विराटनगर । राजधानीबाहिरको शैक्षिक केन्द्रका रूपमा स्थापित विराटनगरका कलेजहरूमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको अत्यधिक चाप देखिएको छ ।
विज्ञान विषय लिएर प्लस टु गर्नेका लागि धेरै विकल्प भएकाले पनि यसतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको हिसान मोरङ अध्यक्ष बलराम पन्त बताउँछन् । यहाँका कलेजमा प्रवेश परीक्षाको फारम भर्नेमध्ये आधाभन्दा बढीले विज्ञान विषयमा भरेका छन् । उनकै शब्दमा विज्ञान विषयबाट प्लस टु गरेपछि विद्यार्थीका लागि अनगिन्ति विकल्प हुन्छन् ।
विज्ञान विषयबाट प्टस टु उत्तीर्ण गरेका विद्यार्थीले इन्जिनियरिङ, मेडिकल साइन्स, खाद्य प्रविधि, वन विज्ञान, सीए, व्यवस्थापन, कृषि विज्ञानलगायतका विषय रोजीरोजी पढ्न पाउँछन् । “तर, मानविकी र व्यवस्थापन विषयबाट प्टस टु गरेका विद्यार्थीले यति धेरै अवसर पाउँदैनन्,” अध्यक्ष पन्त भन्छन्, “केही वर्षयता धेरै विद्यार्थीका लागि विज्ञान रोजाइको विषय बनेको छ ।”
हिसान मोरङमा २९ वटा प्लस टु आबद्ध छन् । तीमध्ये १६ वटा विराटनगर महानगरपालिकाभित्र छन् । ती प्लस टु को ११ कक्षामा विराटनगरमा मात्रै ६ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।
विराटनगरभन्दा बाहिर पनि ६ हजारकै हाराहारीमा विद्यार्थी छन् । “विज्ञान विषय लिएर पढ्दा भविष्यमा धेरै विकल्प रोज्न सकिन्छ,” उनले भने । विद्यार्थी चाप बढेपछि कतिपय कलेजले भौतिक संरचना धमाधम थपिरहेका छन् ।
विराटनगर पूर्वको शैक्षिक केन्द्रका रूपमा स्थापित भइसकेको पन्तको कथन छ । अध्ययनका लागि यहाँ पूर्वाञ्चलका पहाडी जिल्ला भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, इलाम, संखुवासभा, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, इलामसहित तराईका सप्तरी, सिरहा, उदयपुर, सुनसरी, झापाबाट विद्यार्थी आउने गरेका छन् ।
यसबाहेक सर्लाही, धनुषा, महोत्तरी, सिन्धुली, रामेछापलगायतका केही विद्यार्थीले समेत विराटनगरका कलेजलाई रोज्ने गरेको उनको दाबी छ । योपटक पश्चिमका विद्यार्थीले पनि आवेदन फारम भरेको शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का बताउँछन् ।
“अन्य सहरको तुलनामा विराटनगर बस्नका लागि धेरै सस्तो छ,” उनले भने, “त्यही भएर मध्यमदेखि निम्न आयस्रोत भएका अभिभावकले समेत आफ्ना छोराछोरीलाई विराटनगरमै पढाउन चाहन्छन् ।”
यहाँ २ हजारदेखि ३ हजार रूपैयाँसम्ममा राम्रै कोठा पाइन्छ । खाद्यन्नसमेत अन्य ठाउँको तुलनामा धेरै सस्तो छ । कतिपय डेरामा बस्ने विद्यार्थीले जोगबनी पुगेर सामान ल्याउने गरेको पाइन्छ । विराटनगरमा भन्दा जोगबनीमा हरेक सामानको मूल्य १५ प्रतिशतभन्दा कम सस्तो छ ।
“जसले गर्दा सामान्य आयस्रोत भएका अभिभावकलाई समेत छोराछोरी पढाउन विराटनगर धेरै सहज छ,” उनी भन्छन्, “सस्तो शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध भएकाले पनि यहाँका कलेजप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढेको देखिन्छ ।”
विराटनगरमा विज्ञानबाहेक व्यवस्थापन, शिक्षा, मानविकी, पत्रकारिता, स्टाप नर्स, होटल म्यानेजमेन्ट, कम्प्युटर इन्जिनियरिङ, पर्यटनलगायतका विषय पढाइ हुन्छन् । दुई वर्षअघिदेखि मेरिल्यान्डले बीई र बीबीए पनि सञ्चालन गरेको छ । यसबाहेक अनमी, सीएमए, एचए, ल्याब टेक्निसियन, फार्मेसी, ओभरसियरलगायतका विषय पनि अध्यापन हुँदै आएका छन् ।
विज्ञानपछि व्यवस्थापन विषय लिएर अध्ययन गर्ने विद्यार्थीको चाप बढी देखिएको छ । यहाँ निजी र सामुदायिक गरी २६ भन्दा बढी कलेज छन् । ती सबै कलेजमा विद्यार्थीको चाप अत्यधिक रहेको एप्लाइड कलेजका सञ्चालक मोहन सुवेदीले बताए । शैक्षिक क्षेत्रमा लगानी पनि थपिँदै गएको छ ।
पछिल्लो एक दशकयता विराटनगरले शैक्षिक क्षेत्रमा फड्को मारेको छ । राजधानीबाहिरको शैक्षिक केन्द्रका रूपमा विराटनगरलाई हेरिन थालिएको छ । विद्यालयदेखि क्याम्पसस्तरको परीक्षामा देशमै सर्वोत्कृष्ट नतिजा ल्याएकाले पनि विराटनगरको शैक्षिकस्तरले फड्को मारेको मान्न सकिन्छ ।
एसएलसीमा मात्रै होइन प्लस टुका परीक्षामा पनि देशभरमै उत्कृष्ट नतिजा ल्याएका छन् विराटनगरका कलेजले । जसबाट विराटनगरमा अध्ययन गर्ने विद्यार्थीको चाप बढ्दै गएको छ ।
चाहे कक्षागत परीक्षामा होस् चाहे मेडिकल, इन्जिनियरिङलगायतका इन्ट्रान्समा होस् विराटनगरका कलेजबाट उत्तीर्ण विद्यार्थी अग्रस्थानमा नाम निकाल्न सफल भएका छन् । यहाँका निजी विद्यालयमा समेत खासगरी सिरहा, सप्तरी, रौतहट, धनुषालगायतका विद्यार्थीको चाप छ । उनीहरू होस्टल र कोठामा बसेर पढ्ने गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij