
काठमाडाैं । नेपालमा कोरोनाको दोस्रो लहरसँगै दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन सक्ने चिन्ता आम उपभोक्ताहरुमा देखिन्छ ।
यस्तो चिन्ता एलपि ग्यासका उपभोक्ताहरुमा पनि रहेको पाइन्छ । यद्यपि उपभोक्ताहरुको चासोलाई मध्यनजर गर्दै ग्यास बिक्रेता महासंघ नेपालले ग्यास अभाव नहुने कुरा विज्ञप्ति मार्फत सार्वजनिक गरेर आम उपभोक्ताहरुलाई सूसुचित गराएको छ ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालबाट जारी प्रेस विज्ञप्तिमा आम उपभोक्ताहरु ग्यास अभाव हुने त्रासले डिपोहरुमा अत्याधिक लाइन लाग्ने गरेको तर ग्यासको अभाव नहुने भएकोले त्यसरी लाइन लाग्न आवश्यक नपर्ने कुरा उल्लेख छ ।
सेतोघर डट कमसँगको संक्षिप्त कुराकानीको क्रममा अध्यक्ष अर्यालले यस पटकको महामारीलाई पुग्ने प्रयाप्त ग्यास नेपाल आयल निगम, एलपि ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघ नेपालको समन्वयमा आपुर्ति गरी वितरण गरिने र बजारमा ग्यास अभाव नहुने स्थिति रहेकोमा विश्वस्त रहन र ढुक्क भई प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले ग्यास अत्यन्तै प्रज्वलनशिल पदार्थ भएको र यसको प्रयोग गर्दा सावधानी अपनाउनुपर्नेमा जाेड दिनुभयाे । साथै उहाँले उपभोक्ता भनेका कुनै पनि व्यवसायीको लागि भगवान सरह हुने हुँदा वर्तमान संक्रमणकाे घडीमा देशैभरका ग्यास व्यवसायीहरुबाट सावधानी अपनाएर डिलरमा आएको र भएको ग्यास सहज तवरले विक्री-वितरणको प्रबन्ध मिलाउने जानकारी गराउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij