
काठमाडौं । लामो समय देखि पर्यटन क्षेत्रमा संलग्न रही विभिन्न सामाजिक एवं व्यावसायिक गतिविधिमा संलग्न रहँदै आएका व्यक्ति हुन् खुम सुवेदी ।
उनी यसपटकको आसन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको लागि मैदान खटिँदै आएका छन् । साथै आफ्नो विजय सम्पूर्ण उद्योगी व्यवसायीको विजय हुने दावी समेत गर्छन् उनी ।
अन्जन श्रेष्ठको टीमबाट कार्यसमिति सदस्य पदको लागि उम्मेदवारी दिएका सुवेदी आफूले एफएनसिसिआई अन्तरगत कार्यसमितिमा रही मुलुकमा निजी क्षेत्रको वकालतको लागि निरन्तर पैरवी गर्ने दावी गर्छन् ।
‘जीवन्त जिम्मेवारी र जोशिलो निजी क्षेत्र’को नारा सहित चुनावमा होमिएका सुवेदीले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अन्जन श्रेष्ठ नेतृत्वको टीमबाट उम्मेदवारी दिएका छन् । साथै आफूहरुको टीम पूर्ण व्यावसायिक रहेको दावी समेत गर्छन् उनी ।
सेतोघर डट कमसँगको संक्षिप्त कुराकानीको क्रममा नेपालमा अहिले व्यावसायिक वातावरण निकै कठिन परिस्थितिमा रहेको बताउँदै मुलुकमा राम्रो, दिगो र बलियो व्यावसायिक वातावरण निर्माणको निम्ति निजी क्षेत्रका उद्योगी व्यवसायीहरु आपसी संगठित हुनुपर्ने र राज्यलाई समेत विश्वासमा लिन सक्नुपर्ने आवश्यकता उनले औंल्याए ।
धादिङ स्थायी घर भएका सुवेदी लामो समय पर्यटन व्यवसायमा संलग्न व्यक्ति हुन् । टे«किङ एजेन्सीस् एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष समेत रहेका सुवेदीले आफ्नो उम्मेदवारी सम्पूर्ण उद्योगी व्यवसायीको लागि भएको दावी गरेका छन् । युवा सोच र अनुभवीको अनुभवको आधारमा सही तवरले नेतृत्व गर्न सक्ने नेतृत्व अबको एफएनसिसिआईको आवश्यकता रहेको बताउँदै उनले आफू त्यसमा सक्षम रहेको दावी समेत गरे ।
को हुन् त सुवेदी ?
पर्यटन उद्यमी खुम सुवेदी टानका पूर्व अध्यक्ष हुन् । युनिक एड्भेन्चरका सञ्चालक समेत रहेका सुवेदीले टानमा त्यस्तो समयमा नेतृत्व गरे, जुन समय कोरोना सङ्कटको कारण अत्यन्तै समस्यामय थियो । विषम परिस्थितिका बावजुद उनी निरन्तर व्यावसायिक हकहित एवं सामाजिक गतिविधिको वकालत गरिरहे ।
उनले उद्योगी व्यवसायीहरुलाई ठूलो परिमाणमा सहुलियतपूर्ण कर्जाको आवश्यकता रहेको सम्बन्धमा विभिन्न सरकारी निकायहरुलाई झक्झक्याउने काम समेत गरे । व्यवसायीहरुलाई निरन्तर उत्प्रेरित गरिरहे । जसरी भएपनि अप्ठ्यारो समयमा समेत उनी निरन्तर सक्रिय रहिरहे । परिस्थिति सहज नरहेको कारण प्रयाप्त कामहरु गर्न नसकेपनि सुवेदी आनन्दले बस्न भने सकेनन् । कठिन परिस्थितिमा समस्यामा रहेका सदस्य व्यवसायीहरुलाई मल्हमपट्टी लगाउन सुवेदी निरन्तर क्रियाशिल रहे । लकडाउनको कारण आर्थिक गतिविधिहरु निष्क्रिय रहेको समयमा सुवेदी विभिन्न राहतमूलक गतिविधिहरु एवं स्वास्थ्य सेवा प्रवाहमा केन्द्रित रहे । महामारीको समयमा नेपाली नागरिकहरुमा सचेतना जागरणको लागि सुवेदीले विभिन्न गतिविधिहरु सञ्चालन गरे । विभिन्न वेबिनारहरु सञ्चालन गरेर विज्ञहरु सहित आफ्ना सदस्यहरुलाई निरन्तर हौसला प्रवाह गरिरहे । व्यावसायिक वर्ग मात्र नभई सबै मानिसहरु आर्थिक एवं भौतिक रुपमा कमजोर रहेको अवस्थामा पनि आफ्नो बलबुताले भ्याएसम्म मानसिक रुपमा भने कहिल्यै पनि कमजोर नभई आत्मबललाई निरन्तर उच्च बनाइराख्न सम्पूर्ण व्यवसायीहरुलाई उनले प्रेरित गरिरहे । यसको अलावा व्यवसायीका समस्यालाई लिएर नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय लगायतका निकायहरुलाई निरन्तर घच्घच्याइरहे ।
व्यावसायिक क्षेत्रमा संलग्न रहँदारहँदै समग्र उद्योगकै गुणात्मक विकासको लागि आवाज उठाउने सुवेदी आफ्ना विगतका अनुभवहरु अब नेपाल उद्योग वाणिज्य महासंघको ठूलो प्लेटफर्मबाट योगदान गर्न चाहन्छन् । आफू महासंघमा केही लिनको लागि नभई आफूसँग भएको ज्ञान र अनुभव कसैको लागि महत्वपूर्ण हुन सकोस् भन्ने मान्यताले जान लागेको बताउँछन् । साथै उनले सम्पूर्ण उद्योगी व्यवसायी सदस्यहरुलाई मतदानको माध्यमबाट आफूलाई विजयी बनाउनुहुन आग्रह समेत गर्छन् ।
यतिबेला मुलुक कठिन स्थितिमा रहेको, अर्थतन्त्र कमजोर बनेको, बैंकहरुले व्याजदर निरन्तर बढाइरहँदा बैंकको ब्याज र किस्ता तिर्न समस्या सृजना भएको लगायतका विविध समस्या समाधानको लागि निजी क्षेत्रको तर्फबाट काम गर्न सक्ने जोशिलो र अनुभवी नेतृत्व आवश्यक रहेको सुवेदीको धारणा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij