काठमाडाैं । बैशाख मशान्तसम्ममा सरकारले ७ खर्ब ६१ अर्ब १ करोड राजस्व संकलन गरेको छ । यो लक्ष्यको ७५.२२ प्रतिशत प्रगति हो । यस अवधिमा सरकारको लक्ष्यको ७७.७३ प्रतिशत कर उठेको छ। सरकारले यो वर्ष १० खर्ब ११ अर्ब ७५ करोड राजस्व संकलनको लक्ष्य राखेको छ ।
गत वर्षको यसै अवधिमा सरकारले ५४ प्रतिशत मात्रै राजस्व उठाउन सफल भएको थियो। तर यस वर्ष भने सरकारको राजस्व संकलनमा सुधार आएको छ।
यस अवधिमा सरकारको खर्च भने निकै कम छ। हालसम्म ५५ प्रतिशत मात्रै बजेट खर्च गर्न सफल भएको सरकारले बैशाख महिनामा पनि करिब ८ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। जेठ १ गते सम्ममा सरकारले कुल ८ खर्ब २४ अर्ब रुपैयाँ बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षमा सरकारले कुल १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याएकोमा बजेटको अर्धवार्षिक समीक्षामा नै कुल बजेटको ९१ प्रतिशत मात्रै बजेट खर्च हुने अनुमान सरकारले प्रस्तुत गरिसकेको छ। यो भनेको कुल १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ हो।
अर्धवार्षिक समीक्षामा कुल खर्चमा चालुतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड –विनियोजित बजेटको ९६.४० प्रतिशत, पूँजीगत तर्फ २ खर्ब ८३ अर्ब ४ करोड–विनियोजित बजेटको ८०.२० प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ४६ अर्ब ४ करोड रुपैयाँ – कुल विनियोजित बजेटको ८५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ।
बैशाख अन्तिमसम्ममा सरकारले ६ खर्ब ३० अर्ब चालु खर्च, १ खर्ब २५ अर्ब ७७ करोड पूँजीगत र ६८ अर्ब ७२ करोड रुपैयाँ वित्तीय खर्च गरेको छ। गत आर्थिक वर्षको तुलनामा भन्दा यस वर्ष बजेट खर्च केही बढेको देखिन्छ।
यस अवधिमा पूँजीगत खर्च भने सबैभन्दा कम छ। बैशाखसम्ममा यस्तो खर्च लक्ष्यको ३५ प्रतिशत मात्रै छ। त्यस्तै वित्तीय खर्च पनि ३९ प्रतिशत छ भने चालु खर्च ६६ प्रतिशत रहेको छ।
बैशाख १ गतेसम्ममा सरकारले २९ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको थियो भने वित्तीय र चालु खर्च क्रमश ३३ प्रतिशत र ५५ प्रतिशत छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij