२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

भौतिक पूर्वाधार विकासलाइ प्राथमिकतामा राख्दै प्रदेश ५ को बजेट सार्वजनिक

भौतिक पूर्वाधार विकासलाइ प्राथमिकतामा राख्दै प्रदेश ५ को बजेट सार्वजनिक

बुटवल-प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट प्रदेश सभामा पेश गर्दै चालूतर्फ १२ अर्ब ५९ करोड २४ लाख र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ रहेको बताए । उनका अनुसार वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड बजेट छ।

सरकारले ल्याएको बजेटले कोरोना भाइरसका कारण उत्पन्न महामारीबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्ने प्रयास गरेको छ। साेहीबमाेजिम स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार थप गर्दै अस्पतालहरु स्तरोन्नति गर्ने, बेरोजगार बनेका युवालाई रोजगार दिने, उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्ने कृषिलाई व्यवसायिक बनाउँदै लैजाने लगायतमा कार्यक्रम बजेटमा समेटिएका छन् ।

सरकारले ल्याएको बजेटमा सबैभन्दा धेरै रकम भौतिक पूर्वाधार विकासमा रहेको छ। जसमा १५ अर्ब २ करोड रुपैयाँ बजेट छ । सरकारले चालु आर्थिक वर्षमा सञ्चालन गरेका मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमजस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ। मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सबै स्थानीय तहमा विस्तार गर्दै विशेष अनुदानतर्फ १ अर्ब रुपैयाँ रकम छ।

प्रदेशमा विश्वविद्यालय स्थापना गर्ने, सरुवारोग अस्पताल स्थापना गर्ने, विज्ञान विषय केन्द्रित पठनपाठनलाई बढावा दिनेजस्ता कार्यक्रम पनि समेटेको छ ।
कोभिड–१९ का कारण बेरोजगार बनेका युवालाई रोजगार दिने एवं हुन सक्ने खाद्य संकट व्यवस्थापनका लागि उत्पादनमुखी कार्यक्रम विस्तार गर्न भूमि व्यवस्था कृषि तथा सहकारीतर्फ ४ अर्ब ८६ करोड ३५ लाख बजेट छ।

प्रदेशस्तरका अस्पताललाई सुविधासम्पन्न बनाउने, जिल्लास्तरका अस्पतालको स्तरोन्नति गर्ने योजना पनि बजेटमा छन् । सरकारले १६ वटा सडक निर्माणको कामलाई निरन्तरता दिदै सडक पुल निर्माणतर्फ १ अर्ब ४३ करोड, एक घर-एक धारा निर्माणका लागि २ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

सामाजिक विकासका लागि ५ अर्ब ६७ करोड छ। कोभिड–१९ नियन्त्रण तथा भैपरी आउने खर्चका लागि १ अर्ब बजेट विनियोजन भएको छ। उद्योग, पर्यटन वन तथा वातावरण क्षेत्रका लागि २ अर्ब ३ करोड बजेट विनियोजन भएको छ। यसपटक प्रदेश सरकारले विदेश भ्रमण खर्च कटौती गरेको छ भने कार्यालय सामाग्री खरिदका लागि पनि खर्च कटौती गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij