
तारकेश्वरनिवासी मदनकृष्ण केसी राप्रपा (नेपाल)मा लामो समय देखि आस्था राख्दै आएका व्यक्ति हुन् । हाल राप्रपा (नेपाल)का केन्द्रीय सदस्य समेत हुन् उनी ।
मुलुकको विकास र समृद्धिको लागि राजसंस्था र हिन्दूराज्यको अपरिहार्यता रहेको उनी बताउँछन् । मुलुक गणतन्त्रमा प्रवेश गरेपश्चात् मुलुक प्रगति तर्फ नभई अवनति तर्फ धकेलिएको बताउँछन् उनी । राजतन्त्रको समयमा नेपालमा जुन ऐतिहासिक कामहरु भएका थिए, ती कामहरु सबैजसो धराशयी हुने स्थिति बनिरहेको र यसले हाम्रो अवस्था कमजोर बन्दै गएको पुष्टि गर्ने केसीको धारणा छ ।
मुलुक दिगो विकास अवधारणाबाट सञ्चालित हुन नसक्नु, हिन्दू धर्म विशेष माथि निरन्तर रुपमा नियोजित प्रहार गरिनु, उद्योग स्थापना र श्रोतसाधनको उपयोगको बदलामा निरन्तर औद्योगिक वातावरण कमजोर बनाइनु लगायतका कारण नेपाल कमजोर बन्दै गएको छ ।
अहिले वैदिक ॐ शब्दलाई शब्दकोषबाट नै हटाउने बारेमा वहस भइरहेको छ, यस्तो आखिर किन गरिँदैछ त ? राष्ट्रलाई ॐकारले के कहाँ कसरी असर प¥यो त ? के कुनै कारण नै चाहिँदैन ? अहिले के हिन्दूलाई प्रत्यक्ष प्रहार गरेर नेपाललाई इसायीकरण गर्न नै खोजिएको हो त ? धर्मनिरपेक्ष भन्नुको मतलब धर्म छनौट गर्ने स्वतन्त्रता हो । जहाँ एकको अस्तित्वको लागि अर्कोलाई धक्का पुग्नुहुँदैन, केसी भन्छन् ।
राजसंस्था सम्बन्धमा
राजसंस्था हाम्रो परिवारको अभिभावक हो । वास्तवमा अभिभावक बिनाको परिवार परिवार नै बन्न सक्दैन । अस्तव्यस्त लथालिङ्ग हुन्छ । राम्रो अभिभावकले पृथक विचारधाराका सन्तानहरुलाई एक ठाऊँमा मिलाउन सक्छन् । तर अहिले नेपालमा अभिभावक नहुँदा हाम्रो स्थिति निकै कमजोर बनिरहेको छ । अपराधिक घटनाहरु बढिरहेका छन् । ज्यानमारालाई संविधान दिवसको नाममा आममाफी दिइएको छ । मान्छे मारेकालाई छुटाउनेले कसरी सबैलाई न्याय गर्न सक्छ ? यहाँ न्याय मर्दै गएको छ ।
शिक्षकहरु आन्दोलनमा उत्रिनु नियोजित खेल
यतिबेला सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलनमा होमिनुपर्ने स्थिति किन आयो ? यो वहसको विषय बन्नुपर्छ । शायद यसो हुनुमा कतै राज्यले नै सुनियोजित रुपमा कुनै षड्यन्त्र रचेको त होइन ? समस्या सामुदायिक विद्यालयका शिक्षकहरुको मात्र होइन । निजी क्षेत्रका शिक्षकहरु अझ अत्यन्तै न्यून पारिश्रमिकमा काम गरिरहेका छन् । उनीहरु आन्दोलनमा नआउनु तर सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलनमा उत्रिनुले कहीँ कतै समस्या सुनियोजित रुपमा सृजना भएको आँकलन गर्न सकिन्छ ।
अन्त्यमा,
यतिबेला हाम्रो राष्ट्रियता कमजो बन्दै गएको छ । सुरक्षा स्थिति कमजोर बन्दै गएको छ । नेपालभित्र नेपाली नै छिर्न नपाउने गरी एमसिसी सम्झौता मार्फत खुल्ला रुपमा अमेरिकालाई नेपालमा प्रवेश दिएर मुलुकलाई कमजोर बनाउने प्रयाश गरिएको छ । के यो हाम्रो लागि आत्मघाती कदम हो । यो सबै हामीले अभिभावक नहुँदा झेल्नुपरेको स्थिति हो ।
अहिले अभिभावक नभएको कारण नेपालका एउटै विचारधाराका दल एवं संस्थाहरु पनि एक ठाऊँमा संगठित हुन सकेका छैनन् । सबै नेपालीलाई न्याय गर्न र सबैका भावना सम्बोधन गर्नको लागि राजतन्त्र जस्तो राम्रो व्यवस्था नेपालमा अर्को हुन सक्दैन ।
साथै आगामी दिनमा हिन्दू धर्म माथि निरन्तर प्रयाश भइरहँदा हामीले हिन्दू वैदिक समुदायमा आवद्ध सबै व्यक्तिहरु संगठित हुनुपर्ने र वैदिक ज्ञान अन्तरगतका योग, ध्यान, तन्त्र, ज्योतिष लगायतका पूर्वीय दर्शनमा आधारित ज्ञान लगायतलाई समेत नेपाली जनताहरुको सचेतना जागरणको लागि फैलाउनुपर्ने आवश्यक छ । साथै हाम्रा यस्ता अनेकौं विधिहरुमा वैज्ञानिक खोज र अनुसन्धानको समेत आवश्यकता छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij