि हामीलाई माटोसँग खेल्न खुब मन पथ्र्यो । माटोलाई विभिन्न आकारप्रकारमा ढालेर त्यतिबेला नै हामीले आफ्नो शोख पूरा गथ्र्यौं । तर व्यावसायिक रुपमा नै यस क्षेत्रलाई अँगाल्छौं भन्ने चाहिँ थिएन ।
लगानी
शुरुका दिनमा हामी सानै लगानीबाट यस क्षेत्रमा प्रवेश गरेका हौं । दाईले सिकेको सीप अहिले हाम्रो पारिवारिक व्यवसाय बन्न पुगेको छ । अहिले हामीले हाम्रो लगानीलाई थप बढाउँदै अझ व्यवस्थित तवरले काम अघी बढाउने योजनामा छौं । वास्तवमा सेरामिक्स सीपमा आधारित व्यवसाय नै हो । यस क्षेत्रमा जति धेरै काम गर्न सकिन्छ, त्यति नै थप सीप हासिल गर्दै नयाँ सम्भावना खोजी गर्न सकिन्छ ।
काम गर्दै जाने क्रममा विभिन्न चुनौती आउन सक्छन् । हामीले पनि २० बर्षको अन्तरालमा थुप्रै आरोहअवरोहरु पार गरेका छौं । कुनै दिन माटोको समस्याको कारण उद्योग नै ३-४ महिना सम्म बन्द गर्नुपरेको छ । कर्जा दर उच्च भएको र स्वपुँजीको अभावले गर्दा उद्योगलाई अघी बढाउन नसक्ने अवस्था पनि हामीले सामना गर्नुपरेको छ । हामीले उत्पादन गरेका सामानहरुले बजारमा उचित मूल्य नपाउँदा कतिपय अवस्थामा खिन्नता महसुस गरेका छौं । जे–जस्ता समस्या आइपरेपनि आफ्नो यात्राबाट हामी विचलित भएका छैनौं । त्यसैकारण हामी अहिलेको अवस्थामा आउन सफल भएका हौं । जुन सबै नवप्रवेशीहरुले मनन गर्नुपर्ने विषय हुन सक्छ ।
युवाहरुमा सीप प्रवद्र्धनमा संघको जोड
हस्तकला क्षेत्रमा प्रवेश गर्नको लागि उच्च औपचारिक शिक्षाको आवश्यकता पर्दैन । बरु यस क्षेत्रमा समर्पणको भूमिका मुख्य रहन्छ । हस्तकला क्षेत्रमा नयाँ युवाहरुलाई पनि आकर्षित गर्न र थप रोजगारी प्रवद्र्धनको लागि सहयोग होस् भनेर अहिले हामीले भक्तपुर हस्तकला व्यवसायी संघको तर्फबाट विभिन्न तालिमहरु पनि सञ्चालन गर्दै आएका छौं । छ्वाली कला, नेपाली हाते कागज, लोप हुन लागेको मुकुण्डो बनाउने तालिम लगायतका तालिमहरु हामीले सञ्चालन गरिरहेका छौं । यसको अलावा ट्रेड फेयरहरुमा सहभागि हुन व्यवसायीलाई आह्वान गर्ने र बजार व्यवस्थापनमा पनि सहयोग गर्ने योजना बमोजिम हामीले हाम्रा गतिविधिहरु अघी बढाइरहेका छौं । हाल भक्तपुरका १ सय २५ व्यावसायिक फर्महरु संघमा आवद्ध हुनुहुन्छ ।
सफलताको मुख्य मन्त्र
सबै व्यक्तिमा सबै किसिमका क्षमता नहन सक्छन् । कोहीसँग सीप हुन्छ, कोहीसँग पुँजी हुन्छ, कोहीसँग प्रविधि हुन्छ । कोहीसँग जनसम्पर्क विस्तार गर्न सक्ने क्षमता हुन्छ । हरेक व्यक्ति आफूसँग भएको सीप र क्षमता पहिचान नगरी आफूसँग नभएको क्षमता प्राप्तिको लागि भौतारिन्छ । आफूसँग के क्षमता छ भन्ने कुरा पहिचान गरेर त्यस बमोजिम अघी बढ्न सकेको खण्डमा मात्र हामीले आफूसँग भएको क्षमताबाट माथि उठ्न सक्छौं । यो सबैले बुझ्नुपर्ने कुरा हो ।
काम गर्दै जाने क्रममा विभिन्न चुनौती आउन सक्छन् । हामीले पनि २० बर्षको अन्तरालमा थुप्रै आरोहअवरोहरु पार गरेका छौं । कुनै दिन माटोको समस्याको कारण उद्योग नै ३-४ महिना सम्म बन्द गर्नुपरेको छ । कर्जा दर उच्च भएको र स्वपुँजीको अभावले गर्दा उद्योगलाई अघी बढाउन नसक्ने अवस्था पनि हामीले सामना गर्नुपरेको छ । हामीले उत्पादन गरेका सामानहरुले बजारमा उचित मूल्य नपाउँदा कतिपय अवस्थामा खिन्नता महसुस गरेका छौं । जे–जस्ता समस्या आइपरेपनि आफ्नो यात्राबाट हामी विचलित भएका छैनौं । त्यसैकारण हामी अहिलेको अवस्थामा आउन सफल भएका हौं । जुन सबै नवप्रवेशीहरुले मनन गर्नुपर्ने विषय हुन सक्छ ।
(हस्तकला उद्यमी विरेन्द्र माक भक्तपुर हस्तकला व्यवसायी
संघका सचिव पनि हुन् ।)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij