२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

राजनीति होइन, आर्थिक कूटनीति

राजनीति होइन, आर्थिक कूटनीति

पुँजीगत खर्चले अर्थतन्त्रलाई चलायमानमात्र बनाउँदैन, अहिलेको निराशालाई चिर्दै देशलाई समृद्ध बनाउने आधार पनि तय गर्छ ।

भवानी राणा
पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडाैं, ६ चैतः विश्वव्यापी कोभिड–१९ महामारीपछि केही समय उत्साहजनक देखिएको नेपालको आर्थिक अवस्था तीन वर्षयता निराशाजनक छ । व्यावसायिक वातावरण थप बिग्रिएको छ । लगानी बढाउन सक्ने अवस्था छैन । उद्योग व्यवसाय ओरालो लागेको छ । उद्योगधन्धा क्षमताको ३०–४० प्रतिशत हराहारीमा चलिरहेका छन् । कुनै पनि उद्योगी व्यवसायीले ‘मैले राम्रो गरिरहेको छु’ भनेको सुनिएको छैन ।

समष्टिगत माग र आपूर्तिको समस्या छ । देशमा भविष्य नदेखेर दैनिक २ हजार युवा विदेश पलायन भइरहेका छन् । ठूलो युवा समूह बाहिरिएपछि बढी उपभोग गर्ने क्षमताका उपभोक्ता देशमा थोरै छन् । अरु क्षेत्रको पनि माग खस्किएको छ । उत्पादन गरेर पनि बेच्ने ठाउँ नभएपछि व्यवसायीले उत्पादन कटौती गरेका छन् ।

निर्यात नगन्य छ । व्यापार घाटा बढ्दो छ । भन्सार राजस्वको ठूलो हिस्साले देश चलिरहेको छ । यी सबै सूचकहरुले अर्थतन्त्रले राम्रो संकेत गरिरहेको छैन भन्नेमा कुनै सन्देह छैन ।

विगतको भन्दा संकट 

नेपालमा प्रजातन्त्र आएको साढे तीन दशक बितिसकेको छ । सुरुवाती चरणमा नेपालमा धेरै लगानी भित्रिएको थियो । खुला अर्थतन्त्रको नीति लिइँदै गर्दा बाह्य लगानीकर्ताले नेपाललाई लगानीयोग्य मुलुकमा राखेका थिए । बहुराष्ट्रिय कम्पनीहरु, बैंक तथा वित्तीय संस्था, हस्पिटालिटी, जलविद्युतलगायतमा भारतबाटै लगानी आइरहेको थियो । तर, करिब १५ वर्षयता त्यहाँको निजी क्षेत्रबाट पनि लगानी आउन सकेको छैन ।

पुस अन्तिम साता नेपाल र भारतबीच इन्टर–गभर्मेन्टल कमिटी (आईजीसी) को मिटिङ भएको थियो । त्यो सँगसँगै मेरै नेतृत्वमा रहेको निजी क्षेत्रको नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ)को बैठक पनि बस्यो । त्यहाँ पनि लगानीको वातावरणका सम्बन्धमा गहन छलफल भयो । तर, आशाका किरणहरु देखिएनन् ।

एक दशकयता हामीले राजनीतिक उतारचढाव, नाकाबन्दी, प्राकृतिक संकट सबै बेहो¥यौँ । एकातिर नेपालको संविधान जारी भयो । देश संघीयतामा गयो । संविधान कार्यान्वयनमा गयो । नयाँ संविधानअनुसार निर्वाचन भयो । तीन तहका सरकार बने । अर्कातिर, त्यसैबेला महाभूकम्पको सामना गर्नुप¥यो । लगत्तै नाकाबन्दीको स्थितिसँग जुझ्नुप¥यो । त्यसको तीन वर्ष नबित्दै कोभिड–१९ महामारीको संकट आयो । तर पनि यो प्रकारको आर्थिक संकट थिएन ।

अहिलेको अवस्था उजाडलाग्दो छ । खराब कर्जासूचीमा गएका उद्योगी व्यवसायीको संख्या अति नै बढेको छ । बैंकको ब्याजदर १४–१५ प्रतिशत भएका बेला एकल अंकमा हुनुपर्छ भनिरह्यौँ, अहिले ९ प्रतिशतभन्दा तल आइसकेको छ तर कर्जा लिन मानिसहरु गइरहेका छैनन् । पहिलाकै कर्जा तिर्न नसकिरहेको अवस्था छ ।

यसका धेरै कारण छन् । सरकारी नीतिहरु अस्थिर छन् । लगानीका बाधक कानुन धेरै छन् । काम गर्न सहज वातावरण छैन । उद्योगधन्धा सञ्चालनका लागि जग्गा प्राप्त गर्नेदेखि अरु धेरै समस्या खेप्नुपर्छ । माग घटेर गएको छ । उत्पादन लागत बढेर गएको छ । यसले विश्व बजारसँगको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको छ । छिमेकमा यति धेरै जनसंख्या भएका मुलुक चीन र भारत छन् । हाम्रा उत्पादन त्यो बजारमा जति पनि जान सक्छ । तर, बढ्दो लागतका कारण उनीहरुका उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थिति छ । सरकारले औद्योगिक ग्रामको अवधारणा बनाएको छ तर काम भएको छैन ।
उद्योगी व्यवसायीलाई हेर्ने सरकारको दृष्टिकोणमा अझै सुधार आउन सकेको छैन । यिनीहरु नाफामूलकमात्र हुन् भन्ने हिसाबले सरकारले हेर्ने गरेको छ । उद्योगधन्धाले १० घण्टे लोडसेडिङको सामना गरिरहेका छन् । यसले पनि लागत बढाएको छ । तर, त्यसको समाधान गर्न सरकारले कुनै सक्रियता देखाएको छैन ।

अर्कोतर्फ पूर्वाधारहरु गतिला छैनन् तर पुँजीगत खर्च ६ महिनासम्म पनि १६ प्रतिशतमा सीमित छ । विकास खर्च भयो भने निर्माण व्यवसायीले पैसा पाउँछन्, उद्योग व्यवसायले बजार पाउँछ । सिमेन्ट, छड अरु–अरु निर्माण सामग्रीको माग बढ्छ । रोजगारी सिर्जना हुन्छ । मजदुर, कर्मचारीले पैसा पाउँछन् । अर्थतन्त्र चलायमान हुन्छ । तर, विकास खर्च अत्यन्तै न्यून छ ।

नेपालले पहिलो पटक केन्ट्री रेटिङ गराएको छ । नतिजा ‘डबल बि माइनस’ भनेको राम्रो हो । यो नतिजा आउनुमा अर्थतन्त्रका अरु सूचकभन्दा पनि रेमिट्यान्स कारक हो । यद्यपि, बाह्य लगानी ल्याउन यो नतिजाले कहीँ न कहीँ भूमिका खेल्न सक्छ । तर, बाह्य लगानी आकर्षित गर्न पनि वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०१९ (फिटा)मा धेरै नै पुनरावलोकन गर्नुपर्ने छ ।

पुस अन्तिम साता सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी नेपालमा गरिएको विदेशी लगानीबाट प्राप्त आर्जित रकम फिर्ता लैजाने प्रक्रिया सरलीकृत गरेको छ । अरु केही सुधारका काम पनि भएका छन् । अब यसको कार्यान्वयनका लागि विनियमावली र कार्यविधिहरु पनि चाँडो आउन जरुरी छ । तर, यतिले मात्र पनि विदेशी लगानीलाई आकर्षित गर्न सक्दैन । उनीहरुका अपेक्षा र हामीले दिएका धेरै सुझावअनुसार सरकारले ऐन संशोधन गरेको छैन । विदेशी लगानी भित्र्याउनका लागि नीति नै स्पष्ट हुनुपर्छ । एकद्वार प्रणाली भनिन्छ तर एउटा काम गर्न १० ठाउँमा धाउनुपर्ने अवस्था अद्यापि छ ।
अब राजनीति छाडौँ, राजनीति पुग्यो । अब आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्छ । पर्यटन, विदेशी लगानी र वैदेशिक व्यापारलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ । विकास खर्च बढाउनुपर्छ, प्रशासनिक खर्च घटाउनुपर्छ ।

म त भन्छु, प्रदेश नै चाहिँदैन । हिमाल, पहाड र तराई मिलाएर बनाइएको पाँच विकास क्षेत्र कति राम्रो थियो । प्रशासनिक खर्च पनि थिएन । विकास विकेन्द्रीकरण गर्न प्रदेश बनाइएको हो । आर्थिक विकेन्द्रीकरण गर्नका लागि हो तर त्यस्तो त भइरहेको छैन । तीन तहका सरकारबीच समन्वय छैन । अधिकार प्रत्यायोजन भएको छैन ।

स्थिर सरकार छैन । सुशासन छैन । केन्द्रमा सरकार परिर्वतन हुँदा प्रदेशमा पनि परिवर्तन हुन्छ । मन्त्रीसँगै सचिवहरु फेरिन्छन् । मन्त्रालय–मन्त्रालय र विभाग–विभागबीच समन्वय छैन । संघ र प्रदेश तथा प्रदेश र स्थानीय सरकारबीच समन्वय छैन । यस्तै हो भने संघीयतामा जानुको कुनै अर्थ भएन । यो सबै कुरा लगानीको वातावरण बन्नमा बाधक बनिरहेको छ । विदेशी लगानीकर्ताहरुले हामीसँग लगानीका यस्तै समस्याबारे कुरा गर्छन् ।

पर्यटन, कृषि र ऊर्जा
हाम्रा सम्भावनाका क्षेत्रहरु ऊर्जा, पर्यटन र कृषि नै हुन् । हाम्रो देशको भविष्य नै यी क्षेत्र हुन् ।
पर्यटनतर्फ होटल क्षेत्रमा लगानी निकै नै बढेको छ । पर्यटक आगमनले कोभिड १९ अगाडिको अवस्था पार गरेको छ । तर, जति हुनुपर्ने हो, त्यति भएको छैन । क्षमताको एकतिहाई मात्र पर्यटक भित्र्याएर पुग्दैन । अब हाम्रा लागि हाई–इन्ड टुरिजम (लक्जरी टुरिजम) आवश्यक छ ।

सडक पूर्वाधार राम्रो बनाउनुपर्छ । हाम्रा सडक पूर्वाधार अत्यन्तै कमजोर छन् । सडक सञ्जाल विस्तार भइरहेको छ तर गुणस्तरीय छैन । त्यसमा ध्यान दिनुपर्छ । सडकमात्र भएर पनि पुग्दैन, पर्यटन सञ्जाल पनि बनाउनुपर्छ । काठमाडौं, पोखरा र चितवनमात्र होइन, खप्तडलाई पनि प्रवर्धन गर्नुपर्छ ।
डोटी, बाजुरा, बझाङ र अछाम जिल्लाको संगमस्थल खप्तडमा २२ दह र ३२ घाँसे मैदान (पाटन) छन् । त्यहाँ ५४३ प्रजातिका ‘भुइँ फूल’ पाइन्छन् । त्यहाँको ‘फ्लोरा एन्ड फना’को पर्यटकीय महत्व देशविदेशमा प्रवाह गरौँ । मानिस स्वास्थ्यका लागि, आनन्द प्राप्तिका लागि जति पनि खर्च गर्न तयार छ । मानिसहरु आइल्यान्डमा जान्छन् । थाइल्यान्डको बैंकक जान्छन् । हाम्रो खप्तड कति सुन्दर छ तर हामीले पर्यटक तान्न सकेका छैनौँ ।

त्यसकारण पैसा तिर्न मानिस तयार छ, सुविधा दिन सक्नुपर्छ । राम्रा–राम्रा होटल बनाउनुपर्छ । सरकारले सडक पूर्वाधारमा लगानी गरिदियो भने सुविधासम्पन्न होटल निजी क्षेत्रले खोलिहाल्छ । विदेशी लगानी पनि आउँछ ।

मुगुको रारा छ । त्यहाँको प्रवर्धन भइरहेको छ । होटल बनिरहेको छ तर सडक पूर्वाधार कमजोर छ । सडक राम्रो बन्यो भने अरु होटल थपिन्छन् । केबलकारहरु बनिरहेका छन् । ताप्लेजुङको पाथीभरामा पनि बन्ने भएको छ । निजी क्षेत्रले गरिरहेको छ, अरु पनि गर्छ तर सरकारले वातावरण बनाइदिनुपर्छ ।
क्षेत्रीय हवाई सञ्जाल निर्माण गरौँ । नेपालगन्जबाट दिल्ली, अयोध्याबाट जनकपुर र जनकपुरबाट दिल्ली जस्ता हवाई सञ्जाल बनाऔँ । भारतले अयोध्या कति राम्रो बनाइसकेको छ । हामीले जनकपुरमा त्यस्तै हिसाबले काम गर्नुपर्छ । यसले धार्मिक पर्यटक बढाउँछ । हाई–इन्ड टुरिजम बढ्छ । जसले अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्छ । ठूल्ठूला सडक पूर्वाधारमा लगानी बढाऔँ । धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेर सडक निर्माणमा लगानी गरौँ । पर्यटन हाम्रो लागि तुलनात्मक लागत लाभ बढी भएको क्षेत्र हो ।

पोखरा र भैरहवा विमानस्थलमा ठूलो लगानी भएको छ तर चल्न सकेको छैन । होटलमात्र बनाएर त पर्यटन क्षेत्र फस्टाउँदैन । स्थलमार्गको पनि सुविधा छैन । सीमा क्षेत्रमा टुरिजम डेस्क राख्नुपर्छ । पर्यटकलाई सहजीकरण गर्नुपर्छ । स्वागत गर्नुपर्छ । तर, त्यो पनि भइरहेको छैन । त्यसमाथि टिकटमा भ्याट लगाएर समस्या सिर्जना गरिएको छ । नेपाली ट्राभल एजेन्सीसँग टिकट नकिनेर मानिसहरु सस्तोको खोजीमा भारतबाट किनिरहेका छन् । जसका कारण भ्याटबाट हुने आम्दानीभन्दा ठूलो घाटा नेपालले व्यहोरिरहेको छ ।

त्यस्तै कृषिमा धेरै ठूलो सम्भावना छ । जुम्ला र मुस्ताङको स्याउ सडक पूर्वाधारकै अभावमा बजारसम्म पुग्न चुनौतीपूर्ण बनिरहेको छ । यस्ता धेरै उत्पादनले सडक अभावमा बजार पाएका छैनन् । किसानले मेहनतअनुसारको पैसा पाएका छैनन्, उपभोक्ताले भने अस्वाभाविक मूल्य तिर्नुपरिरहेको छ । यसको अन्त्य गर्नुपर्छ ।

हामी ‘भ्यालु एड इन्डस्ट्री’मा जानुपर्छ । औद्योगिक ग्राम बनाउने घोषणा भएको छ । सीमा क्षेत्रका औद्योगिक ग्रामहरुमा भारतीय लगानी आह्वान गरौँ । बुट मोडल (स्वामित्वमा लिने, चलाउने र सरकारलाई हस्तान्तरण गर्ने)बाट लिजमा दिऊँ । उनीहरुले नयाँ–नयाँ प्रविधि ल्याउँछन् । कृषि र जडिबुटीमा ‘भ्यालु एड इन्डस्ट्री’ खोल्न प्रेरित गरौँ । जहाँ सुविधा छ, जहाँबाट बढी प्रतिफल प्राप्त हुन्छ, व्यवसायीले त्यहाँ लगानी गर्छन् ।

भारतको उत्तर प्रदेशमा मात्रै ३० करोडभन्दा बढी जनसंख्या छ । बिहारमा पनि जनसंख्या धेरै छ । त्यो जनसंख्या (उपभोक्ता)लाई लक्षित गरेर भारतीय उद्योगी व्यवसायीले सीमा क्षेत्रका औद्योगिक ग्राममा ठूलो लगानी ल्याउन सक्छन् । उनीहरुले उत्पादन गरेको सामान भारतीय बजारमा बेच्छन् । नेपालबाट भारतमा पैसा लैजान समस्या पनि छैन । यसबाट नेपालको निर्यात बढ्छ । रोजगारी सिर्जना हुन्छ । राजस्व बढ्छ । अन्तर्राष्ट्रिय बजारमा लगानीको सन्देश पनि जान्छ । यसमा ध्यान दिनुपर्छ ।
खेतीयोग्य जमिनको वर्गीकरणमा ध्यान दिनुपर्छ । अहिले जमिन धेरै टुक्रिएको अवस्था छ । त्यसकारण ‘एक गाउँ एक उत्पादन’को अवधारणा नै नेपालका लागि उपयुक्त हुन्छ । अहिले बीउ आयातमा समस्या छ । त्यसलाई समाधान गनुपर्छ । मलको उपलब्धतामा सरकारले सहजीकरण गर्नुपर्छ ।

हामी नेपाली कृषि उत्पादन बिकेन भनेर चिन्ता गर्छौं तर कृषकलाई उत्पादनका लागि सहज वातावरण दिँदैनौँ । राम्रो मल, बीउ, सिँचाइ सुविधा र प्रविधि भयो भने फसल राम्रो हुन्छ । राम्रो फसलले राम्रो मूल्य पाउँछ । जहाँ राम्रो र सस्तो पाइन्छ, उपभोक्ताले किन्ने त्यही हो । त्यसकारण मैले कृषिमा भारतीय लगानीकर्ता ल्याउनुपर्छ भनेको हुँ । उनीहरुबाट लगानीसँगै प्रविधि पनि भित्रिन्छ ।

सरकारले किसानलाई संरक्षण गर्न नीति पनि त्यही प्रकारको बनाउनुपर्छ । भारतमा किसानले बेच्न नसकेको उपज सरकारले किनिदिन्छ । त्यही भएर निर्धक्कसँग उनीहरु उत्पादन गर्नतर्फ लाग्छन् । तर, हामीकहाँ धेरै नै अन्योल छ । केन्द्र, प्रदेश र स्थानीय सरकार सबै यसमा अल्मलिइरहेका छन् ।
अहिले नेपाली युवाले वैदेशिक रोजगारीका क्रममा कृषिलगायत अन्य क्षेत्रमा ठूलो सीप तथा दक्षता हासिल गरेका छन् । नेपाली कृषि उत्पादनले बजार पाउने निश्चित भयो भने उनीहरु फर्किन्छन् ।

स्टार्टअप कर्जाको कुरा छ, कृषिमा सहुलियतपूर्ण ऋणको कुरा छ, अनुदान छ । बीउ सहज होओस्, चाहेको बेला मल उपलब्ध होओस् । यस्ता सुविधा काम गर्न चाहने किसानसम्म पुग्नुपर्छ । स्वदेशमै आम्दानी गर्न सकिने स्थिति भयो भने परिवारसँग छुट्टिएर उनीहरु त्यहाँ बस्दैनन् । कृषि क्षेत्र यसै फस्टाउँछ ।

तेस्रो क्षेत्र भनेको ऊर्जा हो । ऊर्जामा राम्रो संकेत देखिएको छ । सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य निर्दिष्ट गरिएको छ । अनेकन् अप्ठ्यारो र झन्झटका बाबजुद ऊर्जामा ठूल्ठूलो लगानी आइरहेको छ ।

तत्कालको समाधान
माथि चर्चा गरिएका विषयहरु दीर्घकालीन महत्वका छन् । नेपालको दिगो र सन्तुलित विकासका लागि कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकासमा केन्द्रित हुनुपर्छ । ऊर्जामा जसरी काम सुरु भइसकेको छ, कृषि र पर्यटनमा पनि त्यति नै गम्भीरतासाथ सरकार लाग्नुपर्छ । केही समयपछि त्यसले नतिजा दिइहाल्छ ।

यतिबेला हामी ठूलो आर्थिक संकटबाट गुज्रिरहेका छौँ । यो परिस्थितिबाट तत्काल बाहिर निस्किने उपाय सरकारले खोज्नुपर्छ । मेरो विचारमा सरकारले पुँजीगत खर्च र पर्यटक आगमन बढाउन सकेमात्र अहिलेको संकटबाट छिटो बाहिर निस्कन सहयोग पुग्छ ।

पँुजीगत खर्चले मात्र अर्थतन्त्रलाई तत्काल चलायमान बनाउन सक्छ । निर्माण व्यवसाय देशको समग्र व्यवसाय र रोजगारीसँग जोडिन्छ । मुद्रा परिचालनसँग जोडिन्छ । सडक पूर्वाधारलगायतका अन्य परियोजना निर्माणले गति लिँदा सिमेन्ट र छड उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन थाल्छन् । अरु पनि यस्ता धेरै क्षेत्र छन् । त्यसकारण निर्माण क्षेत्रलाई चलायमान बनाउन पुँजीगत खर्च बढाउनैपर्छ ।
नीतिगत समस्या छन् भने निराकरण गर्नुपर्छ तर यो वा त्यो बहानामा पुँजीगत खर्चमा कमी आउनु हुँदैन । सरकारले हरेक वर्ष पुँजीगत खर्च गर्न नसकेकै कारण दीर्घकालीन महत्व राख्ने र बढी प्रतिफल दिने परियोजनाहरु बन्धक बनिरहेका छन् । पुँजीगत खर्चले अर्थतन्त्रलाई चलायमानमात्र बनाउँदैन, अहिलेको निराशालाई चिर्दै देशलाई समृद्ध बनाउने आधार पनि तय गर्छ ।

पर्यटनले पनि छिटो प्रतिफल दिन्छ । धेरै पर्यटक आगमन बढ्दा होटल, हस्तकला, कृषिलगायतका क्षेत्र चलायमान हुन्छन् । त्यहाँ ठूलो संख्यामा मानिसहरु रोजगार र स्वरोजगार छन् । विदेशी मुद्रा भित्रिन्छ । विदेशी मुद्रा सञ्चिति बलियो बन्छ । त्यसकारण देश समृद्ध बनाउन असल नियत राख्ने हो भने सरकार अनावश्यक राजनीतिमा फस्नु हुँदैन, पुँजीगत खर्च बढाउनुपर्छ, आन्तरिक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ र आर्थिक कूटनीतिलाई बलियो बनाउने दिशामा अघि बढ्नुपर्छ ।

(इमान जर्नलमा प्रकाशित  अंश)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij